s

६ वर्षदेखि कोमामा शान्ति,उपचार हुने भएमात्र स्वदेश आउने

होम कार्की

कुवेतमा ६ वर्षदेखि कोमामा रहेकी नेपाली युवती सुकौरा-२ मकवानपुरकी शान्तिमाया दोङलाई उपचार गर्दै आएको अस्पताल प्रशासनले नेपाल सरकारबाट उपचार ग्यारेन्टी' नभएसम्म स्वदेश नपठाउने भएको छ । फर्वानिया अस्पतालले कुवेतस्थित नेपाली दूतावाससँग उनलाई लैजाने भए सरकारबाट उपचार गरिदिने ग्यारेन्टीको पत्र माग गरेको कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेले कान्तिपुरलाई बताए ।

यसबारे परराष्ट्र र श्रम मन्त्रालयलाई जानकारी दिए पनि कुनै प्रतिक्रिया आएको छैन । अस्पतालले दोङसँगै एक जना मेडिकल कर्मचारी काठमाडौं पठाएर सरकारको जिम्मामा छोडेर आउने जानकारी दिएको छ । दोङ कुवेतमा घरेलु काम गर्न दिल्ली हुदैँ गएकी थिइन् । त्यहाँ घर मालिकको यातना सहन नसकेर घरको छतबाट हाम फालेकी थिइन् । 'फर्वानिया अस्पतालमा मार्च २२, २००६ देखि उपचार गरिरहेको छ । अवस्था अति दहनीय छ । घाँटी र पेटमा प्वाल पारी जुस र झोलिलो पदार्थ वाइपासमार्फत सम्बन्धित अंगमा पुर्‍याई बचाइरहेको छ,' शान्तिमायालाई अस्पतालमा भेट्दै आइरहेका डुमारवाना-बाराका केदारनाथ खरेलले भने, 'भर्ना भएदेखि उनी बिहोस छिन् ।'

अस्पतालले उनलाई अहिलेसम्म बचाउन सफल भएकाले नेपाल लगिएपछि पनि शान्तिमायाको जीवनको विषयमा चिन्ता जनाएको दूतावासले जनाएको छ ।

Publised on: 20 June 2011 |  Kantipur

Back to list

;