s

६ राष्ट्रमा घरेलु कामदार पठाउन रोक

सरकारले नेपाली महिला घरेलु कामदार सबैभन्दा बढी समस्यामा रहेको कुवेतलाई छाडेर मलेसियासहित पाँच खाडीराष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाएको छ। श्रम तथा रोजगार मन्त्रालयले 'अर्को नीतिगत निर्णय नभएसम्म' भन्दै मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन र साउदी अरबमा महिला तथा पुरुष दुई किसिमका घरेलु कामदार पठाउन रोक लगाएको हो।

दलालहरूले नेपाली महिला कामदारलाई अवैध रूपमा साउदी अरब र इराक पुर्‍याउन 'ट्रान्जिट' बनाइरहेको कुवेत भने तत्काललाई सरकारी प्रतिबन्धमा परेको छैन। नेपालीहरू घरेलु कामदारका रूपमा जाँदै नजाने मलेसियामा भने रोक लगाइएको छ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भदौ ११ गते गरेको उक्त निर्णय कार्यान्वयमा ल्याउन परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका नेपाली नियोगमा पत्राचार भइसकेको स्रोतले बतायो। 'घरेलु कामदारका रूपमा जाने व्यक्तिका कागजात सम्बन्धित नियोगबाट प्रमाणीकरण (एटेस्टेसन) हुँदै आएको बुझिन आएको छ। घरेलु कामदार पठाउने व्यवस्थासम्बन्धी नीतिगत निर्णय नभएसम्म भिसा र कागजात प्रमाणीकरण नगरिदिन अनुरोध गरिन्छ,' श्रमले भदौ १३ गते परराष्ट्रमार्फत सम्बन्धित नियोगलाई पठाएको पत्रमा उल्लेख छ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन घरेलु कामदार पठाउन रोक लगाइएको बताए। 'यसलाई कसरी संस्थागत रूपमा पठाउने भनेर अध्ययन गर्न कार्यदल बनेको छ,' उनले नागरिकसँग भने, 'कार्यदलको प्रतिवेदनका आधारमा नीति बन्छ र सोहीअनुसार कामदार पठाइनेछ।'

श्रमले परराष्ट्रमार्फत सम्बन्धित गन्तव्य मुलुकका सरकारसमक्ष पनि नेपाली नागरिकको नाममा घरेलु कामदारको भिसा जारी नगरिदिन आग्रह गरेको छ। श्रमले अनुरोध गरेअनुसार परराष्ट्रले मलेसिया, कतार, युएई, ओमान, बहराइन र साउदी अरबस्थित नेपाली दूतावास र त्यहाँको सरकारलाई पत्राचार गरी घरेलु कामदारका रूपमा कागजात प्रमाणीकरण र भिसा जारी नगर्न भनेको स्रोतले बतायो।

सरकारले द्वन्द्व चर्किएपछि इराकमा कामदार जान प्रतिबन्ध लगाएको थियो। साउदी अरबमा समेत घरेलु कामदारको अवस्था दयनीय हुन थालेपछि केही वर्षयता त्यहाँ जान रोक छ। दलालहरूले भने वैधानिक रूपमा खुला रहेको कुवेत लग्ने भन्दै नेपाली महिलालाई इराक र साउदी अरब पुर्‍याउने गरेका छन्। कुवेतमै कार्यरत घरेलु महिला कामदारको अवस्था पनि नाजुक छ। कुवेतस्थित नेपाली दूतावासमा रहेको सेल्टरमा २ सय ५० भन्दा बढी महिला छन्। ती सबै घरेलु कामदारका रूपमा त्यहाँ छिरेका र मालिकको यातना सहन नसकी भागेर दूतावासको शरणमा पुगेका हुन्।

नेकपा एमाले नेता माधवकुमार नेपाल, नेपाली कांग्रेस नेत्री सुजाता कोइराला, एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनलगायतले कुवेत पुग्दा दूतावासभित्र सेल्टरमा रहेका पीडित महिलासँग भेटघाट गरेका थिए। उनीहरूको दुःख सुनेर त्यहाँ पुग्ने नेता नरूने कोही भएनन्। केही दिनअघि मात्र कांग्रेस उपाध्यक्ष रामचन्द्र पौडेलले घरेलु कामदार पठाउने कार्य रोक्न संसदमै आवाज उठाउने आश्वासन दिएका थिए।

कुवेतस्थित नेपाली दूतावासले वर्तमान अवस्थामा घरेलु कामदार पठाउन नहुने भन्दै बारम्बार आग्रह गर्दा पनि श्रम मन्त्रालयले बेवास्ता गर्दै आएको छ। दूतावासले धेरैपटक पत्राचार गरेपछि श्रमले गत वैशाख ५ गते घरेलु कामदारको कागजात तथा भिसा प्रमाणीकरण बन्द गर्न भनेको थियो। श्रमको यो निर्णय लामो समय टिक्न सकेन। श्रमले असार तेस्रो साता फेरि अर्को पत्र पठाएर जेठ ३१ सम्म निस्केको भिसा प्रमाणीकरण गर्न अनुमति दियो।

श्रमको आदेशपछि दूतावासले 'स्पोन्सर' नफेरेकाको मात्र कागजात प्रमाणीकरण गर्न सुरु गरेको थियो। त्यसपछि श्रमले साउनमा अर्को पत्र पठाउँदै स्पोन्सर फेरेकाको पनि जेठ ३१ सम्म निस्केको भिसा भदौ मसान्तसम्म प्रमाणीकरण गर्न निर्देशन दियो। तर, कुवेतमा पठाइने घरेलु कामदारको उद्धार गर्नसक्ने अवस्था नरहेको भन्दै नयाँ भिसा प्रमाणीकरण गर्न दूतावासले रोकेपछि श्रमले कुवेतलाई छाडेर अन्य देशमा मात्र घरेलु कामदार पठाउन रोक लगाएको छ। यस सन्दर्भमा दूतावासले मात्र होइन, कुवेतमा रहेका नेपालीसँग सम्बन्धित ४० वटा संस्थाले समेत 'घरेलु कामदार पठाउन बन्द गर' भन्दै सरकारलाई ज्ञापनपत्र बुझाइसकेका छन्।

'कुवेत आउने घरेलु कामदारलाई यहाँको कुनै कानुनले छुँदैन। घरेलु महिला कामदारको अवस्था यति नाजुक छ, कल्पनासम्म गर्न सकिँदैन। दुई वर्षको करार सकिएपछि पनि उनीहरूलाई फर्कन दिइन्न। यातना सहनै नसकेपछि भाग्न सफल भएकाहरू दूतावास आइपुग्छन्,' कुवेतस्थित नेपाली दूतावास स्रोतले त्यहाँ रहेका नेपाली घरेलु कामदारको अवस्थाबारे नागरिकसँग भन्यो, 'कति बलात्कृत भएका छन्, कति बिना बाबुको बच्चा च्यापेर आउने गर्छन्, कति पिटाइ खाएर शरीरभरी निलडाम बोकेर आउँछन्। कसैले मानसिक सन्तुलन गुमाएका छन्। दुःख पाएका नेपालीको उद्धार गर्न उनीहरू बसेको घरमा हामी जान सक्ने अवस्था छैन।'

कुवेतभित्रै काम गर्नेले त दुःख पाएकै छन्, अझ दलालले नेपाली महिला कामदारलाई साउदी अरब र द्वन्द्वग्रस्त राष्ट्र इराक पठाउन कुवेतलाई ट्रान्जिटका रूपमा उपयोग गरेपछि नेपाली महिलाको दुःख अझ बढेको छ। द्वन्द्व बढेपछि केही साताअघि इराकमा रहेका नेपालीको उद्धारमा सरकारको विशेष प्रतिनिधिका रूपमा खटिएका परराष्ट्रका सहसचिव अर्जुनकान्त मैनालीले नेपाली महिला एकपटकमा ८ देखि १० हजार अमेरिकी डलरसम्ममा बेचिने गरेको तथ्य बाहिर ल्याएका थिए। इराकमा दुई देखि तीन हजार नेपाली महिला रहेको अनुमान छ।

मैनालीले इराकको स्थलगत भ्रमण गरेपछि नेपाली महिला त्यहाँ पटकपटक बेचिने गरेको तथ्य बाहिर आएको थियो। यसरी बेचिएका महिला साहुले चाहेमा मात्र स्वदेश फर्कन सक्ने अवस्था छ। साउदी अरबमा पनि यसरी नै नेपाली महिला बेचिने गरेका छन्। 'कुवेत भनेर आएकाहरू साउदी पुगेर अलपत्र पर्ने गरेका छन्,' स्रोतले भन्यो, 'हामीले कसरी उद्धार गर्ने, कसलाई समात्ने?'

वैदेशिक रोजगारमा गएकामध्ये सबैभन्दा बढी नेपाली महिला कामदार कुवेतमा कार्यरत छन्। प्रायः सबै घरेलु कामदारका रूपमा गएका हुन्। कुवेतमा ४० देखि ५० हजार हाराहारी नेपाली महिला रहेको अनुमान छ। 'मासिक कम्तीमा एक हजार पाँच सयसम्म भिसा प्रमाणीकरण गर्न आउँछन्। यहाँ आउने कामदारको सुरक्षाको उचित व्यवस्था गरेर मात्रै घरेलु कामदार पठाउनुपर्छ,' दूतावास स्रोतले भन्यो।

Published on: 2 September 2014 | Nagarik

Back to list

;