s

'बाबु पैसा चाहिन्न, तिमी घर आऊ’ बेखबर हुनेका परिवारको बिलौना

गोरखा पालुम्टार २ सिँउडेनीका २१ वर्षीय प्रदीप अधिकारीलाई २०६० चैत १५ मा काठमाडौंबाट आएको फोनमा भनियो, 'तिम्रो भिसा आएको छ, अफिसमा फोन गर ।' उनले पायोनियर म्यानपावरका स्थानीय एजेन्टलाई फोन गर्दा पैसा लिएर तुरुन्त काठमाडौं आउनु भनियो । उनले खुसी हुँदै आमाबाबुलाई सुनाए ।

'हामीले चर्को ब्याजमा ऋण खोजेर चैत १५ गते उसलाई काठमाडौं पठायौं ।' बुवा भीमबहादुर अधिकारीले दशकअघिको त्यो क्षण सम्झिँदै भने, 'राम्रोसँग बस्नु, धन कमाएर छिट्टै र्फकन्छु भनेर गएको छोराको अहिलेसम्म कुनै खबर पाउन सकिएको छैन ।' प्रदीप १० वर्षयता बेखबर छन् ।

केही साताअघिको भेटमा भीमबहादुरले सुनाए 'मलेसिया पुगेपछिको १ वर्षसम्म त सम्पर्क गरिरहन्थ्यो तर त्यसपछि ऊ बेपत्ता छ ।' लामो समयदेखि हराइरहेको कान्छो छोराको पीरले वृद्ध बाबुआमा चिन्तित छन् । उनीहरूले छोराको खोजी गरिदिन मलेसियास्थित नेपाली दूतावास लगायतलाई आग्रह गरेका छन् । भीमबहादुर दम्पतीले छोरालाई फर्किन आग्रह गर्दै बिलौना गरे 'बाबु, पैसा चाहिन्नँ, तिमी घर आऊ ।'

७१ वर्षीय भीमबहादुरका जेठा छोरा हरिसमेत डेढ वर्षयता सम्पर्कमा छैनन् । 'काठमाडौं जान्छु भनेर घरबाट हिँडेको हरि देशमै छ कि विदेशमा छ, अहिलेसम्म पत्तो छैन । हामी डाँडापारिको घाम भइसक्यौं । यिनकै पीरले रुँदारुँदा आँसु नि सकिइसक्यो,' उनले भने ।

प्रदीपकै पीरले उनकी आमा ५ वर्षयता 'डिप्रेसन' को बिरामी भएको बताउँछिन् । उनकी ६७ वर्षीया आमाले भक्कानिँदै भनिन्, 'हामीलाई अरू केही चाहिन्न, छोरोको खबर मिले हुन्थ्यो, घर आइदिए हुन्थ्यो ।'

मलेसियामा प्रदीपको २ वर्षअघिदेखि खोजी गरीएको भए पनि उनको अवस्थाबारे हालसम्म कुनै खबर मिलेको छैन । यद्यपि मलेसियास्थित नेपाली दूतावासले प्रदीपको खोजी गरि उद्धारको पहल गर्ने जनाएको छ । 'प्रदीप र उनीजस्तै बेखबर हुनेहरू सबैको जानकारी लिएर प्रहरी, अध्यागमन र नेपाली समुदायको समेत पहलमा खोजी गर्छौं ।' राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने । उनले बेखबर भएकाले खोजी गरिदिनुपर्‍यो भन्दै करिब ९० वटा निवेदन परेको जनाए । हामीले विभिन्न माध्यमबाट खोजी गरी कतिपयलाई फर्काइसकेका पनि छौं । बाँकीको पनि खोजी गरिरहेका छौं ।'

अधिकांशको नेपालमा सम्झौता गरी पठाइएअनुसारकै तलबसुविधा र काम नहुँदा कम्पनी छाडेर भाग्ने र कानुनी हैसियत गुमाउने हुँदा परिवारसित सम्पर्क टुट्ने गरेको दूतावासका अधिकारी बताउँछन् । कतिपय भने आर्थिक समस्याका कारण परिवारसित सम्पर्कमा नरहेका पनि छन् । मलेसियामा हराएका आफन्तबारे जानकारीसहित त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर कार्यालयमा निवेदन दिन त्यस्ता परिवारहरूलाई राजदूत बस्न्यातको सुझाव छ ।

Published on: 2 April 2015 | Kantipur

 

Back to list

;