s

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्।

लाम जानेको मात्र छैन। फर्कनेको पनि छ। कमाइ समेटिएको सुटकेस होइन, विदेशका चोटहरू बोकेर फर्कने नेपाली चेली थुप्रै छन्। विभिन्न खाले हिंसाको घानमा परेपछि मानसिक सन्तुलन गुमाएर स्वदेश फर्किनेहरू पनि कम छैनन्। सजना बराल प्रकटकुमार शिशिरले केही यस्ता नेपाली चेलीका आँशुका कथा खोजेका छन्, जो विदेशलाई नर्क या राक्षसको देश भन्छन्। 

समाचार सार 

सास पसेपछि बच्चा फाल्न मिल्दैन रै'छ। जन्माउनैपर्‍यो। छोरो जन्मियो। कुन चाहिँको अंश हो, थाहा छैन। आफन्तहरू ‘यो मुसल्टेको सन्तानलाई खोलामा बगाइदे' भन्छन्। विदेशी त राक्षस भए, भए, आफ्नाले समेत राक्षसी पारा देखाउँदा पासो लागेर मरौँ जस्तो लाग्छ।' 

‘मालिक्नी घरमा नहुँदा मालिकले मलाई समात्थ्यो। जहाँ भेट्यो त्यहीँ लडाएर बलात्कार गर्थ्यो। जति चिच्याए पनि छोड्दैनथ्यो। दुई महिनासम्म महिनावारी नभएपछि मैले सबै कुरा मालिक्नीलाई सुनाइदिएँ। उसले ‘विष खाएर मर्' भनी।'

पहिले–पहिले महिलाहरू इन्डियामा बेचिन्थे। अहिले इन्डिया हुँदै खाडी मुलुक र अफ्रिकामा बेचिन्छन्। वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु महिलाको हकमा बेचिइनुसरह हो : अच्युतकुमार नेपाल, सूचना अधिकृत, माइती नेपाल

लेखपढ गर्न नजान्ने, सोझासाझा महिलालाई जताबाट कमिसन आउँछ, दलालले उतै पठाइदिन्छन्। प्रतिबन्धित देश होस् वा प्रतिबन्धित काम, दलाललाई के मतलब? : सम्मी गुरुङ, समिदा वुमेन डेभलपमेन्ट फोरम

मालिकहरूले दुई तलाबाट खसालिदिने, कोर्राले हिर्काउने, भित्तामा बजार्ने, आँखा फुटाइदिने, घाँटी अठ्याएर मार्न खोज्ने, बलात्कार गर्ने आदि गर्दा रहेछन्। कतिले त डराएर यस्तो कुरा भन्दै–भन्दैनन्। महिनौँसम्म मौन बस्छन्। डर हराउँदै गएपछि मुख खोल्छन् : मञ्जु गुरुङ, पौरखी नेपाल

नर्क भोग्नेहरू

बहराइनबाट फर्किंदै गरेकी कार्तोक शेर्पा प्लेनभित्रै छटपटाइन्। एयरपोर्टमा झर्नासाथ उनलाई सिनामंगलको केएमसी हस्पिटलतिर दौडाइयो। हस्पिटल पुर्‍याएको दुई घण्टापछि उनले छोरी जन्माइन्। गोरी आमाकी काली न काली छोरी देखेर डाक्टरहरू नै छक्क परे। 'बाउकै रङ आएछ छोरीमा,' सोलुखुम्बु, सल्यानकी ३४ वर्षीया कार्तोक भन्छिन्, 'बाउ त के भन्नु त्यो राक्षसलाई! तर, त्यसकै रगत हो मेरी छोरी।' उनले घर मालिकको ज्वाइँबाट बलात्कृत भई गर्भवती भएको र घरबाहिर जाने अनुमति नपाएकाले 'एबोर्सन' गर्न नमिलेको बताइन्। 'यस्ता केसहरू बेलाबेलामा आइरहन्छन् हामीकहाँ,' विदेशमा दुःख पाइरहेका महिलाहरूको उद्धार गर्ने संस्था पौरखी नेपालकी मञ्जु गुरुङले भनिन्।

झापा, राजगढकी २३ वर्षीया सुशीला रिजालको पाँच वर्षे छोरो छ। उनलाई छोराले 'ड्याडी खोइ?' भनेर सोधिरहन्छ। भन्छिन्, 'उसको बाउलाई म चिन्दिनँ। चिनेर पनि के काम? तर, यो कुरा मेरो सानो छोरालाई कसरी बुझाऊँ?' छ वर्षअघि उनी सामूहिक बलात्कारको शिकार भइन्, लेबनानमा। उनीमाथि घर मालिकका छोरा र उसका साथीहरू खनिए। 'रातभरि जथाभावी गर्थे,' सुशीला भन्छिन्, 'म रोइकराइ गर्थें र बेहोश हुन्थेँ। तर, उनीहरू पानी छ्यापेर मलाई उठाउँथे। र, त्यस्तो काम गरिरहन्थे। हरेक रात मैले यस्तो नर्क भोग्नुपर्थ्यो।

भोलिपल्ट बिहानै उठेर घर सफा गर्ने, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, आइरन गर्ने, फूलमा पानी हाल्ने आदि काम गर्नुपर्थ्यो,' उनले भने । 'नत्र मालिक्नी रिसाएर उत्पातै गर्थी,' सुशीला सम्झिन्छिन, 'काम छिसिक्क बिग्रिनु हुन्थेन, भुत्लाइहाल्थी। दिनभरि कुटाइ खायो, रातभरि त्यस्तो सह्यो! आठ महिना त कुकुरकै जिन्दगी बिताएँ।'

शारीरिक र मानसिक रूपमा विक्षिप्त भएपछि सुशीलालाई नेपाल फर्काइयो। आठ महिनाको गर्भसहित उनी स्वदेश आइपुगिन्। 'सास पसेपछि बच्चा फाल्न मिल्दैन रै'छ,' उनी भन्छिन्, 'जन्माउनैपर्‍यो। छोरो जन्मियो। कुन चाहिँको अंश हो, थाहा छैन। आफन्तहरू 'यो मुसल्टेको सन्तानलाई खोलामा बगाइदे' भन्छन्। विदेशी त राक्षस भए, भए, आफ्नाले समेत राक्षसी पारा देखाउँदा पासो लागेर मरौँ जस्तो लाग्छ।'

सुनसरीकी सीता विष्टको कथा पनि उस्तै करुण छ। घरेलु श्रमिकका रूपमा कुवेत पुगेकी थिइन् उनी। बलात्कारमा परिन्। 'मालिक्नी घरमा नहुँदा मालिकले मलाई समात्थ्यो,' उनी भन्छिन्, 'जहाँ भेट्यो त्यहीँ लडाएर बलात्कार गर्थ्यो। जति चिच्याए पनि छोड्दैनथ्यो। दुई महिनासम्म महिनावारी नभएपछि मैले सबै कुरा मालिक्नीलाई सुनाइदिएँ। उसले 'विष खाएर मर्' भनी।' यसपछि, सीता घर छोडेर भागिन्। पुलिसले समातेको र पासपोर्ट नभएकाले एक महिना जेल परेको उनी बताउँछिन्।

जहाँ पनि नेपाली महिला

पैसा कमाउने प्रलोभनमा खाडी मुलुक पुग्ने अधिकांश महिला तथा युवती विभिन्न हिंसाका शिकार बन्ने गरेका छन्। दलालको जालमा परेर उनीहरू बेचिने गरेको माइती नेपालका सूचना अधिकृत अच्युतकुमार नेपाल बताउँछन्। 'पहिले–पहिले महिलाहरू इन्डियामा बेचिन्थे,' उनी भन्छन्, 'अहिले इन्डिया हुँदै खाडी मुलुक र अफ्रिकामा बेचिन्छन्। वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानु महिलाको हकमा बेचिइनुसरह हो।'

कुवेत, यूएई, जोर्डन, बहराइन, ओमन, कतार, साउदी अरब र लेबनान– यी देश नेपाली महिला कामदारका लागि आकर्षणका केन्द्र बनेका छन्। सरकारले घरलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने निर्णय गरेको छ। लिबिया र इराक नेपाली कामदारका लागि प्रतिबन्धित नै छन्। तर, नेपाली महिला भने घरेलु कामका लागि प्रतिबन्धित देशमा समेत पुग्ने गरेको समिदा वुमेन डेभलपमेन्ट फोरमकी सम्मी गुरुङ बताउँछिन्। भन्छिन्, 'लेखपढ गर्न नजान्ने, सोझासाझा महिलालाई जताबाट कमिसन आउँछ, दलालले उतै पठाइदिन्छन्। प्रतिबन्धित देश वा प्रतिबन्धित काममै किन नहोस्।'

केही महिला अफ्रिकी देशमा समेत 'सप्लाई' हुने गरेको माइती नेपालका अच्युतकुमारले बताउँछन्। भन्छन्, 'पासपोर्टमा 'आर्टिस्ट' लेखेर महिलालाई युगान्डा पुर्‍याइँदो रहेछ। त्यहाँ डान्स बार, मसाज सेन्टरलगायत ठाउँमा काम गर्न लगाइँदो रहेछ। त्यहाँबाट 'रेस्क्यू' गरिएका महिलालाई 'कुन देश गएर आएको?' भन्दा 'सूर्यको देश' भन्छन्।' प्रतिबन्धित देशबाट पनि 'नेपाली महिलाको उद्धार गर्नुपर्‍यो' भन्दै माइती नेपाललाई थुप्रै इमेल र चिठी आउने गरेको उनी बताउँछन्।

मानसिक रोगले ग्रस्त

सिन्धुपाल्चोककी १६ वर्षीया सोनम तामाङ दुई वर्षका लागि ओमन उडेकी थिइन्। तर, दुई महिनामै फर्किन्। 'खै किन फर्काए, थाहा छैन,' उनी भन्छिन्, 'काम र भाषा नजानेर होला।' पौरखी नेपालको सेफ हाउसमा भेटिएकी उनी निकै थलिएकी जस्ती देखिन्थिन्। स्पष्ट कुरा नगर्ने, टोलाउने र बेलाबेला रुन खोज्थिन्। मामाले १५ हजार रुपैयाँमा ओमन उडाएको, उता गएर थुप्रै घरमा काम गरेको तर सुको पैसा हात नलागेको उनी बताउँथिन्।

'पासपोर्टमा २६ वर्ष लेखेर ओमन गएकी रहिछन् सोनम,' सेफ हाउसकी सुभद्रा राणाले उनको वास्तविकता सुनाइन्, 'काम नजानेर एउटा घरबाट अर्को घरमा सारिराखेछन्। कुटपिट गरेछन्। बलात्कार पनि गरेछन् क्यारे। मानसिक रूपमै बिरामी लाग्छिन् उनी।'

सोनमलाई नेपाल आएको समेत पत्तो थिएन। भन्छिन्, 'एयरपोर्टमा झर्दा ओमनै होला भन्ठानेकी थिएँ।' एयरपोर्टबाट सीधै सेफ हाउस ल्याइएकी उनी बीचमा घर गइन्। 'तर, गाउँमा राख्न नसकेर उनको बुवाले फेरि यहीँ ल्याए,' राणाले भनिन्, 'आत्महत्या गर्न खोजिछन्। यहाँ आएर अलि सुध्रिएको छ अवस्था।'

माइती नेपालले उद्धार गरेका महिला तथा युवती अंगभंग भएका, रोगव्याधि लागेका र मानसिक स्थिति बिग्रिएका हुने गरेको अच्युतकुमार बताउँछन्। 'कोही–कोही त यहाँ आइसकेपछि पनि 'नेपाल लगिदेऊ' भन्दै रुन्छन्,' उनले सुनाए, 'पाँच/छ दिनपछि मात्रै होशमा आउँछन्। र, आफ्नो नाम, थर, ठेगाना बताउँछन्।' माइती नेपालले सन् २००९ मा गरेको अध्ययनले खाडी देशबाट फर्किने ५७ प्रतिशत महिला मानसिक रोगी हुने देखाएको थियो। '३३ प्रतिशत चाहिँ ठीकै हुँदा रहेछन्,' अच्युतकुमार भन्छन्, 'चार प्रतिशतलाई टीबी लाग्ने र चार प्रतिशत गर्भवती हुने गरेको पाइयो। अहिलेसम्म यो आँकडा बढिसक्यो होला।'

महिलाहरूको शारीरिक अवस्था नाजुक हुनु र मानसिक स्थिति गुम्नुको प्रमुख कारण सामूहिक बलात्कार र कुटपिट भएको पौरखी नेपालकी मञ्जु गुरुङ बताउँछिन्। 'यतिसम्म पीडा खेपेर आएका हुन्छन् कि उनीहरूका कुरा सुन्दा नै आङ सिरिङ्ङ हुन्छ,' उनी भन्छिन्, 'मालिकहरूले दुई तलाबाट खसालिदिने, कोर्राले हिर्काउने, भित्तामा बजार्ने, आँखा फुटाइदिने, घाँटी अठ्याएर मार्न खोज्ने, दैनिक बलात्कार गर्ने आदि गर्दा रहेछन्। कतिले त डराएर यस्तो कुरा भन्दै–भन्दैनन्। महिनौँसम्म मौन बस्छन्। डर हराउँदै गएपछि मुख खोल्छन्।'

'राक्षसको देश गएछु'

कपिलवस्तुकी राधिका सोरेन दुई वर्ष कुवेतमा बसिन्। गाउँकै जेठाजु पर्नेले ५० हजार रुपैयाँ लिएर भारत हुँदै कुवेत पुर्‍याएका थिए उनलाई। 'महिनाको ४० हजार रुपैयाँ कमाइ हुन्छ भन्हुन्थ्यो दाइले,' उनी भन्छिन्, 'तर, चार सय पनि दिएनन्। घर फर्किंदा रित्तै आएँ।'

उताको भाषा नजानेकाले अचाक्ली दुःख झेल्नुपरेको राधिकाको अनुभव छ। भन्छिन्, 'उनीहरू एक थोक भन्थे, आफू अर्को थोक गर्थें। अह्राएको काम नगरेपछि भर्‍याङबाट गुल्ट्याइदिने, लात्ताले भकुर्ने गर्थे। युरिक एसिड भएर खुट्टा सुन्निएको बेलासमेत आराम गर्न दिँदैन थिए। अस्पताल लगिदेऊ भनेर कति बिन्ती गरेँ। तर, केही सीप लागेन। न मेरो तलब दिए। विदेशका मान्छे मुटु नभएका राक्षसजस्ता हुँदा रैछन्। म राक्षसको देश गइछु।'

विदेश गएर दुःख पाउने महिला तथा युवतीको हालत 'मानसिक सन्तुलन गुमाएका'को जस्तो हुने मञ्जु बताउँछिन्। भन्छिन्, 'उनीहरू चेतनाशून्य जस्तो अवस्थामा फर्किएका हुन्छन्।'

किन जान्छन् महिला विदेश?

विदेशमा टन्न पैसा कमाइन्छ भन्ने भ्रम छ, धेरै नेपालीलाई। दुईचार पैसा कमाएर जीवनलाई अलिकति सहज बनाउन महिलाहरू विदेश जान्छन्। 'स्वदेशमा अवसर नभएकाले महिलाहरू विदेश जान्छन्,' पौरखी नेपालकी मञ्जुको बुझाइ छ, 'छोराछोरी पढाउन र घर खर्च धान्न नसकेपछि विदेश नगई सुखै छैन। यहीँ काम पाइने भए आफ्ना लालाबाला छोडेर किन विदेश जान्थे महिलाहरू?'

कपिलवस्तुकी राधिका सोरेन पनि छोराछोरीको पढाइ खर्च जुटाउनकै लागि विदेश गएको बताउँछिन्। दुई छोरा, एक छोरीकी आमा उनी 'केटाकेटी नांगै हिँडेको देख्न नसकेर विदेश गएको' भन्दै थिइन्। 'श्रीमान् जँड्याहा छ,' उनी भन्छिन्, 'मलाई कुटेर सातु बनाउँथ्यो। छोराछोरी रुन–कराउन थाल्थे। घरमा चामलको गेडो हुँदैनथ्यो।' यस्तो दुर्दशाबाट मुक्त हुन छोराछोरीलाई माइतीको जिम्मा लगाएर कुवेत हिँडेकी थिइन् उनी।

सिन्धुपाल्चोककी सोनम तामाङ मामा (दलाल) को लहैलहैमा लागेर लेबनान पुगेकी थिइन्। 'आप्पा, आमाले नजाऊ भन्दै हुनुहुन्थ्यो,' उनी भन्छिन्, 'म आफैँ जिद्दी गरेर काठमाडौँ आएँ। मामाले दुबई पुर्‍याइदिन्छु भनेर लेबनान पठाउनुभएछ।' 

सोमवार काठमाडौँको कान्तिपथस्थित राहदानी विभागबाट एमआरपी झिकेर बाहिरिँदै गरेकी धादिङकी ३७ वर्षीया सविता पराजुली 'धेरै पैसा कमाउन दुबई जान आँटेको' बताउँदै थिइन्। विदेश त नर्कजस्तो हुन्छ रे नि भन्ने प्रश्नमा उनले आफ्नै पारामा भनिन्, 'नेपाल चाहिँ कौन सा स्वर्ग जस्तो छ र?'

चेतबाबा

खाडी मुलुकबाट फर्किएका अधिकांश महिला कामदार आइन्दा विदेश नजाने कसम खान्छन्। 'काठामाडौँमै बसेर बालुवा चाल्छु बरु,' सुनसरी (हाल काठमाडौँ) की सीता विष्ट भन्छिन्, 'तर, मरिगए विदेश जान्नँ।' उनी अरू महिलालाई पनि देश नछोड्न सल्लाह दिन्छिन्। 'विदेश पुगेर नेपाल फर्किनु भनेको साह्रै गाह्रो काम हो,' उनी भन्छिन्।

कपिलवस्तुकी राधिकाले पनि सिलाइबुनाइको तालिम लिएर अब गाउँमै 'टेलर' खोल्ने योजना बनाएकी छिन्। 'विदेशदेखि काबु भएँ,' उनले सुस्केरा हालिन्, 'विदेश त भन्नुमात्रै रहेछ। कुकुरले नपा'को दुःख पाइन्छ त्यहाँ।' आइरन, भ्याक्युम क्लिनर, वासिङ मेसिनजस्ता सामान चलाउन नजानेकाले राधिकाका हात, पाखुरा, नलीखुट्टा आदिमा करेन्टले डामेका थिए। 'विदेश नग'को भए यो सब हुँदैनथ्यो,' उनले हातको दाग देखाउँदै भनिन्, 'रोग पनि लाग्दैनथ्यो होला। बुद्धि बिग्रिएर विदेश गएँ।'

नेपाल आएपछिको तनाव

विदेशमा अत्याचार र दुःख सहेर फर्किएका महिला तथा युवतीलाई नेपालमा पनि बस्न–खान सजिलो छैन। 'समाज र परिवारले मुखमै थुक्छ,' सोलुखुम्बुकी कार्तोक शेर्पा भन्छिन्, 'मजस्तो बच्चासहित आउनेलाई त झन् यति हेला गर्छन् कि उतै मरेको भए हुन्थ्यो जस्तो लाग्छ। '

एकल महिलालाई अभिमुखीकरण तालिम दिने संस्था समिदाकी सम्मी गुरुङका अनुसार विदेशमा दुःख पाएर फर्कने (यौन शोषणमा परेकालाई) महिला घरको न घाटको अवस्थामा पुग्छन्। 'उता अत्याचार सहेर आएकी विवाहित महिलालाई न माइतीले संरक्षण दिन्छन्, न घरकाले,' उनले भनिन्, 'श्रीमान्ले पनि छोडिदिन्छ। उनीहरू बिचल्लीमा पर्छन्।'

कमिसनका लागि बेचिन्छन् चेली

साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान आदिमा रहेका घरेलु महिला कामदारको यकिन तथ्यांक कतै छैन। उनीहरू अवैधानिक रूपले जाने भएकाले संख्या थाहा पाउन मुस्किल हुने सम्बन्धित निकाय बताउँछन्। 'फेरि, ती देशका श्रम कानुले घरेलु कामलाई समट्दैनन्,' वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भट्टराई भन्छन्, 'यसकारण खाडी मुलुकमा महिला कामदारलाई निकै चुनौती छ।'

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६३/२०६४ देखि २०६८/२०६९ सम्म ५७ हजार ९९ महिलाहरू कामदारका रूपमा विदेशमा थिए। चालु आर्थिक वर्षको चैतसम्ममा २२ हजार ६ सय ४४ महिला विदेशिएका छन्। सरकारले ३० वर्ष नपुगेका महिलालाई घरेलु कामदारको रूपमा विदेश पठाउन रोक लगाएको छ। तर, अधिकांश महिला तथा युवती उमेर बढाएर भारतको बाटो हुँदै खाडीमा पुग्ने गरेका छन्। घरेलु कामदार अभिमुखीकरण तालिम दिने कतिपय संस्थाले नै महिलालाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउने गरेको भट्टराई बताउँछन्।

'नेपालबाट कामदार पठाएबापत प्रतिकामदार दुई हजार डलरसम्म कमिसन पाउने भएकाले तालिम दिने संस्थाहरूले नै महिलालाई भारत हुँदै खाडी पठाउने गरेका छन्,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले भन्छन्। तर, तालिम दिने संस्थाहरू भने यस आरोपलाई नकार्छन्। 'कामदार पठाउने काम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा म्यानपवारकै हातमा हुन्छ,' समीक्षा ओरिएन्टेसन सेन्टरकी सीता देवकोटा भन्छिन्, 'हामी त उनीहरूले उहाँ पुगेर दुःख नपाऊन् भनेर तालिम दिने मात्रै हो।' (फिचरमा उल्लेखित पीडित महिलाका नाम गोपनीयताको कारण परिवर्तन गरिएका छन्। )

Published on: 30 May 2014 | Nagarik

Back to list

;