s

वैदेशिक रोजगारीमा मृत्यु र अंगभंग भएकाको क्षतिपूर्ति दोब्बर पारियो

वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएका कामदारले पाउने क्षतिपूर्ति रकम बढाएर दोब्बर बनाइएको छ। विदेशमा मरेका कामदारका आफन्त तथा घाइतेले क्षतिपूर्ति रकम अत्यन्त न्यून भएको गुनासो गर्न थालेपछि सरकारले दोब्बर बनाउने निर्णय बिहीबार गरेको हो। 

अब सरकारको अनुमति लिई वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा त्यस्ता कामदारका परिवारले तीन लाख रुपैयाँ आर्थिक सहायता पाउनेछन्। यो निर्णय हुनुअघि एक लाख ५० हजार रुपैयाँ दिने गरिएको थियो। यस्तै अंगभंग भएका कामदारले पनि अधिकतम तीन लाख रुपैयाँसम्म नै क्षतिपूर्ति पाउने भएका छन्। यसअघि अंगभंग भएका कामदारले अधिकतम एक लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने गरेका थिए। अंगभंग हुँदा पाउने रकम भने शारीरिक क्षतिका आधारमा फरकफरक किमिसको रहेको छ। 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक टीका भण्डारीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार तथा अंगभंग भएका कामदारलाई उपलब्ध गराइने आर्थिक सहायता रकम दोब्बर बढाउने निर्णय गरिएको जानकारी दिए। 

सरकारले बिदेसिएका कामदारलाई आर्थिक सहायता उपलब्ध गराउन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत कल्याणकारी कोष खडा गरेको छ विदेश जाने कामदारले जनही एक हजार रुपैयाँ अनिवार्य रूपमा यो कोषमा जम्मा गर्नुपर्छ। कोषमा जम्मा भएको रकमबाट सरकारले मृत्यु भएकाका परिवार तथा अंगभंग हुने कामदारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउँछ।

'मन्त्रिपरिषद्को बिहीबारको निर्णयबाट क्षतिपूर्ति रकम बढाएर दोब्बर बनाइएको हो', उनले भने। अंगभंग भएका व्यक्ति र मरेका कामदारका परिवारले सरकारले दिने आर्थिक सहायता रकम ज्यादै कम भएको गुनासो बारम्बार गरेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रकम बढाउन श्रम तथा रोजगार मन्त्रालयमा प्रस्ताव लगेको थियो। सोही प्रस्ताव मन्त्रालयले आवश्यक अध्ययन गरी मन्त्रिपरिषद्बाट पारित गराएको हो। क्षतिपूर्ति रकम बढाउने निर्णय गरिएकाले घाइते कामदार तथा मृत्यु भएकाका परिवारलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ। 

बढ्दो महँगीका कारण सहयोग रकम बढाउने निर्णय गर्नुपरेको निर्देशक भण्डारीले जानकारी दिए। सरकारले बिदेसिएका कामदारलाई आर्थिक सहायता उपलब्ध गराउन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत कल्याणकारी कोष खडा गरेको छ। विदेश जाने कामदारले जनही एक हजार रुपैयाँ अनिवार्य रूपमा यो कोषमा जम्मा गर्नुपर्छ। कोषमा जम्मा भएको रकमबाट सरकारले मृत्यु भएकाका परिवार तथा अंगभंग हुने कामदारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउँछ। सरकारले वैधानिक रूपमा गएका कामदारलाई मात्र क्षतिपूर्ति रकम दिने गरेको छ। सरकारी अनुमति नलिई वा गैरकानुनी ढंगले बिदेसिएका कामदारले भने क्षतिपूर्ति वा आर्थिक सहायता पाउँदैनन्। 

हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३५ लाख नाघेको छ। अवैध तरिकाले जानेको संख्या पनि २० लाख हाराहारीमा रहेको अनुमान छ। दैनिक औसतमा १५ सय कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्। 

क्षतिपूर्ति रकम पाउन के गर्नुपर्छ

क्षतिपूर्ति रकम पाउन मृत्यु भएका कामदारको हकमा सम्बद्ध व्यक्तिको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, मृत्यु प्रमाणपत्र, हकवालाको नाता प्रमाणित भएको प्रमाण, सम्बद्ध मुलुकमा रहेको दूतावासको सिफारिसपत्र लगायतका कागजात पेस गर्नुपर्ने व्यवस्था छ। कामदारको मृत्यु भएको मितिले एक वर्षभित्र आर्थिक सहायता पाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिइसक्नुपर्ने हुन्छ। करार अवधिभित्र मृत्यु भएकाले मात्र क्षतिपूर्ति पाउँछन्। 

यसैगरी अंगभंग भएकाहरूले पनि क्षतिपूर्ति रकम पाउन सम्बद्ध कामदारको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकमा उपचार गराएको कागजपत्र, सम्बन्धित देशमा रहेको दूतावासको सिफारिसपत्र, कामदारको नागरिकता, अंगभंग हुँदाको अवस्थाको फोटो, नेपाल फर्किएको हवाई टिकटलगायतका कागजपत्र बोर्डमा पेस गर्नुपर्छ। 

Published on: 18 October 2014 | Annapurna Post

Back to list

;