s

साउदी जेलमा नेपालीको संख्या घट्यो

महशे श्रेष्ठ
साउदी अरब — साउदी अरबमा अवैध रुपमा काम गर्ने क्रममा र विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरेर जेलमा राखिएका नेपालीको संख्यामा आममाफीको पछिल्लो घोषणासँगै ठूलो मात्रामा कमी आएको छ। साउदी सरकारले जुलाई ३ सम्मका लागि घोषणा गरेको आममाफीको अवधिलाई नोभम्वर ३ सम्म बढाएपछि र अवैध कामदारका रुपमा पक्राउ परेका नेपालीहरुलाई नेपाल फर्काएपछि साउदी जेलमा रहेका को संख्यामा कमी आएको हो।

हजारौंको संख्यामा साउदी जेलमा रहेका नेपालीहरुमध्ये हालसम्म ८९ प्रतिशतलाई मुक्त गरिएको र उनीहरुलाई नेपाल फर्काइएको छ। नेपाली राजदूतावासका अनुसार आम माफीको घोषणा अघिसम्म साउदी अरबका जेलमा एक हजार दुई सय ४७ जना नेपालीहरु रहेका थिए। राजदूत उदयराज पाण्डेका अनुसार अहिले एक सय ३९ जना मात्रै नेपालीहरु साउदी अरबको जेलमा छन्।

जुलाईको पहिलो सातासम्म साउदी अरबका जेलहरु अवैध आप्रवासीहरुले भरिएका थिए। गत जुन महिनाको तेस्रो साता दमामको सेन्टर जेल (१९१) बाट मुक्त भएर स्वदेश फर्केका निर्मल ब्लोनका अनुसार त्यहाँ मात्रै ८ सय भन्दा बढी नेपालीहरुलाई गुन्द्रुक खाँदेसरी खाँदेर राखिएको थियो। दुई सय क्षमताको सो जेलमा ८ सय भन्दा बढी मानिसलाई कोचेर राख्दा कतिपय नेपालीहरु त्यतिकै पनि विमारी परी बेहोस भएर ढल्थे। साउदीको उग्र गर्मीमा पनि एसीबिहीन कोठामा उनीहरुलाई राखिने गरिएको थियो ।

जेलमा बस्नेहरुलाई विहान एउटा रोटी र दिउसो १२ बजे १०–१२ जनाका लागि एक पोका भात एक पटक मात्र दिने गरेको त्यो भात पनि लुछाचुढी गरेर खानु पर्थ्यो । 'धेरै साथीहरु भोकभोकै भयौं। नबस्ने ठाउँ नसुत्ने ठाउँ, नट्वाइलेट जान सकिने अवस्था। सीमित ट्वाइलेटमा सयौंको लाइन लाग्दा के हुन्छ हालत आफै विचार गर्नु न!" ब्लोनले भने । ब्लोन दमामको १९१ जेलमा १८ दिन बसेर नेपाल फर्केका हुन्।

स्वदेश फर्कने क्रममा उनले त्यहाँको प्रहरीलाई २५ सय रियाल घुस समेत खुवाउनु परेको थियो। अवैध कामदार भएका ब्लोनलाई साउदी प्रहरीले जुनको पहिलो साता पक्राऊ गरेर हिरासतमा १८ दिन राखेर नेपाल जाने अनुमति दिएको थियो। काठमाडौं निवासी ब्लोन चार वर्षअघि हेभि ड्राईभरको जागिर खान साउदी अरब आएका थिए। स्पोन्सर कम्पनीले सम्झौता अनुसार सेवा र सुविधा नदिएपछि कम्पनी छाडेर अवैधरुपमा काम गर्दै आएका उनी सोही क्रममा पक्राउ परेका थिए। जेलमा रहँदा उनले खिचेका तस्विर र भिडियोले पनि साउदी जेलको अवस्था पुष्टि गरेको छ। उक्त तस्विर र भिडियो उनले जुत्तामा लुकाएर छिराएको मोबाइलबाट खिचेका थिए।

नेपाली राजदूतावासले भने आममाफी घोषणाको अघिसम्म अत्यन्तै नाजुक अवस्था भएको भए पनि अहिले सुधार आएको जानकारी दिएको छ। राजदूत पाण्डेका अनुसार आजसम्ममा साउदी अरबका जेलमा दुई महिलासहित जम्माजम्मी एक सय ३९ जना मात्रै नेपालीहरु छन्।

आममाफीको घोषणाअघि जेल परेका नेपालीहरुको संख्या बढी हुनुमा भने अवैध कामदारहरुले स्वदेश फर्कनका लागि प्रहरी सामु आत्मसमर्पण गरेर जेल बसे पश्चात् मात्रै जान पाउने भएकाले त्यस्तो अवस्था भएको हो । साउदी सरकारले अवैध कामदारहरुलाई पक्राउ गरेर जेलमा राखेपश्चात् आप्रवासीहरुलाई स्वदेश फर्काउनका लागि निःशुल्क हवाई टिकटको समेत व्यवस्था गर्ने गरेको छ। तर कतिपयले राजदूतावासको जमानीमा बाहिर निस्केर आफ्नै खर्चमा स्वदेश फर्कने गरेका पनि छन्। राजदूतावासले जेलमा परेका नेपालीहरुको मुद्दालाई सहजिकरण गर्ने र सफाईको लागि पहल गर्नुका साथै उद्धारका लागि समेत कार्य गर्दै आएको राजदूत पाण्डे बताउछन्। जेलमा परेका धेरै जसो नेपालीहरु अवैध कामदार भएका, मद्यपान किनबेच र सेवन एवं कुटपिटका मुद्दामा फसेकाहरु छन्। केही भने ज्यान मुद्दाका दोषी छन्।

Published 18 August 2013. Nagarik.

Back to list

;