s

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने प्रतिबद्धता

काठमाडौँ, माघ ४ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मङ्गलबार मन्त्रालयमा पदबहालीपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रममन्त्री अर्यालले नेपालमै रोजगारी सिर्जना गरी बाध्यात्मक रूपमा विदेश जाने अवस्थाको न्यूनीकरण गरेर शून्यमा पु-याउने बताउनुभयो ।

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ । त्यसको निराकरणका लागि मैले काम गर्छु ।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “स्वेच्छाले विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

Published on: 18 January 2023 | Gorkhapatra

Link

Back to list

;