s

वैदेशिक रोजगारीमा जाने पूर्वी क्षेत्रबाट बढी

देशको पूर्वी क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन्। पूर्वी तराईका जिल्लामा म्यानपावर कम्पनीका एजेन्ट बढी क्रियाशील रहेकाले ती क्षेत्रका युवा वैदेशिक रोजगारीमा बढी आकर्षित भएका हुन्। यसबाहेक तराईका जिल्लामा तुलनात्मक रूपमा काम गर्न सक्ने युवाको संख्यासमेत बढी देखिएको विज्ञले बताएका छन्।

एजेन्टका कारण पूर्वी क्षेत्रका युवाले वैदेशिक रोजगारीसम्बन्धी पर्याप्त सूचना पाउने गरेका छन्। एजेन्टले ग्रामीण क्षेत्रका युवाको राहदानी बनाइदिनेदेखि जान लाग्ने खर्चका लागि ऋण खोजिदिनेसमेत गरेका छन्। यसबाट पूर्वी क्षेत्रका युवालाई वैदेशिक रोजगारीमा जान थप सजिलो भएको हो। एजेन्टका कारण जाने कामदारको लागत भने धेरै हुने गरेको छ।

वैदेशिक रोजगार विभागले तयार पारेको पछिल्लो तथ्यांकअनुसार जिल्लागत आधारमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा, झापा, मोरङ, सिरहालगायतका जिल्ला परेका छन्। आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा बढी विदेश जानेमा धनुषा पहिलो नम्बरमा परेको छ। यस आवमा धनुषाबाट मात्र कुल १८ हजार आठ सय ९६ जना युवा काम गर्न बिदेसिएका थिए, जसमा पुरु ष १८ हजार आठ सय ४९ जना र महिला ४७ जना थिए। यस आवमा कुल तीन लाख ९५ हजार सात सय ७२ जना कामदार विदेश गएका थिए।

अघिल्लो आर्थिक वर्ष २०६८/६९ मा भने सबैभन्दा धेरै कामदार विदेश जाने जिल्लामा झापा परेको थियो। त्यस वर्ष पहिलो नम्बरमा रहेको झापाबाट ११ हजार सात सय ७८ जना र दोस्रो नम्बरमा परेको धनुषाबाट ११ हजार ६ सय ४३ जना वैदेशिक रोजगारीमा पुगेका थिए। एजेन्टका कारण पूर्वी क्षेत्रका युवाले वैदेशिक रोजगारीसम्बन्धी पर्याप्त सूचना पाउने गरेका छन्। एजेन्टले ग्रामीण क्षेत्रका युवाको राहदानी बनाइदिनेदेखि जान लाग्ने खर्चका लागि ऋण खोजिदिनेसमेत गरेका छन्।

धनुषा, झापा, मोरङ, सिरहालगायतका जिल्लाका युवा दसकौं अघिदेखि वैदेशिक रोजगारीमा जाने गरेका हुन्। सुरुमा वैदेशिक रोजगारीको गन्तव्य भारत हुने गरेकोमा अहिले खाडी र मलेसियातर्फ बढी केन्द्रित हुन थालेको हो। समग्रमा भारतको तुलनामा खाडी र मलेसियामा कमाइ बढी हुनेगर्छ। म्यानपावर कम्पनीका एजेन्टले पनि खाडी र मलेसिया पठाउन नै ध्यान दिने गरेका छन्।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ पूर्वी तराईका जिल्लामा धेरै जना वैदेशिक रोजगारीमा जानुमा एजेन्टको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँछन्। 'गाउँगाउँमा दर्जनौं एजेन्ट पुगेका छन्। यी क्षेत्रमा काम गर्न सक्ने युवाको संख्या पनि धेरै छ', उनले भने, 'विगतमा भारतमा जाने गरेका युवा अहिले खाडी मुलुक र मलेसियातर्फ केन्द्रित भएका हुन्।'

पूर्वी क्षेत्रको तुलनामा सुदूरपश्चिमका जिल्लामा एजेन्टको अत्यन्त न्यून छ। सुदूरपश्चिमका धेरैजसो युवा अहिले पनि वैदेशिक रोजगारीका लागि भारत नै जाने गर्छन्। देशका पचहत्तरै जिल्लाका युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाएको छ। औसतमा दैनिक एक हजार पाँच सयजना नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सरकारको अनुमति लिएरै काम गर्न विदेश जानेको संख्या करिब ३३ लाख छ।

Published on: 17 June 2014 | Annapurna Post

Back to list

;