s

वैदेशिक रोजगार: स्वास्थ्य परीक्षण होलोग्रामको दुरुपयोग

वैदेशिक रोजगारीमा जाने कामदारलाई स्वास्थ्य व्यवसायीको छाता संगठनले क्षतिपूर्ति दिने भएकाले स्वास्थ्य परीक्षणमा लापरबाही बढ्ने गरेको पाइएको छ।

 स्वास्थ्य व्यवसायीको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले विदेशमा पुगेपछि स्वास्थ्य परीक्षण गर्दा अनुत्तीर्ण भई कामदार फर्किएमा ३० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ। स्वास्थ्य परीक्षण गर्ने मेडिकलले भने ४० हजार दिए पुग्छ। विदेश पुगेका कामदार स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भई फर्किए पनि क्षतिपूर्तिबापतको ३० हजार रुपैयाँ मेडिकल सञ्चालकलाई सीधै फाइदा हुन्छ। यही फाइदा उठाउने लोभमा अधिकांश मेडिकलले स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट दिने गरेका छन्। यसबाट होलोग्रामको व्यापक दुरुपयोग भएको सरकारको ठम्याइ छ।  वैदेशिक रोजगारीमा गएका कामदार सम्बद्ध मुलुकमा गरिने स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण हुनेक्रम बढेपछि मेडिलकले परीक्षण नै नगरी रिपोर्ट बनाइदिने गरेको निष्कर्षमा सरकार पुगेको छ।  फर्किएका कामदारलाई उनीहरू जानआउन लाग्ने खर्चबापत छाता संगठन र मेडिकल व्यवसायी मिलेर अधिकतम ७० हजार रुपैयाँ दिने गरिएको छ। मेडिकल व्यवसायीले फर्किने अधिकांश कामदारलाई छाता संगठनले उपलब्ध गराउने त्यही ३० हजार रुपैयाँ मात्रै क्षतिपूर्तिबापत दिने गरेका छन्। केहीलाई ७० हजार नै दिनुपर्ने अवस्था आएमा पनि मेडिकल व्यवसायीले अधिकतम ४० हजार मात्र तिर्नुपर्छ।  

स्वास्थ्य परीक्षण नै नगरी पठाइएकामध्ये गएको मुलुकमा परीक्षण गर्दा पनि निरोगी भएको प्रमाणित भएमा सबै रकम फाइदा हुने भएकाले मेडिकल संस्थाको लापरबाही बढेको हो। फर्किएका कामदारलाई आफूले पाउने क्षतिपूर्ति रकमबारे यथार्थ जानकारी नहुने भएकाले पनि मेडिकल व्यवसायीले सजिलै ठगी गर्न सक्छन्। वैदेशिक रोजगारीमा गएका कामदार सम्बद्ध मुलुकमा गरिने परीक्षणमा अनुत्तीर्ण हुनेक्रम बढेपछि मेडिलकले परीक्षण नै नगरी रिपोर्ट बनाइदिने गरेको निष्कर्षमा सरकार पुगेको छ। स्वास्थ्य व्यवसायीको छाता संगठनले स्वास्थ्य परीक्षण गरेको प्रमाणित गर्ने काम होलोग्रामले उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य परीक्षणमा लापरबाही गर्ने, कतिपय कामदारलाई परीक्षण नै नगरी स्वास्थ्य परीक्षण गरेको प्रमाणित गर्ने होलोग्राम टाँस्ने गरेको प्रमाण फेला परेपछि सरकारले होलोग्राम टाँस्ने वा नटाँस्ने भनेर निर्णय गर्न यसमा पुन: अध्ययन थालेको छ।  

नक्कली स्वास्थ्य परीक्षण गरेको रिपोर्ट बनाएर होलोग्राम टाँस्ने गरेको आरोप लाग्न थालेपछि नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले होलोग्राम वितरणकार्य नै बन्द गरेको छ। यसअघि एसोसिएसनमा आबद्ध मेडिकल संस्थालाई प्रतिकामदारको दुई सय रुपैयाँ शुल्क लिएर होलोग्राम वितरण गर्ने गरिएकामा गत असोजदेखि यो काम बन्द गरिएको एसोसिएसनले जानकारी दिएको छ। नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले अबदेखि होलोग्राम टाँस्ने काम मेडिकल व्यवसायीले नै गर्ने बताए। 'एसोसिएसनले अब यो काम गर्दैन,' उनले भने। उता, नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध मेडिकल संस्थाहरूलाई पनि होलोग्राम दिन रोकिएको छ।

सरकारले होलोग्राम लिने संस्थाको नवीकरण गरेको छैन। होलोग्राम वितरण गर्ने कि नगर्ने भनेर अध्ययन भइरहेकाले तत्काल यस्ता संस्थाको नवीकरण नगरिएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। मेडिकल व्यवसायीले भने होलोग्राम दिनुपर्ने माग गरेका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले होलोग्रामको प्रभावकारिताबारे श्रम तथा रोजगार मन्त्रालयले अध्ययन गरिरहेको बताए। 'विभागले यसको प्रभावकारिताका बारेमा आफ्नो सुझाव दिइसकेको छ,' उनले भने।  

स्वास्थ्य व्यवसायीको दुईवटा छाता संगठन भएकाले पनि यसमा विवाद बढेको हो। नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले होलोग्राम वितरण नगर्ने भने पनि नेपाल स्वास्थ्य व्यवसायी महासंघले यस्तो निर्णय गरेको छैन। यी दुई समानान्तर संस्था हुन्।

Published on: 15 November 2014 | Annapurna Post

Back to list

;