s

आफ्नैले पार्छन् चेलीलाई बिचल्ली

खुरुखुरु मालिकको घरमा काम गरिरहेकी युवतीलाई आफ्नै देशको युवकले फकाउन थाल्छ । घुमफिरको दैनिकी, अनि राम्रो कमाइको प्रलोभनमा उनी हाउसमेडको काम छाडेर उसकै पछि लाग्छिन् । सुरुमा दुवै साथै बस्छन्, रमाइलो गर्दै । जब खर्चको पारो बढ्दै जान्छ, समस्या सुरु हुन्छ । तीतो सम्बन्धमा हिंसा प्रवेश गर्छ, युवती बाटामै आइपुग्छिन् । 

'नेपाली हाउसमेडहरूलाई नेपालीले नै भगाउँछन्, निहित स्वार्थका लागि,' बहराइनस्थित नेपाली दूतावासका कार्यालय प्रमुख ओमकुमार भण्डारीले भने, 'यसले हाम्रा चेलीको बिचल्ली हुँदै गएको छ । खाडी क्षेत्रमा बहराइन तुलनात्मक रूपमा खुला समाज हो । राजधानी सहर मानमामा अन्य कट्टर मुस्लिम सहरहरूभन्दा विपरीत खुला सामाजिक जीवनको सुविधा छ । यही परिवेशमा संख्यात्मक रूपले बढ्दै गएको नेपाल आप्रवासी कामदार समुदायमा आफैंलाई मर्का पर्ने व्यवहार मौलाउँदै गएको छ । 

'बदमास नेपाली दाजुभाइकै कारण चेलीहरू पीडित छन्,' समस्यामा परेका महिलाहरूलाई उद्धार गर्दै आएकी सिन्धुपाल्चोककी कृष्णकुमारी बिष्ट भन्छिन् । घरेलु कामदारले मासिक तलब सालाखाला ७५ डिनार (करिब १९ हजार रुपैयाँ) सम्म पाउँछन् । यहाँ पनि कतिपय मालिकले नेपाली चेलीहरूलाई घरमै थुनिराख्ने, नियमित तलब नदिने गर्छन् । यही समस्याले समेत चेलीहरू भागेर सजिलो खोज्छन् । बाहिर आइसकेपछि स्थानीय कानुनअनुसार अवैध भइन्छ । अवैध कामदारले बाहिर सजिलै काम पनि पाउँदैनन् । 

यस्तो परिबन्दमा परेका चेलीहरूले रेस्टुरेन्ट, डान्सबारमा जोखिमपूर्ण र शोषित अवस्थामा काम गरिरहेको समेत भेटिन्छ । कतिपयले अर्को अवैध धन्दा देह व्यापारका लागि कोठीसमेत चलाएको पाइन्छ । 'घरबाट निस्केपछि झन् यातना पाएँ,' राई थरकी एक युवतीले भनिन्, 'हामीले नचाहिएको काम गर्नुपरेको छ ।' यहाँ कठीन कुरा बस्नु नै हो । 'कोठाभाडा महँगो छ । भनेका जस्ता साथी पाइँदैनन् । एक्लैले त्यो तिर्न सकिँदैन,' उनले भनिन्, 'कि केटा साथीको शरणमा बस्नुपर्‍यो कि अवैध बाटो अपनाउनु पर्‍यो ।'

नेपाली क्लब बहराइनले मालिकको घरबाट निस्केपछिको अवस्थामा अवैध गर्भ बोकेका युवतीलाई उद्धारसमेत गरेको छ । 'गाउँबाट आएका सोझा युवतीलाई केही भन्नेबित्तिकै फकिइहाल्ने । उनीहरू तावाको माछा भुंग्रोमा पर्छ भन्ने ख्याल गर्दैनन्,' क्लब अध्यक्ष दुर्गाबहादुर गिरीले भने, 'हामीले त्यस्ता धेरै महिलालाई उद्धार गरेर नेपाल पठाएका छौं । कतिपयलाई त बच्चासहित पठाउनुपरेको छ ।'    

दूतावासका भण्डारीका अनुसार भागेका महिलाहरू सहजै घर फिर्नसमेत पाउँदैनन् । 'भिसा लागेका हाउसमेडलाई स्पोन्सरले रद्द नगरेसम्म स्वदेश पठाउन सकिन्न,' भण्डारीले भने, 'अझ कतिपयलाई त चोरीको मुद्दा हालिदिन्छन् । उद्धार गरेर पठाउनै मुस्किल पर्छ ।'

Published on: 6 June 2014 | Kantipur

Back to list

;