s

बालश्रम मुक्त क्षेत्रमा हरियो झन्डा

आफ्ना घर, पसल, होटल तथा रेस्टुरेन्टमा बालबालिकालाई काममा नलगाउनेहरूले बालश्रम मुक्त क्षेत्र अंकित हरियो प्लेट पाउने भएका छन् । बिहीबार ललितपुर उपमहानगरपालिकाले कार्यक्रम गरी हरियो जेठ २४ गतेबाट झन्डा अभियान सञ्चालन गर्ने घोषण गरेको हो ।

१४ र २१ वडाबाट सुरु गरिनेे हरियो झन्डा अभियानमा प्रत्येक वडाका उद्योग, घर, पसल र रेस्टुरेन्टमा काम गर्ने बालश्रमिकहरूको पहिचान गरी उद्धार गरिने छ । बालश्रमिक हट्यो भन्ने तथ्यांक उपलब्ध भएपछि हरियो झन्डा निश्चित समयका लागि राखी फेरि अर्को वडामा लगिने छ । यसरी नेपालबाट सुरु गरिएको झन्डा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उपमहानगरपालिका समाज कल्याण महाशाखाका प्रमुख अशोक श्रेष्ठले बताए । उनले भने, 'गत वर्ष ४६ जना बालबालिकालाई उद्धार गरी बाल पुनः स्थापना केन्द्रमा पठाइएको  थियो ।'

कानुनले १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका भनेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १६ लाख बालबालिका श्रममा संलग्न छन् । त्यसमा ६ लाख २१ हजार बालबालिकाहरू जोखिमपूर्ण श्रममा संलग्न छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी जोखिमपूर्ण श्रममा संलग्न बालबालिका रहेका छन् । 

सन् २००९ मा उपत्यकामा गरिएको सर्वेक्षणमा हरेक १९ मध्ये १ घरमा घरेलु बाल श्रमिक रहेका र प्रायः होटल, रेस्टुरेन्ट, गलैंचा कारखाना, इँटा भट्टा लगायत क्षेत्रमा बालश्रमिकहरू पाइएको थियो ।   

Published on: 6 June 2014 | Kantipur

Back to list

;