s

८८ हजार बढी शरणार्थी तेस्रो मुलुकमा

उमाकान्त खनाल

पूर्वी नेपालका विभिन्न शिविरमा रहेका एकलाख आठ हजार भुटानी शरणार्थीमध्ये ८८ हजार भन्दा बढीलाई तेस्रा मुलुकहरूमा पुन: स्थापना गरिएको छ। झापा र मोरङका विभिन्न शिविरहरुमा करीब अढाइ दशकदेखि कष्टकर जीवन विताइरहेका भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय आप्रवास संगठन आइओएम मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रा मुलुकहरूमा पुन: स्थापना गरिएको हो।

तेस्रो मुलुकमा पुनर्स्थापनाका लागि जाने क्रममा सामान लोड गर्दै भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनर्स्थापनाका लागि जाने क्रममा सामान लोड गर्दै भुटानी शरणार्थी आइओएमले पुन : स्थापना कार्यक्रम अन्तर्गत विगत सात बर्षदेखि शरणार्थीलाई तेस्रा देशहरूमा पठाउँदै आएको छ। सबैभन्दा बढी शरणार्थी लिने मुलुक अमेरिका हो। अमेरिकामा ८५ हजार ६ सय ५१ शरणार्थी पुन:स्थापित भएका छन्।

गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा चार हजार आठ सय १९, क्यानाडामा पाँच हजार सातसय ७८, डेनमार्कमा आठसय ५२, नेदरल्याण्डस्मा तीनसय २६, नर्वेमा पाँचसय ५० शरणार्थी पुन: स्थापित भएका छन्। ती देशहरूले शरणार्थीको स्थायी व्यवस्थापन गरेका छन् भने शिविरमा बाँकी रहेकाहरूलाई पनि क्रमश: पुन: स्थापनामा लैजाने बताइएको छ।

जुनबेला शरणर्थी भुटानबाट नेपाल आए त्यसबेला शरणार्थीको संख्या करीब एकलाख मात्र थियो। शिविर बसाइको दुइ दशक बढी समयमा शरणार्थीको जनसंख्या बढेर करीब एक लाख आठ हजार पुगेको हो। नेपाल र भुटान विच विभिन्न तहमा १५ चरणमा वार्ता भए पनि शरणार्थी समस्या समाधानमा कुनै परिणाम आउन सकेको छैन। त्यसको फलस्वरुप शरणार्थीलाई विभिन्न दातृ देशहरुले लान थालेका हुन।

शरणार्थी समस्या समाधानका स्वदेश फिर्ती पहिलो, दोस्रोमा स्थानीय समाजमा समायोजन र तेस्रोमा मात्र तेस्रो मुलुुक पुन : स्थापनाको विकल्प खुला गर्ने भनिएको थियो। तर भुटानले यसबारे कुनै चासो नदेखाएपछि सबभन्दा अन्तिमको विकल्पबाट शरणार्थी समस्याको समाधानको उपाय खोजिएको हो।

संवैधानिक राजतन्त्र आएपछि भुटानमा भएको दोस्रो पटक भएको संसदीय निर्वाचनमा विपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टीले बहुमत ल्याएपछि भुटानी शरणार्थी समस्याको दिगो समाधान हुनेमा शरणार्थी आशाबादी देखिएका थिए। सात जना नेपालीभाषी समेत निर्वाचित भएपछि शरणार्थी समस्या समाधान हुने बलियो आधार भएको उनीहरूले बताएका थिए।

पिपुल्स डेमोक्रेटिक पार्टीले बहुमत ल्याएपछि पूर्वी नेपालका शिविरहरूमा रहेका भूटानी शरणार्थीहरूका मुद्दा उठ्ने आशा राख्नेमा एक जना शरणार्थी अगुवा डा. भम्पा राइ थिए। तर उनको आश अब मरेर गएको छ। उनी भन्छन्, ' नयाँ सरकार गठनपछि शरणार्थी समस्याका बारेमा केही विचार विमर्श होला भन्ने लागेको थियो तर अब त्यो आश पनि समाप्त भएको छ।'

पहिलाको सत्ताधारी दल जिग्मे वाई थिन्ले नेतृत्वको ड्रुक फुन्सुम छोक्पा भन्दा अहिलेको निर्वाचित दल शरणार्थीको मामिलामा केही लचिलो रहेको शरणार्थी अगुवाहरुले बताएका थिए। जुन दलबाट अहिले सात जना नेपालीभाषी समेत भुटानी संसदमा निर्वाचित भएका छन्। नेपालीभाषी समेत निर्वाचित भएकोमा भुटानी शरणार्थीकी एकजना महिला नेतृ जसोदा बुढाथोकी शरणार्थी समस्याका बारेमा सम्बोधन हुनेमा अझै पनि आशाबादी देखिन्छिन्।

भुटानमा अझै पनि अढाई लाख भन्दा बढी नेपालीभाषी भुटानीहरू रहेको बताइन्छ। पूर्वी नेपालका शिविरहरुमा तेस्रो मुलुक पुन: स्थापनाबाट रहेका करीब २० हजार शरणार्थीको बसोबास छ। उनीहरू अहिले दमकको बेल्डाँगी र मोरङको शनिश्चरे शिविरमा बस्दै आएका छन्।

Published on: 2 April 2014 | Annapurna Post

 

Back to list

;