s

३८ मेडिकलमा बायोमेटि्रक सुरु

स्वास्थ्य व्यवसायी महासंघले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भन्दै एकतर्फी रुपमा बायोमेटि्रक प्रणाली लागू गरेको छ। नेपालमा सुरु गर्ने विषयमा जारी विवाद नसल्टिँदै महासंघले मातहतका ३८ मेडिकलमा बायोमेटि्रक प्रणाली जडान गरी सञ्चालन गरेको हो। यस विषयमा सरकारले निर्णय गर्न पनि बाँकी छ। मलेसिया सरकारको निर्णय भन्दै नेपालस्थित मलेसियन दूतावासले यहाँ बायोमेटि्रक लागू गर्ने तयारी गरे पनि विरोधका कारण रोकिएको थियो। बायोमेटि्रक लागू गर्ने कि नगर्ने?, गरे कसरी गर्ने? भन्नेमा सरकारले छलफल गरिरहेको बेला महासंघले एकतर्फी रुपमा लागू गरेको हो।

महासंघका अध्यक्ष प्रवीण तिवारीले मलेसिया सरकारले गत जनवरीमै लागू गर्ने भनेको र त्यहीबेला उपकरण पठाएकाले जडान गरेर सञ्चालनमा ल्याएको बताए। 'बायोमेटि्रकका लागि सूचीकृत सबै (३८ वटा) मेडिकलले आवश्यक सफ्टवेयर र उपकरण जडान गरिसकेका छन्,' उनले भने, 'हामीले अहिले यसको परीक्षणसमेत गरिरहेका छौं।' नेपाल सरकारले मलेसिया सरकारलाई ६ बुँदे पत्र पठाइसकेको र उताबाट जवाफ आउनासाथ औपचारिक रुपमा यो प्रणाली सुरु गर्ने उनले बताए।

मेडिकल रिपोर्टसम्बन्धी सफ्टवेयरका लागि मलेसियाको बेस्टिनेट डिएचटी आइएनएटी कम्पनी र नेपालको स्वास्थ्य व्यवसायी महासंघबीच सम्झौता भएको थियो। महासंघले आफ्ना ३८ सदस्य मेडिकललाई बायोमेटि्रक सञ्चालन गर्ने अनुमति दिएको छ। मलेसिया जाने कामदारलाई आर्थिक भार थपिने भन्दै महासंघमा आबद्ध डेढ सय व्यवसायीले सुरुदेखि नै यसको विरोध गर्दै आइरहेका छन्। बेस्टिनेटलाई एजेन्ट बनाएर दूतावासले महासंघलाई पैसा उठाउन लगाएको भन्दै वैदेशिक रोजगार व्यवसायी र एजेन्ट एसोसिएसनले पनि यसको विरोध गरेका छन्।

दूतावासले जनवरी २ देखि कामदारको मेडिकल रिपोर्ट सफ्टवेयरमार्फत अनलाइनमा राख्ने भन्दै १५ सय रुपैयाँ लिने निर्णय गरी सरकारलाई पत्र पठाएको थियो। दूतावासले भिसा प्रक्रियाको शुल्क बढाएको र फेरि मेडिकल रिपोर्टको नाममा शुल्क बढाएको भन्दै बायोमेटि्रकको विरोध हुँदै आइरहेको छ। दूतावासले बेस्टिनेट डिएचटी आइएनएटी कम्पनीमार्फत फरेन वर्कस सेन्टरलाइज्ड म्यानेजमेन्ट सिस्टम सफ्टवेयर लागू गर्ने लागेको हो। यो सफ्टवेयर प्रयोग गर्न कम्पनीले नेपालका मेडिकललाई अनिवार्य आठ लाख रुपैयाँको उपकरण किन्नुपर्ने प्रावधान राखेको थियो। आठ लाखमा एउटा कम्प्युटर, वेब क्यामेरा, बायोमेटि्रक स्क्यानर, प्रिन्टर, नेटवर्क स्विच, एन्टी भाइरस मात्र आउँछ। बायोमेटि्रक उपकरण किनिसकेका मेडिकल व्यवसायीले आफ्नो आठ लाख रुपैयाँ लगानी भइसकेको भन्दै सञ्चालन गरेका हुन्।

समानान्तर पोलिक्लिनिक चक्रपथका सञ्चालक सिन्धु आचार्यले बायोमेटि्रकका लागि ८ लाख लगानी भइसकेकाले उपकरण र सफ्टवेयर जडान गरी सञ्चालनमा ल्याएको उनले बताए। 'अहिले परीक्षणको कामदारको स्वास्थ्य जाँच गरेर रिपोर्टसमेत निकालेका छौं। तर शुल्क बढाइएको छैन,' उनले भने, 'यो लागू भएन भने व्यवसायीको आठ लाख रुपैयाँ डुब्ने खतरा हुन्छ।' निर्णय हुनुअघि नै किन सुरु गरेको त भन्ने प्रश्नको जवाफमा उनले थपे, 'व्यवसाय हो केही जोखिम त लिनुपर्छ।'

बायोमेटि्रकको विरोध गरिरहेको स्वास्थ्य संघर्ष समितिका प्रवक्ता सीताराम रेग्मीले 'नेपाल सरकार र कानुनभन्दा माथि गएर निर्णय नहँुदै बायोमेटि्रक सञ्चालन गरी कानुनको धज्जी उडाएको' बताए। 'सिन्डिकेट शैलीमा व्यवसायी र कामदारलाई नै आर्थिक भार पर्ने गरी काम भइरहेको छ, यसमा सरकारले तुरुन्त अनुगमन गरेर रोक्नुपर्छ,' उनले भने।

बेस्टिनेट एउटा व्यावसायिक आइटी कम्पनी भएकोले यसले स्वास्थ्य संस्था निरीक्षण र सूचीकरणको काम गर्ने हैसियत र अधिकार नराख्ने व्यवसायीको तर्क छ। नेपालमा बायोमेटि्रक मेडिकल गरेर मलेसिया गएका कामदारको तीन महिनाभित्र पुनः मेडिकल हुने गर्छ। 'यसले कामदारलाई फाइदा गर्दैन,' रेग्मीले भने।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेटि्रक लागू गर्ने कि नगर्ने भन्नेमा अहिले कुनै निर्णय नभएको बताए। कसैले एकतर्फी रुपमा लागू गरेको भए अनुगमन गरेर कारबाही गर्ने उनले बताए। 'परराष्ट्रमार्फत मलेसिया सरकारलाई केही सर्तहरु पठाइएको छ। अहिले त्यसको जवाफ आएको छैन। कसैले बायोमेटि्रक सञ्चालन गरेको छ भने त्यसलाई कारबाही हुन्छ,' उनले भने।

बायोमेटि्रक सञ्चालन गर्न उपकरण र सफ्टवयर जडान गर्नेमा सनसाइन मेडिकल सेन्टर प्रालि–थापागाउँ, न्यु वर्ल्डभ्यु मेडिकल सेन्टर प्रालि–महाराजगञ्ज, अनमोल मेडिकल सेन्टर प्रालि–सिनामंगल, एभरेस्ट हेल्थ होम सर्भिसेज प्रालि–मध्यबानेश्वर, मञ्जुश्री मेडिकल सेन्टर प्रालि–गैह्रीधारा, सहारा हेल्थ सेन्टर प्रालि–नयाँ बानेश्वर, श्रृजना मेडिकल सेन्टर एन्ड पोलिक्लिनिक प्रालि–बिजुलीबजार, प्रशान्ति हेल्थ केयर सेन्टर प्रालि–जावलाखेल, सुपर हेल्थ केयर एन्ड पोलिक्लिनिक प्रालि–सुकेधारा, कुलेश्वर पोलिक्लिनिक प्रालि–कुलेश्वर, हिमालय डाइग्नोस्टिक प्रालि, पब्लिक हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि–सामाखुसी, कसमस मेडिकल सेन्टर प्रालि, रातोपुल, अ क्वालिटी हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि–सिनामंगल, चेतना स्वास्थ्य सेवा केन्द्र, प्रालि–कोटेश्वर, सुधा पोलिक्लिनिक प्रालि–तीनकुने रहेका छन्।

त्यसैगरी, लालुपाते मेडिकल सेन्टर एन्ड पोलिक्लिनिक प्रालि–पिंगलास्थान, मेरिडियन हेल्थ केयर सेन्टर प्रालि–महाराजगन्ज, शिखर पब्लिक पोलिक्लिनिक प्रालि–नयाँ बसपार्क, क्यापिटल मेडिकल सेन्टर प्रालि–सामाखुसी, लोटस पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि– महाराजगन्ज, उपत्यका प्याथोलोजी एन्ड क्लिनिक प्रालि–कुपण्डोल, मार्कोपोलो मेडिकल सेन्टर प्रालि–चप्पल कारखाना, सुब्बा प्याथोलोजी एन्ड क्लिनिक प्रालि–कुपण्डोल, टाइटान हेल्थ केयर सेन्टर प्रालि–बसुन्धरा, अमिताभ बुद्ध मेडिकल सेन्टर प्रालि–महाराजगन्ज, डाइनेस्टी सेन्टर प्रालि–चाबहिल, वेलफेयर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि–रातोपुलले पनि बायोमेटि्रक सञ्चालन गरेका छन्।

त्यस्तै साउथ एसियन हेल्थ केयर सेन्टर प्रालि–धुम्बाराही, सुनापाथी पोलिक्लिनिक एन्ड केयर सेन्टर प्रालि–ग्वार्को, स्वर्णिम पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि–सुन्धारा, समानान्तर पोलिक्लिनिक सेन्टर प्रालि–महाराजगन्ज, सनराइज पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि महाराजगन्ज, फ्युजन पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि–बिजुली बजार, भ्याली पोलिक्लिनिक इन्टरनेसनल हेल्थ सेन्टर प्रालि–सामाखुसी, काष्ठमण्डप हेल्थकेयर सेन्टर प्रालि–बत्तीसपुतलीले उपकरण र सफ्टवयर जडान गरी बायोमेटि्रक सञ्चालन गरेको छ।

Published on: 28 July 2014 | Nagarik

Back to list

;