s

वैदेशिक रोजगारीमा हृदयाघातबाटै जान्छ धेरै नेपाली कामदारको ज्यान –

वैदेशिक रोजगारमा गएका कामदारमध्ये सबैभन्दा धेरैको हृदयाघातका कारण मृत्यु हुने गरेको छ। दैनिक औसतमा दुईदेखि तीनजना कामदारको मृत्यु हुने गरेकामा सबैभन्दा बढी हृदयाघातका कारण मर्ने गरेका छन्। 

गतवर्षमात्रै हृदयाघातबाट दुई सय ४६ जना कामदारले विदेशमा ज्यान गुमाएका थिए। श्रम तथा रोजगार मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६ यता यो रोगका कारणमात्रै आठ सय ५८ जना कामदारको मृत्यु भइसकेको छ। मन्त्रालको पछिल्लो अध्ययनअनुसार हृदयाघातपछि दोस्रो धेरै मृत्यु हुने कारण भने पत्ता लाग्न सकेको छैन। 

विदेशमा कामका क्रममा मरेका तर मृत्यु हुनको यकिन कारण पत्ता नलागेका कामदारको संख्या गतवर्ष एक सय ९३ जना थियो। यसमा एक सय ८८ जना पुरुष र पाँचजना महिला छन्। २०६५ यता मरेका सात सय ३६ जना कामदारको मृत्युका कारण पहिचान हुन नसकेको तथ्य बाहिर आएको छ। वैदेशिक रोजगारका विज्ञले भने अध्ययनमा देखाइएअनुसार कामदारको मृत्युको भएको संख्या ठीक भए पनि कारण विश्वासिलो नभएको बताएका छन्। विदेशमा मरेका कामदारको पोस्टमार्टम नगरिने भएकाले मृत्युको कारण यकिन गर्न नसकिने विज्ञको दाबी छ। 

 विगत ६ वर्षयताको तथ्यांक हेर्ने हो भने दुर्घटनामा मात्रै चार सय ४४ जनाको मृत्यु भएको छ। सबै प्रकारका कारण गरी आव २०६५/ ६६ देखि २०७०/ ७१ सम्ममा कुल तीन हजार दुई सय ७२ जना कामदारको मृत्यु भएको छ।

समाजशास्त्री एवं वैदेशिक रोजगारका विज्ञ डा. गणेश गुरुङले विदेशमा मरेका कामदारको पोस्टमार्टम नगरी लास नेपाल ल्याइने भएकाले अध्ययनमा उल्लेख गरिएका कारण भरपर्दो नरहेको बताए। 'मर्नेको संख्या सही भए पनि जुन कारणहरू दिइएको छ, त्यो विश्वासिलो छैन। नेपालमा लास ल्याउनका लागि गरिएको प्रक्रिया मात्र हो,' उनले भने। 

यसैगरी, अध्ययनअनुसार प्राकृतिक वा स्वभाविक कारण (नेचुरल केस) ले मृत्यु हुनेको तथ्यांक पनि ठूलो पाइएको छ। नेचुरल केस भनिएको तर मृत्युको कारण नखुलाइएका एक सय ३२ जना कामदारले गतवर्ष ज्यान गुमाएका छन्। २०६५ यता नेचुरल केसमा मर्नेको संख्या ६ सयजना छ। यस वर्गमा उमेर पुगेकालाई स्वभाविक कारण मृत्यु हुनेमा समावेश गरिएको भए पनि बिदेसिएका अधिकांश कामदार युवा हुने गरेकाले स्वभाविक मृत्यु भन्न नसकिने उनले बताए। 

सरकारले पनि अध्ययनमा रोजगारदाता मुलुकले उपलब्ध गराएको स्वास्थ्य प्रतिवेदनकै आधारमा मृत्युको कारण उल्लेख गरेको हो। वैदेशिक रोजगारमा गएका कामदारको मृत्युको चौथो प्रमुख कारण सडक दुर्घटना हुने गरेको छ। सडक दुर्घटनाबाट विदेशमा रहेका एक सय चारजना नेपाली कामदारले गत आर्थिक वर्षमा ज्यान गुमाउनुपर्‍यो। विगत ६ वर्षयताको तथ्यांक हेर्ने हो भने दुर्घटनामा मात्रै चार सय ४४ जनाको मृत्यु भएको छ। सबै प्रकारका कारण गरी आव २०६५/ ६६ देखि २०७०/ ७१ सम्ममा कुल तीन हजार दुई सय ७२ जना कामदारको मृत्यु भएको छ। 

सम्झौताअनुसारको काम र तलब नपाइनु, कम्पनी परिवर्तन गरेपछिको पीडा तथा दलालबाट ठगिने गरेका कतिपयको मानसिक सन्तुलन गुम्ने गरेको पाइएको छ। मन्त्रालयका अनुसार गतवर्ष विदेशमा गएका ८९ जना कामदारले आत्महत्या गरेका छन्। 

एकजना कामदारको भने हत्या भएको मन्त्रालयले जानकारी दिएको छ। बिदेसिने ८० प्रतिशतभन्दा बढी कामदारको गन्तव्य मलेसिया र खाडी मुलुक हुने भएकाले मर्ने कामदार पनि ती मुलुकमा नै अधिक पाइएको छ। हाल ३५ लाख युवा अनुमति लिएर वैदेशिक रोजगारमा पुगेका छन्। 

मृत्युको कारण तनाव

तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने भएकाले धेरै कामदारको हृदयाघातका कारण मृत्यु हुने गरेको हो। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा विदेश पुगेका कामदारले गर्ने गरेका गुनासा तथा मृत्यु भएका परिवारले निकै तनावमा काम गर्नुपर्ने भएकाले हृदयाघातको सम्भवना धेरै भएको बताउने गरेका छन्। 

मृत्यु भएका कामदारका परिवारले क्षतिपूर्ति पाउने भएकाले बोर्डमा उनीहरूका परिवारले मृत्युका कारण बताउने गर्छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले शारीरिक तथा मानसिक तनावका कारण धेरै कामदारको हृदयाघातका कारण मृत्यु हुने गरेको जानकारी दिए। विदेश जानुअघि गरिएको सम्झौताअनुसार तलब र काम नपाउने भएकाले पनि कामदार निकै तनावमा हुने गर्छन्। 

Published on: 14 October 2014 | Annapurna Post

Back to list

;