s

वैदेशिक रोजगार संघबाट १० जनाको संयुक्त राजीनामा

सरकारले रोकेको विवादस्पद बायोमेटि्रक लागू गराउन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले लागेको भन्दै संघका पदाधिकारी र कार्यसमिति सदस्य गरी १० जनाले बिहीबार संयुक्त राजीनामा गरेका छन्। यससँगै संघमा विवाद चुलिएको छ।

सरकारले रोकिसकेको बायोमेटि्रक प्रणाली लागू गराउन लबिङ गरेको र अध्यक्षको कार्यशैली स्वार्थपूर्ण र व्यवसायीको हितविपरीत भएकोले पद त्यागेको संयुक्त राजीनामा पत्रमा उल्लेख छ। 

वाग्ले बायोमेटि्रकको समर्थन गर्दै गत साता मलेसियामा बेस्टिनेटले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मलेनमा उनले बायोमेटि्रकलाई सीमित व्यवसायीले मात्र विरोध गरेको भन्दै त्यसको बचाउ गरेका थिए।

बिहीबार संघको कार्यालयमा राजीनामा दर्ता गर्नेमा द्वितीय उपाध्यक्ष कुमुद खनाल, तृतीय उपाध्यक्ष भुवनसिंह गुरुङ, सचिव विनोदजंग केसी, कोषाध्यक्ष शारदा न्यौपाने, सदस्यहरु थिरमणि पौडेल, माधुरी पौडेल, एमुन्डा गिरी, दुर्गाबहादुर लिम्बु, टेकराज ज्ञवाली, राजेश शंकर विक, मोहनकुमार ढुंगेल छन्। यादव लामिछाने, रामराज अधिकारीको स्वामित्वमा रहेको म्यानपावर उनीहरुले बिक्री गरेका कारण उनीहरुको सदस्यता संघको विधानबमोजिम रद्द भएको जनाइएको छ। तृतीय उपाध्यक्ष गुरुङ र सचिव विनोदजंग केसी देशबाहिर भएकाले उनीहरुले इमेलमार्फत राजीनामा दिएका छन्। कोषाध्यक्ष न्यौपानेले २ दिनअघि राजीनामा दिएकी थिइन्।

संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरे, महासचिव कमल तामाङ र सदस्य दीपक सिन्जालीले भने राजीनामा गरेका छैनन्। राजीनामा गरेका द्वितीय उपाध्यक्ष खनालले अध्यक्ष वाग्लेले व्यवसायीको हितविपरीत मनपरी निर्णय गर्दै हिँडेको र व्यक्तिगत स्वार्थ लिन बायोमेटि्रक लागू गराउन लबिङ गरेका कारण सामूहिक राजीनामा गरेको बताए। 

अहिले भिसा प्रोसेसिङका लागि भन्दै भिएलएनले बढी रकम असुलिरहेको, बायोमेटि्रक चलाउन चलखेल भएको, फोसा र टे्रनिङ सेन्टर आउने तयारी भएको बताउँदै खनालले चौतर्फी रुपमा व्यवसायीलाई घेराबन्दी भएको बेला अध्यक्ष वाग्ले व्यक्तिगत स्वार्थमा हिँडेकाले राजीनामा गर्नुपर्ने अवस्था आएको बताए।

खनाल दुईजनाको सदस्यता खारेज भएको र अन्यले राजीनामा गर्दा कार्यसमितिमा रिक्त संख्या १३ पुगेकाले विधानबमोजिम कार्यसमिति स्वतः भंग भएको बताउँछन्। 

बायोमेटि्रक प्रणालीको जिम्मा पाएको मलेसियन कम्पनी बेस्टिनेटले गत बुधबार मलेसियामा पत्रकार सम्मेलन गरी बायोमेटि्रक अहिले परीक्षणमा रहेकाले तत्काल रोकिएको जानकारी दिएको थियो। सोही पत्रकार सम्मेलनमा अध्यक्ष वाग्लेले केही व्यवसायीले मात्र बायोमेटि्रकमा विरोध गरेको र कामदारको हितमा रहेको प्रतिक्रिया दिएका थिए। 

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम तथा रोजगार मन्त्रालयले बायोमेटि्रक लागू नगराउन स्वास्थ्य व्यवसायी महासंघलाई पत्राचार गरिसकेको बेला वाग्लेले सरकारको निर्देशन र नियमविपरीत मलेसियामा बायोमेटि्रक लागू गर्नुपर्ने अभिव्यक्ति दिएपछि संघका पदाधिकारीले राजीनामा दिएको खनालले बताए। ‘पटकपटक चेतावनी दिएपछि पनि अध्यक्ष नसुधि्रएकाले राजीनामाको विकल्प रहेन,' उनले भने।

Published on: 13 February 2015 | Nagarik

 

Back to list

;