s

४२ म्यानपावर कम्पनी कारबाहीमा

वैदेशिक रोजगार विभागले एक साताभित्र ४२ वटा म्यानपावर कम्पनीलाई कारबाही गरी सर्वसाधारणलाई करिब साढे २५ लाख क्षतिपूर्ति दिलाएको छ । कम्पनी नवीकरण नगर्ने ८ म्यानपावर कम्पनी भने खारेजीमा परेका छन् ।

विभागले सञ्चालन गरेको 'अपरेसन डे पोगो' अन्तर्गत फागुन १ देखि १८ गतेसम्म ती म्यानपावर कम्पनी कारबाहीमा परेका हुन् । त्यसमध्ये २८ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । विभागले १७ जनालाई २५ लाख ४८ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति दिलाएको विभागको प्रगति प्रतिवेदनमा उल्लेख छ । कम्पनी दर्ता नगरेका कारण ८ म्यानपावर कम्पनी खारेजी परेको विभागका महानिर्देशक कृष्णहरि पुस्करले बताए । 'दर्ता नवीकरण नगरेकाले ८ वटा म्यानपावर कम्पनी खारेज गरेका हौं,' उनले भने, 'नवीकरण नगर्नुको पछाडि अन्य कारण हुन सक्छन् ।'

निलम्बनमा परेका केही म्यानपावर कम्पनीले शुक्रबार कारोबार फुकुवा गरेका छन् । कानुनअनुसार प्रक्रिया पुर्‍याएर उनीहरूको कारोबार फुकुवा गरिएको विभागका प्रवक्ता बद्री कार्कीले बताए । कार्कीका अनुसार मापदण्ड नपुगेको र कानुन मिचेर काम गरेको पाइएकाले ती म्यानपावर कम्पनी निलम्बनमा परेका हुन् । विभागले अपराधको प्रकृति अनुसार ३ लाख रुपैयाँसम्म जरिवाना र निलम्बनसम्मको कारबाही गरेको महानिर्देशक पुष्करको भनाइ छ ।

त्यस्तै विभागले यो अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रशिक्षण दिने १२ वटा ट्रेनिङ सेन्टरलाई कारबाही गरेको छ । दाबी गरेअनुसार प्रशिक्षण लिनेको संख्या फेला नपरेपछि र प्रशिक्षण लिएको नक्कली प्रमाणपत्र वितरण गरेपछि ती ट्रेनिङ सेन्टर पनि कारबाहीमा परेका हुन् । विभागले यो अवधिमा ४५ वटा सम्भावित अपराध प्रमाणीकरण गरी त्यसलाई रोक्ने काम

गरेको छ ।

विभागमा पेस भएका कागजातको आधिकारिकता पुष्टि गर्ने कामलाई सम्भावित अपराध प्रमाणीकरणको नाम दिइएको छ । कतिपय म्यानपावर कम्पनीले इमेलबाट नक्कली 'कन्ट्रयाक्ट डकुेमन्ट' लगायतका कागजात आएको भनी झुक्याएर कामदा ठग्दै आएका छन् । विभागले सफ्टवेयरमार्फत इमेलको आधिकारिकता जाँच्छ । 'इमेल बागबजार वा पुतली सडकबाट आएको हो कि विदेशमा रहेको सम्बन्धित कम्पनी, दूतावास, अध्यागन वा श्रम डेस्कबाट आएको हो भन्ने पुष्टि गछौं,' महानिर्देशक पुष्करले भने ।

उनका अनुसार विभागले सम्बन्धित देशको अध्यागमन, रोजगारदाता कम्पनी, नेपाली दूतावास, लेवर डेस्कलगायत निकाय र कम्पनीलाई उनीहरूले जारी गरेको भनिएको कागजातको प्रतिलिपि इमेल गरी त्यसको आधिकारिकता माग गर्छ । 'कतिपय कम्पनीका त इन्टरएक्टिव वेबसाइट पनि छन्,' उनले भने, 'त्यसमार्फत पनि हामी यहाँका म्यानपावर कम्पनीले पेस गरेका कागजात सक्कली हुन् कि होइनन् भनेर पुष्टि गछौर्ं ।'   

यो अवधिमा विदेशमा रहेका १ सय २५ जनालाई उद्धार तथा इमर्जेन्सी सहायता प्रदान गरेको, १ सय ७५ जनाको राहदानी फिर्ता गराएको र म्यानपावर कम्पनी तथा एजेन्टविरुद्ध ८ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गराएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा विभागमा १ सय १४ वटा उजुरी परेका थिए । त्यसमध्ये ७६ वटा संस्थागत र ३८ वटा व्यक्तिगत उजुरी थिए ।

यो अवधिमा वैदेशिक रोजगारीमा जान करिब ७४ हजार ८ सय मानिसले पूर्वस्वीकृति, करिब २४ हजार ८ सय जनाले अन्तिम स्वीकृति लिएका थिए । विभागले करिब ११ हजार कामदार वैदेशिक रोजगारीका लागि रिइन्ट्री गरेको थियो भने करिब ३ हजार १ सय जना वैधानिकीकरण गरेको थियो ।

Published on: 9 March 2014 | Kantipur

Back to list

;