s

अन्जानमा जेल परियो, निस्कन पैसा छैन !

होम कार्की

घरबाट बिदा हुन लाग्दा सासूले कतारमै काम गर्ने आफ्ना पतिका लागि कोसेली जिम्मा लगाइन् । धनुषाका शिव मण्डल कोसेली रूपी २५ वटा भाङका लड्डु समेत बोकेर उडे । तर जुलाई ३, २०१२ मा कतार विमानस्थल उत्रँदा उनी पक्राउ परे । प्रहरीले उनीमाथि भाङका लड्डु बोकेकै आधारमा लागू औषध ओसार पसारको मुद्दा लगायो । अदालतले दुई वर्ष कैद र दुई लाख १५ हजार रियाल (५८ लाख रुपैयाँ) जरिवाना सुनायो । उनी कतारी सेन्ट्रल जेलमा छन् ।

'ससुराका लागि कोसेली ल्याउँदा फसियो,' मण्डलले जेलमा भेट्न पुगेका नेपाली दूतावासका द्वितीय सचिव हरिकान्त पौडेलसमक्ष भने, 'भाङ ल्याउँदा यस्तो हुन्छ भन्ने जानकारी थिएन ।' ग्वालीचौर-६, बागलुङका ४८ वषर्ीय लोकबहादुर जिसी समेत भाङ ल्याएकै मुद्दामा जेलमा छन् । कतारमा सात वर्षदेखि ड्राइभरको काम गर्दै आएका उनी सिसीमा भाङको आचार ल्याउँदा २०१२ डिसेम्बर २६ को राति पक्राउ परे । त्यसमा मुद्दा चल्दा यहाँको प्रारम्भिक अदालतले तीन वर्ष कैद र दुई लाख पाँच हजार रियाल दण्ड जरिवाना तोक्यो । नेपाली दूतावासले भाङलाई अचारका रूपमा प्रयोग गरिने नेपाली परम्पराबारे उल्लेख गर्दै सजाय मिनाहाका लागि आग्रह गरेपछि कतारी सरकारले कैदलाई दुई वर्ष र जरिवानालाई एक लाख रियालमा झार्‍यो ।

जिसीले भतिजाका लागि पठाएको कोसेली पोका नहेर्दा यस्तो फसाद बेहोरेका हुन् । 'मलाई यहाँ भाङ ल्याउनु हुँदैन भन्ने थाहा थियो । तर नसोधी ल्याउँदा यस्तो समस्यामा परें,' उनले कान्तिपुरलाई भने । कतारमा यसरी जानी/नजानी लागू औषधको मुद्दामा परेका नेपालीहरू थुप्रै छन् । दुर्गा बहादुर बुढा मगर, प्रधान बुढा कामी र गणेश बहादुर कुन्जेलाई त १० वर्ष कैद र दुई लाख रियाल जरिवाना तोकिएको छ । उनीहरूको अबको सात महिनापछि अक्टोबर २ मा कैद सजाय भुक्तान हुँदैछ । तर जेलबाट निस्कन दुई लाख रियाल जरिवानाचाहिँ तिर्न सक्नुपर्छ । जसका लागि उनीहरू सक्षम छैनन् । 

कतारी जेलमा लामो समयदेखि जेल परेकाहरू सबै लागूऔषध प्रकरणमा जोडिएका छन् । अधिकांश विमानस्थलबाटै पक्राउ परेका हुन् । सन् २०११ फेब्रुअरी २३ मा पक्राउ परेका मियाको तीनवर्षे कैद सकियो । तर दुई लाख रियाल जरिवाना नसकेर उनी भित्रै छन् । उनीभन्दा दुई महिनापछि पक्राउ परेका सन्तबहादुर लिम्बुलाई तीन वर्ष कैद र एक लाख रियाल जरिवाना तोकिएको छ । उनी एक लाख तिर्न सके यही अपि्रल १२ मा छुट्ने छन् । 

अर्को दुई लाख रियाल तोकिएका मुमताज अन्सारी हुन् । उनको कैद अवधि गएको फेवु्रअरी मै सकिएको हो । तर जरिवाना तिर्न नसक्दा भित्रै छन् । नेपाली दूतावासका जनसम्पर्क अधिकृत ताजका अनुसार जरिवाना तिर्न नसक्नेले दिनको एक सय रियालको हिसाबले जेल बस्नु पर्ने हुन्छ । दूतावास यी सबै घटनाबारे जानकार छ । दूतावासले 'मिल्ने' सम्म प्रयास गरेको जनाएको छ । 'कतारले लागू औषधको सूचीमा राखेको कुनै पनि सामान नबोक्न हामीले बारम्बार सूचना दिँदै आएका छौं । यसबारे काठमाडौं विमानस्थलमा पनि कडाइका साथ चेक जाँच गर्न भनिरहेका छौं,' पौडेलले भने ।

Published on : 27 March 2014 | Kantipur

Back to list

;