s

अझै कोमामै कामदार

हालैको एकदिन नेपाली दूतावासका नवनियुक्त श्रमसहचारी लीलानाथ दाहाल कतारको सरकारी हमाद अस्पताल नेपाली बिरामीको अवस्था बुझ्न पुगे । त्यतिखेर अस्पतालका उच्च अधिकारीहरूले नेपाली दूतावासप्रति कडा आपत्ति प्रकट गरे । 'वर्षौदेखि उपचाररत कोमाका रहेको बिरामीप्रति दूतावासले बेवास्ता गर्‍यो', अस्पतालको सिधा भनाइ थियो, 'आफ्ना नागरिकको रेखदेख गर्नु दूतावासको दायित्व हो । यसमा नेपाली दूतावासले सामान्य व्यवहार पनि गरेन ।'

हमादमा झन्डै एक दर्जनभन्दा बढी नेपाली ९ वर्षदेखि कोमामा छन् । त्यसमध्ये १० जना नेपाली बिरामीलाई नेपाल पठाउन खोजिएको छ । हमादका अनुसार सङ्खा २ रुकुमका २४ वर्षीय मनोज केसी, रुन्चु गाविस गोरखाका ४५ वर्षीय कालु गुरुङ, नारायणस्थान ९ बाग्लुङका ३७ वर्षीय विष्णुबहादुर सुवेदी, महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेवाङ, हरिचौर १ बाग्लुङका २९ वर्षीय गिरिप्रसाद विक, सुर्खेतका ३८ वर्षीय हरिबहादुर बस्नेत, शान्तिनगर ८ दाङका २३ वर्षीय भक्तबहादुर रस्ताकोटी, पटैया १३ बाराका ३८ वर्षीय बुमिलाल राउत कुर्मी, पसाही ९ नौलोखोर धनुषाका ४४ वर्षीय बिन्देमुखिया बिन, रामदैया १ भबाडी धनुषाका ४३ वर्षीय श्यामबाबु यादव, सिरहाका मोहम्मद फिरोज र बबुऐन ९ अच्छेलाल, बाराका खुबलाल ठाकुर हजाम छन् ।

हमादले ती बिरामी घर पठाउन नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले नेपालमा कतारमा जसरी बिरामीको उपचारको जिम्मेवारी लिने अस्पतालको ग्यारेन्टी पत्र दूतावासको तर्फबाट दिनु पर्नेछ । 'बिरामीको क्षतिपूर्तिका लागि नेपाली दूतावासले मुद्दा लडिदिनुपर्छ । यो दूतावासको दायित्व हो', एक केश म्यानेजरले भने, 'हाम्रो जिम्मेवारी उपचार गरिदिने हो । सबैको अवस्था स्थिर छ । उनीहरूलाई बाँचुन्जेल उपचार चाहिन्छ ।' हमादले त्यसपछि मात्रै मेडिकल स्कर्टिङ नेपाल पठाउने भएको हो । त्यसमा दुई डाक्टर हुनेछ । 'विमान खर्च र नेपालको अस्पतालमा लाग्ने दुई महिनासम्मको शुल्क पनि हमादले नै गरिदिनेछ', ती अधिकारीको भनाइ छ ।

बेड नम्बर २६४ मा पुग्दा भक्तबहादुर राजकोटीकी फिलिपिनो नर्स आत्तिरहेकी थिइन् । हातमा समात्न नसकिने पञ्जा लगाइएको थियो । तैपनि पाइपबाट नाकमा दिइरहेको अक्सिजन फालिदिएछन् । ती नर्स भन्दै थिइन्, 'एकछिन छोड्नै हुँदैन । अक्सिजनको पाइप थुतिहाल्छ ।' कारले ठक्कर दिएपछि मगर ९ अपि्रल २०१४ देखि कोमामा छन् । कुकको काम गर्दै आएका राजकोटी सन् ३१ मे २०१२ मा कतार आइपुगेका थिए । त्यो तलामा अन्य देशका थुप्रै बिरामी कोमामा थिए ।

अस्पतालको अर्को भवनमा कालु छन् । उनी अरुले बोलेको सबै बुझ्न सक्छन् । तर आफू आवाज निकाल्न सक्तैनन् । 'घर जाने कुरा निकाल्दा आँखाबाट आँसु निकाल्छन् । मुहार उज्यालो हुन्छ', गोरखाका हुमबहादुर गुरुङले भने । उनी रिलयान्स म्यानपवारमार्फत २३ जनवरी २०११ मा कतार आइपुगेका थिए । त्यसको ८ महिनापछि अर्थात २३ अगस्ट २०११ सडक दुर्घटनामा परी कोमामा गए । बेलाबेला कालुका दुईजना आफन्तहरू भेटघाट गर्न पुग्छन् ।

अर्को कोठामा हातमा 'बहादुर' नाम लेखेको ट्याग झुन्डाइएको छ । जिल्ला, नाम थर, ठेगाना, कम्पनी केही खुलेको छैन । अर्को कोठा ३०२ कोमा सङ्खा २ रुकुमका २४ वषर्ीय मनोज केसी कोमामा छन् । दुबैको टाउकोमाथि टिभी झुन्डाइएको छ । टिभीमा फुटबल लाइभ छ । मनोज अल साद जेनेरल कन्ट्रक्टिङ कम्पनीमा काम गर्थे । उनी २१ अपि्रल २०१० बाट कोमामा गएको हो ।

मनोजसँगै सिर्थौली १ सिन्धुलीका डोलिया अधिकारीको कञ्चटको दुबै भागमा गम्भीर चोट लागेको छ । केही वर्ष पहिले परिवारको तर्फबाट नेपाली दूतावासलाई 'शव पठाइदिनु' भन्दै परराष्ट्र मन्त्रालयबाट एउटा पत्र आइपुगेको थियो । दूतावासले शवको विषयमा खोज्दै जाँदा कतारको सरकारी अस्पताल हमादमा डोलबहादुर जीवित रूपमा भेटिए । ११ नोभेम्बर, २००७ मा काम गर्दागर्दै कार्यस्थल दुर्घटनामा परेका डोलियालाई 'भेजिटेबल' खुवाएर अस्पतालले उच्चस्तरीय उपचार गरिरहेको छ । दूतावासले परिवारलाई 'जिउँदै' रहेको जानकारी पठाएपछि परिवारसँग हिजोआज दोहोरो पत्रचार र सम्पर्क छैन ।

महेशपुर १ झापाका श्रीबहादुर नेवाङ ४ सेटेम्बर २००८ मा दुर्घटनामा परेर कोमामा गएका हुन् । उनी अली रामदान टेर्डर कम्पनीमा काम गर्थे । उसकै छेउमा बाग्लुङका विष्णुबहादुर छन् । नेपालीकै कम्पनी अमृत ट्रे्रडिङ एन्ड कन्ट्रक्टिङमा रहेका उनी १८ सेटेम्बर २००९ सडक दुर्घटनामा परेका थिए । भेडीगोठमा फँसेका एक आफन्तलाई उद्धार गर्न जाने क्रममा उनी दुर्घटनामा परेका थिए । उनको बहुपक्षीय अंगमा क्षति पुगेको छ । परिवारको तर्फबाट क्षतिपूर्तिका लागि लड्न दूतावासलाई २०७१ जेठ १२ गते अख्तियारनामा दिएको छ ।

बाग्लुङका गिरिबहादुर २ डिसेम्बर ०११ बाट कोमामा छन् । 'सधैं श्रीमानको अवस्थामा जान्न उनका श्रीमती फोन गरिरहन्छिन्', बाग्लुङ समाजका पूर्वअध्यक्ष मदन श्रीष भन्छन्, 'श्रीमान ठीक भए कि भनेर सोधिरहन्छिन् ।' गिरि ८ वर्षअघि कतार आइपुगेका थिए । उनी अरब युनिटीमा काम गर्थे । कम्पनीले लामो समयसम्म तलब नदिएपछि छाडेर बाहिर गैरकानुनी ढंगले बसे । त्यसको १५ महिनापछि बाटो काट्ने क्रममा गाडीले ठक्कर दियो । त्यसपछि उनी कोमामा गए । 'दुर्घटना भएकै दिन मलाई खबर आएको थियो', श्रीमती कृष्णाकुमारी भन्छिन्, 'मिल्ने भए तुरुन्त भेट्नुहुन्थ्यो । जुन सम्भव छैन । पहिलेको अवस्थामा फर्किदिए हुन्थ्यो भन्ने कामना गरिरहेको छु ।'

कोमामा भएका बिरामीलाई नेपालमा लगेपछि पनि दीर्घकालीन उपचार चाहिन्छ । जुन परिवार एक्लैले मात्रै धान्न सक्दैनन् । 'जिउँदो लासजस्तो मान्छे हो । उसलाई लिएर के गर्न सकिन्छ । खान सक्ने र हिँडडुल गर्नसक्ने भएको भए पनि हुन्थ्यो', भक्कानिएको स्वरमा गिरिबहादुरकी श्रीमती कृष्णाकुमारीले टेलिफोनमा भनिन्, 'मैले कहाँ राख्ने, के राख्ने । हामीसँग पैसा भइदिएको भए हुन्थ्यो । चाहेर मात्रै हँुदैन रहेछ', गम्भीर स्वरमा भनिन्, 'स्वीकार गर्न सकिने अवस्था छैन ।' उनको काँधमा १३ वर्षे छोरी र ७ वर्षे छोराको शिक्षादीक्षा र पालनपोषण गर्ने जिम्मेवारी आएको छ । गाउँमै खेतीपाती/मेलापात गर्दै आएकी छिन् । आर्थिक ऋण थपिँदो छ । 'उहाँले काम गर्नुभएको कम्पनीले एक वर्षसम्मको तलब नदिएपछि भाग्नुभयो', उनले भनिन्, 'केही कमाउँला र खाउँला भनेर जानुभएको थियो । कमाउने मान्छे त्यस्तो भइदियो ।' क्षतिपूर्तिको लागि एक वर्षअघि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाए पनि जवाफ आएको छैन ।

सुर्खेतका श्रीमती हिमकुमारी कतारबाट टेलिफोन जाने बित्तिकै डराउँछिन् । उनलाई हरिबहादुरलाई बुझ्ने विषयमा यताबाट फोन गरिरहेकी छिन् । हरिबहादुर पेन्टरको काम गर्थे । ३८ वर्षीय हरिबहादुर ११ नोभेम्बर खाना खाएर सुतेको बेला रक्तचापले मस्तिष्क पक्षाघात हुनपुगेको थियो । यस्तो अवस्थामा नियमअनुसार क्षतिपूर्ति पाइँदैन । उसका कम्पनीमा काम गर्ने आफन्त भक्तबहादुर बस्नेतले क्षतिपूर्ति र तलब दिन अनुरोध गर्दा पनि कम्पनी सहमत भएन । दूतावासले पनि अस्पतालमा बसेको समयमा तलब नपाउने बताएको छ । हिमकुमारीले दाउरा बेचेर तीन बच्चाहरूलाई हुर्काइरहेका छन् । दाउरा बेच्न सुर्खेतबाट बर्दिया झरेकिछिन् । 'बाँच्नका लागि केही त चाहियो । ल्याएर त्यतिकै राख्नुभएन । सास छउन्जेल आशा त गर्नुपर्‍यो', उनले भनिन्, 'बर्दियाको राष्ट्रिय निकुञ्जबाट दाउरा बेचेर जीविकोपार्जन गर्दै आएको छु । मेरो क्षमताले सकिँदैन । सरकारले नेपालमा उपचार गरिदिने ग्यारेन्टी दिएमा बिरामी बुझ्न सहमति हुन्छु ।'

बाराका बुमिलालकी २८ वर्षीया पत्नी शोभादेवी आफ्ना ४, ६ र ७ वर्षीय छोराहरू लिएर दाइ पल्टनप्रसाद कुर्मीको शरणमा छन् । ९ सालदेखि कतारमा इलेक्ट्रोसियन काम गरिरहेको बुमिलाल १९ सेप्टेम्बर २०१४ देखि कोमामा गएका थिए । दूतावासले अस्पताल खोज्नु भन्नेको छ । 'काठमाडौं र वीरगन्जमा बिरामी राखिदिने अस्पताल खोजिरहेका छौं', पल्टनप्रसादले भने, 'तर त्यस्तो अस्पताल पाउन सकिरहेको छैन ।' उनीहरूको आर्थिक अवस्थामा पनि कमजोरै छ । 'खर्च ब्यहोरिदिने कोही भेटिदिए ज्वाइँलाई यतै ल्याउन पाए हुन्थ्यो', उनले भने ।

कतिपय त बिरामीको बोझ लिनसक्ने अवस्थामा परिवार आउने गरेका छैनन् । दाङका भक्तबहादुरका परिवार सम्पर्कमा आएका छैनन् । श्रीबहादुरका आफन्तको खोजीमा दूतावास लागेको छ । नजिकको एकजना भाउजु पर्ने झापामै बस्छन् । आफन्तको तर्फबाट मात्रै क्षतिपूर्तिको लागि निवेदन दिए दूतावासले लडिदिने योजना छ । उनी अविवाहित हुन् । परिवार खोज्न झापाली सम्पर्क मञ्चले खोजबिन पनि गरेको थियो । अध्यक्ष चूडामणि कार्की भन्छन्, 'एकजना भाउजू छिन् । उनी सम्पर्कमा आउन चाहँदैनन् ।'

कतारको कानुनअनुसार सडक दुर्घटना, काम गर्ने क्रममा दुर्घटना भएमा सामान्यतः दुई लाख रियाल (करिब ५४ लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ । अवस्था हेरेर योभन्दा बढी पनि पाइन्छ । तर क्याम्पमा बिरामी परेर कोमामा गएमा कानुनले सम्बोधन गर्दैन । गतवर्ष सडक दुर्घटनामा कोमामा परेका मुनबा ७ गोर्खाका २५ वर्षीय बिर्घ गुरुङले ८ लाख रियाल (करिब दुई करोड १६ लाख रुपैयाँ) पाएको थियो । रुकुमका मनोजले पनि दुई लाख रियाल क्षतिपूर्ति पाएका छन् । त्यो रकम अदालतमा जम्मा भइसकेको छ । लिने मान्छे छैन । भक्तबहादुरको पनि क्षतिपूर्तिको प्रक्रिया अगाडि बढेको छ ।

ढिकुर पोखरी ४ कास्कीका कुलप्रसाद अधिकारी ८ जनवारी २०१० देखि कोमामा थिए । उनले तीन सय प्रतिशत क्षतिपूर्ति (झन्डै ७ लाख रियाल) पाउने भनेर 'सुपि्रम हेल्थ काउन्सिलले' तोकेको थियो । यो रकम मुद्दा लडेपछि मात्रै पाइने स्थिति थियो । आफन्तले नेपाली दूतावासलाई खबर गरेन । कम्पनीले पनि बदमासी गरिदियो । पाउने रकम गुम्यो ।

सबैभन्दा पुराना कोमामा रहेका बाराका हजाम हुन् । उनको १७ डिसेम्बर २००६ मा साइकल चलाएर बाटोमा हिँड्दा कारले ठक्कर दिएको थियो । त्यसपछि कोमामा छन् । मदिरा खाएर साइकल चालएको भन्दै हजाम दोषी ठहर्‍याए । रिपोर्ट पनि साइकलले कारलाई हानेको भनियो । उनले पनि क्षतिपूर्ति पाएनन् ।

कालु गुरुङ र हरिबहादुर बस्नेत कोठामै बिरामी परेकाले क्षतिपूर्ति पाउन नसक्ने स्थिति छ । 'उहाँहरू दुर्घटनामा परेर कोमामा परेका होइनन्', श्रम सहचारी लीलानाथ भन्छन्, 'कोठामै बिरामी परेर भर्ना भएका हुन् । दूतावासले क्षतिपूर्ति पाउनेको हकमा पनि मुद्दा लडिदिनका लागि परिवारको अख्तियारनामा मागिरहेको छ ।

हमाद अस्पतालले गम्भीर चासो दिएपछि नेपाली दूतावासले बिरामीलाई नेपाल पठाउन सक्रियता देखाएको छ । परिवारसँग सम्पर्क गर्ने, क्षतिपूर्ति पाउने अवस्था हेर्ने र सरकारी अस्पातलको जिम्मेवारी लिन मन्त्रालयसँग पत्रचार गर्न थालेको छ । 'सबैभन्दा पहिला परिवारले बिरामी बुझ्न तयार हुनुपर्छ । त्यसपछि नेपालमा रहेको सरकारी अस्पतालले बिरामीलाई लिने पत्र चाहिन्छ', कार्यवाहक राजदूत गणेश ढकाल भन्छन् ।

लामो समयसम्म रहेका बिरामीलाई फर्काउन दूतावासमाथि दबाब परेको छ । 'लामो वर्षसम्म यतै राखिराख्न मिल्दैन', यो विषय हेरिरहेका श्रम सहचारी दाहाल भन्छन्, 'सरकारले माथिल्लो तहमा निर्णय लिई सरकारी अस्पताललाई जिम्मेवारी दिनुपर्छ ।' फर्काउने बिरामी सबै गम्भीर प्रकृतिका हुन् । उनीहरूलाई भेन्टिलेसनमा राख्नुपर्ने स्थिति छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले कोमामा रहेका बिरामीलाई फर्काउन तुरुन्तै साउदीसहितका नेपाली दूतावासलाई ३५ लाख रुपैयाँ पठाउन वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले निर्णय गरेको बताए । दूतावासका अनुसार भने रकम अभावले बिरामी नेपाल फर्काउन नसकिएको होइन । 'समस्या पैसाको होइन', कार्यवाहक राजदूत ढकाल भन्छन्, 'परिवार र अस्पतालले बुझ्नुपर्ने अवस्थाले रोकिएको हो ।'

सरकारले पनि त्यस्तो अवस्थामा फर्किने बिरामीको सवालमा खास निर्णय लिएको छैन र ठोस नीति पनि छैन । 'बिरामीलाई पहिला काठमाडौं ल्याउन पहल भइरहेको छ । यसलाई सरकारले निकै गम्भीरतापूर्वक लिएको छ । हामीले कतारलाई पत्र पठाइसकेका छौं', मन्त्री गुरुङ भन्छन्, 'पहिला परिवारले जिम्मेवारी लिनुपर्छ । उपचारको लागि भने सकेसम्म परिवारको दायित्वमा पर्नदिनु हँुदैन ।' मन्त्री गुरुङका अनुसार परिवारलाई बोर्डको नियमअनुसार पाउने क्षतिपूर्ति दिलाउनेछ । 'यसको पुरै जिम्मेवार राज्यले लिनुपर्छ भन्ने हो', मन्त्रीको भनाइ छ, 'यो विषयमा श्रम मन्त्रालयले एक्लै हेर्न सक्तैन । सरकारका अरु निकाय पनि जिम्मेवार हुनुपर्छ ।'

बिरानो भूमिमा कोमामा रहेका बिरामीलाई निकै विशेष तरिकाले उपचार पाउँछन् । उनीहरूलाई दिइने सेवासुविधा, उपचार पद्धति, निगरानी आफ्नो भूमिमा पुग्नसाथ सबै सकिन्छ । ढिकुर पोखरी ४ कास्कीका कुलप्रसाद अधिकारी ८ जनवारी २०१० देखि कोमामा थिए । उनी नेपाल पुगेको १५ दिनमै मृत्यु भयो । 'यहाँ चार वर्षसम्म बचाएको बिरामीलाई नेपालमा १५ दिन पनि कटेन', उनका आफन्त केदार भण्डारी भन्छन् । अधिकारीको उपचारका लागि काठमाडौंबाट अस्पतालले जिम्मेवारी लिएको पत्र यहाँको अस्पताललाई दिएको थियो ।

ढिकुर पोखरी कास्कीकै तिलप्रसाद अधिकारी रमिला अस्पतालको भवन नम्बर ३० स्थित ३ तलाको ३०१ कोठामा उपचाररत हुँदा कसैलाई चिन्ता लिनु पर्दैनथ्यो । २०११ डिसेम्बर ३१ मा कोमा परेका उनलाई बचाएर एक महिना अघिमात्रै नेपाल पठाएको थियो । अधिकारी आफन्त चिन्न सक्ने स्थितिमा नेपाल पुगेका थिए । उसले आफ्नो घरपरिवारलाई मात्रै भेट्नु रहेछ । कतारको साहनियाँमा गाडी लिएर जाँदै गर्दा अगाडि उँटलाई घाँस र पानी बोकेको ट्याङ्कीलाई ठक्कर दिएका थिए । एक महिनाअघि पुगेको उनको अवस्था पनि चिन्ताजनक छ । १४ वर्षदेखि काम गर्दै आएका ३५ वर्षीय तिलप्रसादलाई नेपालको हस्पिटल बुकिङ गरेर ल्याएका थिए । अस्पतालले जसरी जिम्मेवारी लिएर उपचार गर्नुपथ्र्यो, त्यता भएन । मेडिकल स्कटिङमा पठाउने अस्पतालको तयारी थियो ।

बिरामी यहाँबाट लगिसकेपछि सबै जिम्मेवारी परिवारको दायित्वमा छाडिदिने प्रवृत्ति छ । ६ वर्षसम्म कुवेतमा कोमा बचाएर ल्याएकी मकवानपुरकी शान्ति दोङलाई पाटन अस्पतालले तीन महिना राखेर घरै पठाइदिए । उनको मृत्यु भइसकेको छ । त्यसरी जिम्मेवारी लिने ग्योरन्टी लिएको अस्पताल पछि हटेपछि कुवेत दूतावास दुःखित भएको थियो । 'यस्तो बिरामीको मुख्य जिम्मेवारी सरकारले लिनुपर्छ', गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मक्सुद आलाम भन्छन्, 'परिवारको काँधमा थपिदिनु हुँदैन ।'

Published on: 29 November 2014 | Kantipur

Back to list

;