s

अवैध रुपमा इराक पुगेका हजारौं नेपाली जोखिममा

चन्द्रशेखर अधिकारी

युद्धपछि पुनर्निर्माण अभियानमा जुटेको इराकमा हजारौं नेपाली कामदार दलालबाट बेचिएको निष्कर्ष इराक हेर्ने नेपाली दूतावासले निकालेको छ। इराकमा अहिले कति नेपाली छन् भन्ने एकिन तथ्यांक नभए पनि ३० हजार नेपाली कामका लागि त्यहाँ पुगेको अनुमान छ। यी सबै अवैध रूपमा त्यहाँ पुगेका हुन्।

इराकमा कामका लागि जान सरकारले स्वीकृति दिएको छैन। अवैध रूपमा इराक पुग्ने नेपाली दलालबाट पहिले नै बेचिने हुनाले कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। इराकमा अहिले ध्वस्त संरचना पुनर्निर्माण भइरहेको छ। इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलले टेलिफोनमा भने, ‘अधिकांश नेपाली बेचिएको अवस्थामा छन्। उनीहरू अत्यन्त असुरक्षित छन्।’ उनले दुई साताअघि इराक पुगेर कार्यवाहक राष्ट्रपति खुदिर अल खुजाईलाई ओहोदाको प्रमाणपत्र बुझाएका थिए। दस दिन त्यहाँ बसेर उनले नेपालीका समस्याबारे अध्ययन गरेपछि उनीहरू असुरक्षित र जोखिमपूर्ण काम गर्न बाध्य भएको निष्कर्ष निकालेका थिए।

पौडेलले अफगानिस्तान र टर्की पनि हेर्छन्। ‘नेपाली काम गर्ने ठाउँमै पुगेर मैले उनीहरूसँग कुराकानी गरें’, पौडेलले भने, ‘स्थिति खराब छ।’ त्रिभुवन विमानस्थलमै सेटिङ मिलाएर र कतार, दुबई, साउदीमा काम गर्दागर्दै तथा ट्रान्जिट बनाएर नेपालीहरू इराक पुगेका छन्। ‘धेरै रकम कमाउने प्रलोभनमा नेपाली युवा त्यहाँ पुगे पनि अवस्था राम्रो छैन’, पौडलले भने, ‘इराकमा रहेका नेपालीलाई पाइलापाइलामा समस्या छ। अवैध बाटोबाट त्यहाँ पुगेकाले पनि समस्यामा छन्।’

इराकमा रहेका २० प्रतिशत नेपाली मात्र तुलानात्मक रूपमा सुरक्षित स्थलमा काम गर्छन् र पारिश्रमिक पनि राम्रै पाउँछन्। नेपाली तथा बंगाली दलाल र रोजगारदाता कम्पनीको मोलमोलाइका कारण त्यस्तो अवस्था नेपाली कामदारले भोग्नुपरेको उनको बुझाइ छ। पौडेलका अनुसार हाउसमेडको काममा गएका नेपाली महिला धेरै पीडित छन्।

राजधानी बग्दाद र अर्बिलमा धेरै नेपाली छन्। त्यसैगरी वर्षा, दाहुक, अफाकलगायतका सहरमा नेपाली कार्यरत छन्। इराकमा रहेका नेपालीको समस्या सम्बोधनका लागि अवैतानिक दूतको साथै कन्सुलेट कार्यालय आवश्यक रहेको पौडेल बताउँछन्। उनले यसबारे आफूले इराकका प्रधानमन्त्रीलगायत सरकारी निकायका उच्च अधिकारीसँग छलफल गरेको जानकारी दिए।

उनले इराकमा आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तीन नेपालीलाई स्वदेश फर्काउनसमेत पहल गरेका छन्। कैलालीका प्रेम बस्नेत, धादिङका राजाराम खकुरेल र मकवानपुरका दिलबहादुर तामाङ तनहँुका सूर्यबहादुर ठकुरीको हत्या अभियोगमा तीन वर्षदेखि जेलमा छन्। उनीहरूलाई माफी दिन नेपाल सरकारले पत्र पठाएको र आफूले पनि ओहोदाको प्रमाणपत्र बुझाउँदा सोही अनुरोध गरेको पौडलले बताए। इराकले आफ्नो मुलुकमा दूतावास खोल्न नेपाललाई आग्रह गरेको जानकारी पनि पौडेलले दिए।

 जुवेल जेलका नेपालीको गुनासो- दूतावासले सहयोग गरेन

साउदी अरेबियाको जुवेल जेलमा रहेका नेपालीले आफूहरू अन्याय परेको गुनासो गरेका छन्। विगत आठ वर्षदेखि जेलमा रहेका उनीहरूले नेपाली दूतावासले जेलबाट छुटाएर घर पठाउन पहल नगरेको आरोप लगाएका छन्।

‘अन्य मुलुकका नागरिक हकमा यस्तो अवस्थामा दूतावासले विशेष पहल गर्छ तर हाम्रो दूतावासले त्यस्तो सहयोग गरेको छैन’, पीडितमध्येका एकले अन्नपूर्ण पोस्ट्को कार्यालयमा टेलिफोनमार्फत गुनासो गरे। उनले जेलमा आफूहरूले भोग्नुपरेको अवस्था नेपाली सञ्चारमाध्यममा प्रकाशमा आएपछि साउदी प्रहरी प्रशासनले समाचार झूटो रहेको भन्दै सहीछाप गर्न दबाब दिएको पनि बताए।

पीडितमध्येका एक लिलमबहादुर भुजेलले भने, ‘साउदी सरकारले त नराम्रो व्यवहार गर्‍यो तर हाम्रै दूतावासले हामीलाई केही गरेको छैन।’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने उनीहरूको आरोपको खण्डन गरे। उनीहरूको फर्कने प्रक्रिया अघि बढिसकेको पाण्डेको भनाइ छ। उनले भने, ‘अब उनीहरूको ल्याप्चे र मुलुक छाड्नका लागि अध्यागमनले दिने कागजी प्रक्रियामात्र बाँकी छ।’

साउदीको जुवेल जेलमा रहेका सात नेपाली कामदारभोकहडतालमा भन्ने समाचार दुई साताअघि अन्नपूर्णमा छापिएको थियो।यसैबीच हजका लागि यस वर्ष नेपालबाट गएको पहिलो टोली बुधबार साउदी पुगेको छ। पहिलो टोलीमा दुई सय ४५ नेपाली रहेको राजदूत पाण्डेले बताए।

Published on: 26 September 2013 | Annapurna Post

Back to list

;