s

वैदेशिक रोजगारको बाध्यता

नेपाली महिलाहरूको वैदेशिक रोजगारीमा जाने क्रममा अहिले तीव्र वृद्धि भएको देखिन्छ । विशेषगरी अहिले वैदेशिक रोजगारीका लागि नेपाली महिलाको खाडी मुलुक जाने क्रम बढ्दै गइरहेको छ । खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि प्रशस्त अवसर हुनाले महिलाहरूको त्यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ । नेपाली महिलाको अहिले वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकहरूमा पनि परिवर्तन भएको छ । अहिले जाने मुलुकहरूमा प्रमुुख हुन्- कुवेत, लेबनान, इजरायल, बहराइन, ओमन, कतार, मलेसिया, साउदी अरेबिया । 

विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका महिलाहरूमध्ये विभिन्न किसिमका शारीरिक र मानसिक शोषणको सिकार भएर फर्केका प्रशस्तै छन् । कतिजना वैदेशिक रोजगारीमा गएका महिलाहरूले उतै मृत्युवरण गरेका पनि छन् । केहीले पैसा कमाएर फर्किएका पनि छन् । वैदेशिक रोजगारीको क्रममा महिलाहरूले भोग्ने गरेका प्रमुख समस्या हुन्, बढी कामको भार, औषधोपचारको अभाव, यौन दुव्र्यवहार र शोषण, परिवारसंँग सम्पर्क गर्न नपाउने र र्फकन चाहेको बेला आफ्नो देश र्फकन नपाउने, तोके अनुसारको पारिश्रमिक नपाउने इत्यादि । थोरै मात्र महिलाले उल्लेखित समस्या नभोगे तापनि बहुसंख्यकले भोग्नुपरेका छन् ।  

२०७० सालको माघ मसान्तसम्मको आलेखबद्ध भई वैदेशिक रोजगारीमा गएका कामदारको संख्या पुरुष ३० लाख ८० हजार ३७४ र महिला १ लाख १ हजार ८२८ गरी जम्मा ३१ लाख ८२ हजार २०२ देखिन्छ । जसमा महिलाहरूको संख्या ३ प्रतिशत छ, तर अवैध रूपमा अहिले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या २८ देखि ३० प्रतिशत भएको अनुमान गरिएको छ, जुन सरकारी तथ्यांकभन्दा निकै बढी हुनआउँछ  ।

यति धेरै संख्यामा सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा जाने महिलाको यात्रालाई प्रस्थान बिन्दुबाट गन्तव्यको अन्तिम केन्द्रसम्म रोजगारी अवधि सुरक्षति बनाउनु आवश्यक छ । महिलाहरू स्वयम्ले पनि जानुभन्दा अघि सबै कुराको सूचना, तालिम लिएर आफू पनि सुरक्षति भएर मात्र जानु आवश्यक छ ।

गत वर्षमात्रै नेपालले खाडी मुलुकमा जाने महिलाका लागि ३० वर्ष उमेर पुगेको हुनुपर्ने नियम बनाएको छ । तर पनि त्यसभन्दा कम उमेरका महिलाहरूको वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । दलालहरू मार्फत जानु हुँदैन भन्ने कुरा थाहा पाउँदा-पाउँदै पनि महिलाहरू दलालकै पछि लागेर वैदेशिक रोजगारीमा जाँदा भोगेका पीडाहरू कहालिलाग्दा छन् । नेपाली महिलाहरूलाई आफ्नो घर र परिवार छोडेर रोजीरोटीका लागि वैदेशिक रोजगारीमा प्रेरित गर्ने तत्त्व नै घरेलु हिंसा हो । निश्चय नै वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको पनि छ । यसबाट आएको विप्रेषणले राष्ट्रिय आयमा धेरै प्रभाव पारेको छ । तर महिलाहरूले वैदेशिक रोजगारीमा जाँदा भोग्नुपरेको समस्याहरू त्यति नै कहालिलाग्दो पनि छ । 

विदेशबाट फकिर्एर आएका महिलाहरू भन्छन्- 'वैदेशिक रोजगारीमा जाने अधिकांश महिलाले प्रक्रिया नपुर्‍याएर जाँदा धेरै दु:ख पाएका पनि छन् । त्यसैले सोच बनाएकाहरूले आवश्यक प्रक्रिया पुर्‍याएर गएको खण्डमा महिलाहरूको आप्रवासन सुरक्षति हुनसक्छ ।' सबैभन्दा प्रमुख कुरा हो, कानुनी प्रक्रिया पुर्‍याएर जानुपर्ने तर बहुसंख्यक महिला प्रक्रिया नपुर्‍याएर जाँदा अनेक समस्याले ग्रसित भएका छन् । वैदेशिक रोजगारीमा जाँदा आवश्यक कागजपत्र विना असुरक्षति भएर जाँदा महिलाहरूको श्रम शोषण, यौन शोषण र कति अवस्थामा महिलाहरू मानव बेचबिखनको सिकार पनि हुनसक्छन् ।

वैदेशिक रोजगारीमा जानु प्रत्येक मानिसको मौलिक हक हो, तर सुरक्षति भएर जानु प्रत्येककोे दायित्व पनि हो । आफ्नै देशभित्र रोजगारी पाउनु पनि सबैको अधिकार हो, तर दुर्भाग्य नै भन्नुपर्छ, देशभित्र अझै रोजगारीको पर्याप्त अवसर सिर्जना हुनसकेको छैन । जसले वैदेशिक रोजगारीमा जानेहरूको क्रम बढ्दै गइरहेको छ । सरकारले महिलाहरूको आप्रवासनलाई सुरक्षति गर्न केही नीतिगत निर्णय सँगसँगै केही ठोस कार्ययोजना पनि ल्याउनु जरुरी छ । सरकारले रोजगार मुलुकसँंग श्रम सम्झौता गर्दा आप्रवासी महिलाहरूको सम्बन्धमा सुरक्षाको विषयमा ध्यान  दिनु जरुरी छ । फर्केर आएका महिलाहरूलाई देसभित्र नै बसेर आफूले सिकेर आएको सीपलाई प्रबर्द्धन गर्ने वातावरण सिर्जना गरिदिनु आवश्यक छ । सबैभन्दा प्रमुख कुरा महिलामाथि हुने सबै किसिमका हिंसालाई अन्त्य गर्न प्रतिबद्धता राज्यले लिनु जरुरी पनि छ । 

Published on: 23 June 2014 | Kantipur

Back to list

;