s

वैदेशिक रोजगारका सबै काम एउटै छानोमुनि

सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै काम एउटै छानो मुनि उपलब्ध गराउन 'लेबर भिलेज' को अवधारणा अघि सारेको छ। यसका लागि राजधानीको ताहाचलमा २० रोपनी जग्गा लिइएको छ। अहिलेको योजना अनुसार काम भए चालू आर्थिक वर्षभित्रै वैदेशिक रोजगारसम्बन्धी सबै काम एकै ठाउँबाट उपलब्ध हुनेछ। बिदेसिने कामदारले सबै सुविधा एकै ठाउँबाट छिटो र सहज तरिकाले पाउन सकून् भनेर सरकारले लेबर भिलेजको योजना ल्याएको हो। यसबाट सरोकारवाला निकायबीच समेत समन्वय गर्न सजिलो हुनेछ।

श्रम तथा रोजगार मन्त्रालयको पहलमा लेबर भिलेजको अवधारणा अघि बढाउन लागिएको हो। अब वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगारका शाखा कार्यालय सहित अन्य सरोकारवाला निकायका कार्यालय एकै ठाउँमा राखिनेछ। लेबर भिलेजको अवधारणा अघि बढाउने क्रममा वैदेशिक रोजगार विभागले एक साताभित्रै मलेसिया र साउदी अरबको शाखा सोही ठाउँमा लैजाने भएको छ। एक सातापछि मलेसिया र साउदी अरबमा जाने कामदारको सबै काम ताहाचल स्थित लेबर भिलेजबाटै गरिनेछ।

यसैगरी कतारको काम पनि त्यहींबाट गरिँदैछ। सबैभन्दा बढी कामदार जाने मलेसिया, साउदी अरब र कतारको काम पहिलोपल्ट लेबर भिलेजबाट गर्न लागिएको हो। लेबर भिलेज बनाउन लागिएको ठाउँमा पुराना घरसमेत भएकाले त्यसलाई मर्मत गरी तत्काल मलेसिया र साउदी अरब जाने कामदारसम्बन्धी काम गर्न लागिएको हो। थप मर्मतसम्भारका काम गरी विभाग, बोर्ड र काठमाडौं शाखा कार्यालयसमेत क्रमश: सारिने सरकारको तयारी छ।

वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले सबै काम एकै ठाउँबाट उपलब्ध गराउने योजनाबमोजिम लेबर भिलेज अवधारणा अघि सारिएको जानकारी दिए। 'नयाँ श्रम तथा रोजगारमन्त्री आएपछि यो अवधारणा ल्याइएको हो', उनले भने, 'अहिलेको योजनाअनुसार काम भएमा चालू आवभित्रै वैदेशिक रोजगारसम्बन्धी सबै काम लेबर भिलेजबाटै सम्पन्न हुनेछ।'

हाल वैदेशिक रोजगार विभागको कार्यालय तीनकुने गैरीगाउँमा रहेको छ भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यालय अनामनगरमा छ। यसबाट कामदारलाई एउटै काम गर्न पनि विभिन्न ठाउँमा धाउनुपर्ने समस्या छ। विभागले बिदेसिने कामदारको श्रम स्वीकृति दिने काम गर्छ। प्रवद्र्धन बोर्डले कामदारसँग प्रवद्र्धन कोषका लागि रकम लिने, विदेश गएका कामदारको हकहितमा काम गर्ने, कामदारको अंगभंग वा मृत्यु भएमा अध्ययन गरी क्षतिपूर्ति उपलब्ध गराउने लगायतका काम गर्छ।

यसअघि वैदेशिक रोजगार विभागले कामको चाप अत्यधिक बढेपछि शाखा कार्यालय स्थापना गरेर काम विकेन्द्रित गर्ने रणनीति बनाएको थियो। अहिले लेबर भिलेज अवधारणा अघि सारिएपछि विभागको काम विकेन्द्रित गरी शाखा कार्यालयमार्फत गरिनेछ। तर, शाखाहरू भने सोही भिलेजमै राखिने सम्बद्ध अधिकारीले जानकारी दिएका छन्। सरकारी ट्रस्टकै जग्गा लिएर श्रम तथा रोजगार मन्त्रालयले लेबर भिलेज बनाउन लागेको हो।

निजी भवन भाडामा लिने गरिएकाले वैदेशिक रोजगार विभागले यसअघि पटकपटक कार्यालय सार्दै आएको छ। कार्यालय बारम्बार सारिँंदा सेवाग्राही मर्कामा पर्ने गरेका छन्। दैनिक १५ सयदेखि २५ सय जनाले श्रम स्वीकृति लिने भएकाले कार्यालयमा निकै भीडभाड हुन्छ। पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका लागि बिहान सात बजेदेखि साँझसम्म सेवाग्राही लाइनमा बस्ने गर्छन्। फराकिलो क्षेत्र भएका ठाउँमा मात्र विभागको काम सञ्चालन गर्नुपर्ने हुन्छ।

लेबर भिलेजमा पर्याप्त जग्गा भएकाले सेवा प्रवाहमा सहज हुने विभागका अधिकारीको विश्वास छ। वैदेशिक रोजगारका काम सहज र वैज्ञानिकीकरण गर्न अनलाइन प्रणाली विकास गर्न विज्ञले सुझाउ दिए पनि अहिलेसम्म यो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन। हाल दैनिक १५ सय जना काम गर्न विदेश जाने गरेका छन्। अहिलेसम्म सरकारी अनुमति लिएरै ३१ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्।

Published on : 1 April 2014 | Annapurna Post

Back to list

;