s

वैदेशिक रोजगार संघमा सधैं विवाद

प्रकट कुमार शिशिर

दुई वर्षअघि चैत २४ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव जितेर अध्यक्ष बनेका बलबहादुर तामाङको त्यसयताको समय पदबाट हट्ने र बहाली हुने उपक्रममै बित्यो। चारपटक अध्यक्षबाट हटेका तामाङपछि अहिले हंशराज वाग्ले अध्यक्ष छन्।

तामाङसँग एक भोटले पराजित वाग्लेले अविश्वास प्रस्तावबाट तामाङ हटाएको मुद्दा जिल्ला प्रसासन, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। प्रशासन, अदालतको फैसलापछि पटकपटक नेतृत्व फेरिएको संघमा यस्तो क्रम नयाँ भने होइन।

वैदेशिक रोजगार संघ स्थापनादेखि विवादमुक्त रहन सकेको छैन। २०४९ सालमा स्थापित संघमा संस्थापक अध्यक्ष महेन्द्र शेरचनदेखि त्यसयताका १० जना अध्यक्षले बिनाअवरोध काम गर्न पाएको इतिहास छैन।

संघको विवाद र अवरोध रहेको दुवै अध्यक्ष (बलबहादुर तामाङ र हंशराज वाग्ले) स्विकार गर्छन्। संघको पदको ‘पावर'ले गर्दा एकले अर्कोलाई आरोपप्रत्यारोप गर्दै हटाउने खेलमा दुवै अध्यक्ष लागेका हुन्।

तामाङ भन्छन्, ‘संघमा यो पुरानै रोग हो, जो पदमा हुन्छ त्यसलाई बाहिर हुने साथीले असहयोग गर्दै आइरहेका छन्। पदमा बस्ने व्यक्तिगत आंकाक्षा र हार्नेले जित्नेलाई सहयोग नगर्ने हुँदा संघ सधैं विवादकै भुमरीमा छ।'

संस्थापक अध्यक्ष शेरचनलाई पुष्पलाल महर्जन लगायतले असहयोग गरे। महर्जनलाई फाल्न प्रेमबहादुर गुरुङले संस्थागत रुपमै पहल गरे। आफूलाई हटाएर गुरुङ अध्यक्ष बनेपछि पुष्पलालले बदला लिन निर्मल गुरुङ सहयोग लिए। निर्मल र पुष्पलालको प्रयास सफल पनि भयो। त्यसपछि अध्यक्ष बन्ने पालो आयो निर्मल गुरुङको।

प्रेमबहादुर पनि बदला लिन किन पछि हट्थे र त्यसलगत्तै उनले निर्मल गुरुङलाई समस्यामा पार्न थाले। त्यसपछि अध्यक्ष बनेका भरतसिंह थापालाई तारा भट्टराई र प्रेमबहादुरले असहयोग गरिरहे। त्यसपछिका अध्यक्ष दानबहादुर तामाङले दुईवर्षे कार्यकालमा ३ चोटि अध्यक्ष बने। त्यसबेला प्रेमबहादुर गुरुङ, भरतसिंह थापालगायतले अविश्वासबाट हटाएपछि भएको चुनाव दानबहादुरले नै जिते।

दानबहादुरपछि निर्मल गुरुङ फेरि अध्यक्ष भए। यसपालि उनको बाटोमा पहिलाकै समूह अवरोधको रुपमा उभियो। निर्मलले राम्रोसँग काम गर्न पाएनन्। त्यसपछि एलपी साँवा लिम्बु अध्यक्ष बने। लिम्बुलाई उनैसँग चुनावमा पराजित तिलक रानाभाट समूहले असहयोग गर्‍यो।

यसको बदला लिन रानाभाट अध्यक्ष बन्दा लिम्बु समुहले सुरुदेखि नै असहयोग गर्‍यो। रानाभाटपछि सोमलाल बाटाजु अध्यक्ष बने उनीसँग बलबहादुर तामाङ चुनाव लडेका थिए। बाटाजु तामाङ समूहले असहयोग गरेको बताउँछन्। त्यही बेला प्रेम कटुवालको अर्को संस्थाले पनि संघलाई असहयोग गर्दै आइरहेको बाटाजु बताउँछन्। बाटाजुपछि २०६८ चैत २४ गते अध्यक्ष बनेका बलबहादुरलाई उनीसँग पराजित हंशराज वाग्लले चुनाव सकिएको २ महिनादेखि नै असहयोग र अवरोध गर्न थाले। वाग्लेले तामाङ हटाउन अविश्वास ल्याएर सुरु भएको खेल सर्वोच्चको फैसलाबाट वाग्ले अध्यक्ष बनेपछि तत्कालका लागि टुंगिएको छ।

वाग्ले तामाङले सार्वजनिक रुपमा व्यवसायीको हित विपरीत बोलेको आरोप लगाउँछन्। ‘निर्वाचित भएपछि सार्वजनिक रुपमै व्यवसायीले राम्रो काम गरेनन् भन्दै हिँडेपछि जेठमा विशेष साधारणसभा बोलाउन माग गर्‍यौं,' वाग्लेले भने, ‘तर तामाङले नमानेपछि जिल्ला प्रसासन कार्यालयमा साधारण सभा बोलाउन माग गर्दै निवेदन हालेका हौं।'

पछि तामाङले जिल्ला प्रशासनमा बुझाएको सदस्यहरुको हस्ताक्षर आधिकारिक नभएको भन्दै निवदेन दिए। विवाद लम्बिएपछि गत असोज ६ गते अविश्वासको प्रस्ताव दर्ता गरी ११ गते तामाङलाई हटाउने निर्णय भएको वाग्ले बताउँछन्। त्यसपछि असोज २१ मा भएको चुनावबाट आफू अध्यक्ष बनेको उनले बताए।

यसबीचमा दुवैले अध्यक्षको हैसियतमा काम गर्दै कानुनी लडाइँ पनि जारी राखे। जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको नेतृत्व विवादमा हंसराज वाग्लेको अध्यक्षतालाई वैधानिक भनेपछि तामाङ सर्वोच्च गए। सर्वोच्चको अन्तरिम आदेशपछि तामाङले अध्यक्षको रुपमा काम गरिरहेका थिए। पुनरावेदन र सर्वोच्चमा रिट हालेका तामाङको रिट पुनरावेदनबाट चैत २४ गते खारेज भएपछि वाग्ले अध्यक्ष बनेका छन्। उता सर्वोच्चको अर्को रिट विचाराधीन अवस्थामा छ। सर्वोच्चको पनि फैसला कुरेर बसेको तामाङ बताउँछन्। सर्वोच्चले वैशाख २ गते फैसला सुनाउने तिथि तोकेको पनि उनले जानकारी दिए।

संघमा विवाद बढ्दै गएपछि असन्तुष्ट पक्षले गत असोजमा तामाङलाई हटाएको जनाउँदै सोमलाल बाटाजुको संयोजकत्वमा नयाँ समिति चयन गरेको थियो। अविश्वास प्रस्ताव दर्ता गर्नेमा विमल ढकालसहित पूर्वअध्यक्ष बाटाजु, तिलक रानाभाट र प्रेम कटुवाल लगायत व्यवसायी थिए।

Published on: 9 April 2014 | Nagarik

Back to list

;