s

विदेशबाट भिसा आए पनि काम गर्न जान छाडे

नवराज ढकाल
वैदेशिक रोजगारीमा असर 
काठमाडौं: तराई आन्दोलन र नाकाबन्दीका कारण राजधानीसम्म आउन असुरक्षा भएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाले धमाधम उड्ने योजना स्थगित गर्न थालेका छन्। 
 
कतिपय तराई आन्दोलनमै होमिएका कारण भिसा आइसकेका व्यक्तिले समेत विदेसिने योजना रद्द गरेका हुन्। सबै प्रक्रिया पूरा गरेका व्यक्तिले काम गर्न विदेश जान नमान्दा धमाधम भिसा एक्सपायर हुन थालेको म्यानपावर व्यवसायीले जानकारी दिएका छन्। 
 
मलेसिया जाने कामदारको भिसा एक्सपायर सबैभन्दा बढी देखिएको छ। यसबाहेक साउदी अरब र कतारतर्फ जान लागेकाको भिसा मिति सकिन लाग्दासमेत कामदार सम्पर्कमा आएका छैनन्।
 
धेरैले विदेसिन सबै प्रक्रिया पूरा गरेर अन्तिम अवस्थामा स्थगित गरिनुको कारण तराई आन्दोलन र भारतीय नाकाबन्दीलाई दिएका छन्। यसबाहेक केहीले निःशुल्क टिकट र भिसाको प्रावधान लागू गर्नु अघिको प्रक्रिया भएकाले जाने योजना स्थगित गर्नुपरेको जानकारी दिएका छन्। 
 
सरकारले गत जेठ अन्तिम सातादेखि खाडी मुलुक र मलेसिया जाने कामदारलाई निःशुल्क टिकट र भिसामा पठाउनुपर्ने व्यवस्था गरेको छ। निःशुल्कको प्रावधान लागू हुनुअघि वैदेशिक रोजगारीमा पठाउन प्रक्रिया थालेका व्यक्तिले यतिबेला जान आनाकानी गरिरहेका छन्। 
 
पुनः प्रक्रिया सुरु गर्दा पैसा नतिरी जान पाइने भएकाले पुरानो प्रणालीलाई जाने कामदारले रद्द गर्न चाहेका हुन्।वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले तराई आन्दोलन र नाकाबन्दीका कारण भिसा आइसकेका कामदारसमेत जान रोकिएका जानकारी दिए। 
 
'बारम्बार फलोअप गर्दासमेत जान नमानेपछि कतिपयको भिसा नै एक्सपायर भइसकेको छ', उनले भने। उनको कम्पनीबाट मात्रै दसैंअघि मलेसिया उड्नुपर्ने १२ जना व्यक्ति सम्पर्कमा नआउँदा उनीहरूको भिसा एक्सपायर भएको छ। 
 
भिसा अवधि सकिएका सबै जनाले मलेसिया जानका लागि तयारी गरेका थिए। मलेसियाको एचकेआई कर्पोरेसनमा काम गर्न जान लागेका ती कामदार सिराहा, धनुषा, खोटाङ र धनकुटाका थिए। उनले भने, 'उनीहरूमध्ये धेरैले तराई आन्दोलन र नाकाबन्दीका कारण समयमा राजधानी आउन नसकिएको बताएका थिए। एकदुई जना भने सम्पर्कमै आएनन्।'
 
निःशुल्क टिकट र भिसाका कारण खाडी मुलुक र मलेसिया जाने कामदारको संख्यामा भारी गिरावट आइरहेका बेला भिसा आइसकेकाले समेत जान नमानेपछि यो व्यवसायमा थप समस्या देखिएको छ। सरकारी तथ्यांकले निःशुल्क टिकट र भिसाको प्रावधानपछि मलेसिया जाने कामदारको संख्यामा ७५ प्रतिशतसम्मले ह्रास आएको देखाएको छ। 
निकै मेहनत गरेर डिमान्ड ल्याए पनि अन्तिम अवस्थामा कामदार पठाउन नसकेपछि रोजगारदाता कम्पनीसमेत नेपालका म्यानपावर व्यवसायीसँग रुष्ट हुन थालेका छन्।
निःशुल्क टिकट र भिसाले थलिएको व्यवसायलाई तराई आन्दोलन र भारतीय नाकाबन्दीले थप नोक्सान पुर्‍याएको व्यवसायीले बताएका छन्।भिसा आएको तीन महिनाभित्र सम्बद्ध मुलुकमा कामदार पुगिसक्नुपर्छ। 
 
यो अवधिभित्र जान नसक्नेको भिसा स्वतः रद्द हुने प्रावधान छ। आन्दोलन र नाकाबन्दीका कारण वैदेशिक रोजगारीमा जानेसमेत अन्योलमा परेका हुन् । जाने प्रक्रियाका लागि बारम्बार राजधानीसम्म धाउनुपर्ने भएकाले असुरक्षा अनुभव गर्न थालेका छन्।
 
नाकाबन्दीका कारण यातायात खर्र्च, खानबस्नलगायतको खर्च पनि ह्वात्तै बढेको छ। यसबाट पनि अधिकांश पर्ख र हेरको अवस्थामा रहेका अनुमान व्यवसायीको छ।
 
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष मदन महत नाकाबन्दी र आन्दोलनका कारण समयमा सबै तयारी पूरा गरेर पनि अन्तिम अवस्थामा कामदार जानबाट वञ्चित हुन थालेको बताए। समयमा कामदार पठाउन नसक्दा उनको कम्पनीबाट पनि कामदारको भिसा एक्सपायर भएको छ। 
 
'पछिल्लो समयमा मेरो कम्पनीबाट मात्रै १४ जनाको भिसा एक्सपायर भएको छ। उनले भने, 'निःशुल्क टिकट र भिसाका कारण यो व्यवस्था कार्यान्वयन हुनुअघि प्रक्रिया अघि बढाएकाले जान मानेका छैनन्।'निकै मेहनत गरेर डिमान्ड ल्याए पनि अन्तिम अवस्थामा कामदार पठाउन नसकेपछि रोजगारदाता कम्पनीसमेत नेपालका म्यानपावर व्यवसायीसँग रुष्ट हुन थालेका छन्। 
 
नेपालबाट कामदार आउने पक्का गरिसकेका विदेशी कम्पनीले अन्तिम अवस्थामा पठाउन नसकेको भन्दै नेपालका म्यानपावर कम्पनीसँग रिसाएका एक व्यवसायीले बताए। निःशुल्क टिकट र भिसाको व्यवस्थापछि मलेसियाका एजेन्टले नेपालमा कामदार पठाउन आनकानी गरिरहेका बेला सम्झौता अनुसार कामदार पठाउन नसक्दा थप समस्या थपिएको ती व्यवसायीले बताए।
 
पिजन इन्टरनेसनल प्रालिका सञ्चालक टंकबहादुर राउतको कम्पनीबाट पनि दसैं आसपासमा साउदी अरब जाने तयारी गरेका तीन जनाको भिसा एक्सपायर भएको छ। 'तराई क्षेत्रका ती कामदार भिसा सकिने मितिसम्म पनि सम्पर्कमै आएनन्' सञ्चालक राउतले भने। मलेसियालगायत मुलुकका मुद्रा कमजोर भएकाले पनि त्यहाँ जाने आकर्षण घटेको उनको अनुमान छ।
 
विगतमा औसतमा दैनिक १६ सय युवा वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्ला महिना यसमा भारी गिरावट आएको छ। सबैभन्दा धेरै नेपाली जाने मलेसियाको संख्या घट्दा समग्र रोजगारीमै असर पर्ने देखिएको छ। हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३८ लाख हाराहारीमा छ।
 
 
Published 29 October 2015. Annapurna Post.
 

Back to list

;