s

आँखाभरि बिझाइरहेछन् शरणार्थी

कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन् ।

एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्, 'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए, कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन । दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'

सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'

हरेक वर्ष जुन २० विश्व शरणार्थी दिवस भएर आउँछ । तर रिजालको क्यालेन्डरमा कुनै धर्को छैन । शरणार्थी दिवसको अघिल्लो बिहान अर्थात् बिहीबार रिजाललाई भेट्न कान्तिपुर प्रतिनिधि पुग्दा उनी ललितपुर, हरिसिद्धिस्थित माउन्ट भ्यु रेसिडेन्सको फेस-२, ५९ नम्बर ब्लकमा एक्लै धुम्धुम्ती बसिरहेका थिए । लामो समयदेखि एकान्तवासमा रहेका यी नेतासँग ५७ वर्षीया जीवनसंगिनी कौशिला छिन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उनका तीन छोरालाई तेस्रो मुलुक पुनर्वासको क्रममा क्यानडा लगेको छ । शारीरिक रूपमा कुँजिँदै गरेका रिजाललाई हरक्षण साथ दिइरहने कौशिलाको सेलफोनमा घरिघरि रिङटोन बज्छ- 

तेरा साथ है तो, मुझे क्या कमी है, अँधेरोँ से भी मिलरही रोशनी है..

श्रीमती रिजालको मोबाइलमा अक्सर लता मंगेशकर घन्किनुको अर्थ के हुन्छ ? एक लाखभन्दा बढी भुटानी शरणार्थीको साझा गुनासो संघसंस्थाहरूबाट प्रतिविम्बित हुन्छ, 'रिजालले शरणार्थी मुद्दालाई दिनुपर्नेजति साथ दिएनन् । उनीहरूको जीवन अँध्यारोमा जाकियो । अँध्यारोले जितेका शिविरहरूमा मुक्तिको आससमेत निभ्न थालिसक्यो ।'

रिजालको पनि शरणार्थीसँग उस्तै दुखेसो छ, 'एकजुट भएर भुटानी सत्तासँग लड्नुपर्ने बेला उनीहरू ५२ वटा टुक्रे संगठनमा छरिए । तेस्रो मुलुक पुनर्वासको हवाई जहाज चढिसकेपछि सुद्दी फर्केर के गर्नु ?' अरूसँग भिड्नुपर्ने बेला आफूसँगै भिडेका/भिडाइएका उनीहरूमध्ये सचेत पंक्ति नभएको होइन । तर त्यसको स्वर मधुरो सुनिन्छ । शरणार्थीको स्वदेश फिर्ती अभियान निभ्ने क्रममा छ । हेर्दाहेर्दै भुटानीहरूको आन्दोलन उत्कर्षमा पुगेर ओरालो झरेको छ ।

 Published on: 21 June 2014 | Kantipur

Back to list

;