s

५ हजार नेपाली जापानमा शरण खोज्दै

मुलुक न संकटकालमा छ, न आन्तरिक द्वन्द्व वा चेपुवाको त्यस्तोबिघ्न समस्या । तैपनि लाखौं तिरेर जापान पुगी शरणार्थी बन्न आवेदन दिने नेपालीहरू बढ्दै छन् । जापानी सञ्चार माध्यमहरूले जनाएअनुसार सन् २०१४ मात्रै १ हजार २ सय ९३ जना नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए । सन् २००७ देखि नेपालीहरूले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो । हालसम्म ५ हजार नेपालीले आवेदन दिएकामा केहीले शरणार्थी हैसियत पाइसकेका छन् । 

यस्तो प्रवृत्तिका कारण जापानमा नेपालीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन लागेको बारे टोकियोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपले नै जानकारी गराएको छ । 

जापानमा शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन डेढ वर्ष लाग्छ । आवेदनपछि सुरुको महिना छ महिना लुकेर, अनि पछि पूरा समय काम गर्न पाइन्छ । त्यही कारण कतिपय नेपाली दलालले जापानमा आएका नेपालीहरूलाई आवेदन गर्न उक्साउने गर्छन् । 

'शरणार्थी आवदेन दिँदैमा त्यो हैसियत पाइन्छ भन्ने छैन, तर पनि नेपालीहरू त्यही बाटो रोजेर त्यहाँ बस्दा मुलुकको शिर नै निहुर्‍याउने काम भएको छ,' परराष्ट्रका एक अधिकारीले भने । लाखौं कमाउने भन्दै जापानको सपना देखाएर त्यहाँ पुर्‍याउने कन्सल्टेन्सीले समेत शरणार्थी आवदेन दिन सुझाउनेसमेत खुलासा भएको छ । जापान सरकारले पछिल्लो समय यसबारे चासो देखाएको छ । नेपाली दूतावासले यस सम्बन्धमा सूचना नै जारी गरेर नेपालीलाई सचेतसमेत गराइसकेको छ । 


दूतावासको वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, 'जापानमा पढ्न र कमाउन बस्नु एकदम फरक कुरा हो । बिनास्वीकृति तोकिएको समयभन्दा बढी काम गरेको पाइएमा जरिवानाको साथै देश निकालासमेत हुन सक्छ ।

त्यसकारण जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरूले निर्वाध रूपमा पढ्न र बस्ने खर्च जुटाउन आवश्यक छ । मन लगाएर अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीको लागि मात्र जापानले स्वागत गर्छ । वर्क परमिटमा आउनेलाई पनि कामको सुनिश्चितता गर्नसमेत हामी आग्रह गर्दछौं ।' 

कतिपयले काममा लैजाने र अलपत्र पार्ने सूचना जापान सरकारले पाएको, तर नेपालीले डराएर व्यवसायीविरुद्ध उजुरी नगर्दा कारबाही गर्न गाह्रो भएको पनि एक अधिकारीले बताए । जापानमा रेस्टुरेन्ट वा अन्य व्यवसाय सञ्चालन गर्ने र नेपालीलाई वर्क परमिटमा लैजाने प्रवृत्ति बढेकोमा जापानीहरू चिन्तित भएको एक अधिकारीले बताए ।

परराष्ट्र अधिकारीका अनुसार यो समस्यामाथि शीघ्र हुने भनिएको नेपाल-जापान परराष्ट्र सचिवस्तरीय बैठकमा समेत छलफल गरिने भएको छ । 

विभिन्न भिसामा जापान प्रवेश गरेका नेपालीलाई शरणार्थी भिसा निम्ति आवेदन दिन लगाउने नेपाली दलाललाई अध्यागमन विभागले पक्राउ गरेको समाचार जापानबाट प्रकाशित हुने योमियुरी पत्रिकाले गत साता छापेको थियो । समाचारका अनुसार विद्यार्थी तथा पारिवारिक भिसामा जानेलाई गैरकानुनी रूपमा आवेदन दिन लगाएको आरोपमा नेपाली पक्राउ गरिएको हो । अभियुक्त नेपालीले करिब सय जना नेपालीलाई शरणार्थी भिसानिम्ति आवेदन दिन लगाएको दाबी गरिएको छ । ३० वर्षीय नेपाली युवाको नामचाहिँ सार्वजनिक गरिएको छैन । 

शरणार्थी भिसा भएकाहरूले जापानमा वैधानिक रूपमै काम गर्न पाउने व्यवस्था छ । सन् २०१४ मा मात्रै करिब ५ हजार विदेशीले जापानमा शरणार्थी भिसाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी नेपाली रहेको अध्यागमन विभागले जनाएको छ । अघिल्ला वर्षको तुलनामा यो पाँच गुणाले बढेको समेत जनाइएको छ । जापानस्थित नेपाली दूतावासले जापानमा ४० हजारभन्दा बढी नेपाली रहेकोमा तीमध्ये ३५ प्रतिशतले शरणार्थी हुन आवेदन गरेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको एक अधिकारीले बताए । 

Published on: 12 February 2015  |  Kantipur

 

Back to list

;