s

बाँकेका श्रमिकको ज्याला वृद्धि

गणेश विशु

दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको दररेट (ज्याला) यस आर्थिक वर्ष २०७८७९ का लागि थोरै मात्रामा वृद्धि भएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले ज्याला वृद्धि गरेको हो।

अबदेखि श्रमिकले दैनिक आठ सय ४० रुपैयाँ पारिश्रमिक पाउने छन्। पछिल्ला पाँच वर्षदेखि मजदुरको पारिश्रमिक बढ्दै गएको छ। श्रमिकले गत वर्ष सात सय ५० रुपैयाँ ज्याला पाउँदै आएका थिए। सिकर्मी, डकर्मी, चित्रकार बज्रकर्मी, दक्ष कामदार (निकुञ्जभित्र), ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटरको सात सय ५० बाट बढाएर आठ सय ४० रुपैयाँ ज्याला निर्धारण गरिएको छ। त्यस्तै अर्धदक्ष जनशक्तिको प्रतिदिन सात सय ८४ रुपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार क्लिनर, चेन मेन/सर्वे हेल्पर, खानीमा काम गर्ने भरिया, ज्यामी कुल्ली, चौकीदारलगायतका जनशक्ति पाँच सय २५ बाट पाँच सय ९० रुपैयाँ ज्याला पुगेको छ।

योसँगै जिल्ला प्रशासन कार्यालयले स्थानीय तथा आधारभूत निर्माण सामग्री, सामान ढुवानी/मेसिन उपकरण भाडा, फलामजन्यलगायत निर्माण सामग्रीहरुको पनि दररेट निर्धारण गरेको छ। सिँचाइ तथा नदी नियन्त्रणसम्बन्धी निर्माण सामग्री, कंकृट एडमिक्सर तथा वाटर प्रुफिङलगायतको दररेट यथावत राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले श्रमिकलाई न्यूनतम १५ हजार रुपैयाँ दररेट कायम गरेकाले साहीअनुसार जिल्लामा दररेट निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ।

‘श्रमिकको हकमा नेपाल सरकार र निर्माण सामग्रीको हकमा राष्ट्र बैंकको मापदण्डलाई आधार मानेर दररेट सार्वजनिक गरेका छौं,’ उनले भने, ‘नयाँ दररेटले श्रमिक र अन्यलाई केही राहत महसुस हुन्छ।’ केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उनको भनाइ छ।

यता श्रमिकहरुले भने उक्त दररेटप्रति गुनासो गरेका छन्। कोभिड–१९ बाट नराम्ररी प्रभावित भएका मजदुरहरू यो दररेटले आफ्नो भावना सम्बोधन हुन नसकेको गुनासो गरेका छन्। सामानको मूल्य आकाशिँदा आफ्नो भने दैनिक गुजारा चलाउन नसक्ने गरी दररेट बढेको श्रमिकहरुको भनाइ छ। बजारको महँगी धान्न सक्ने गरी दररेट कायम भएको भए आफूहरुको भावना समेटिने उनीहरु बताउँछन्। अहिले पाइरहेको भन्दा कम दररेट कायम गरेको श्रमिकहरुको भनाइ छ। ‘अहिले दैनिक एक हजार रुपैयाँ ज्याला पाउँदै आएको छु,’ पिप्रहवाका राजकुमार गुप्ताले भने, ‘ज्याला बढ्लाभन्दा अझ कम भयो।’ गत वर्षको भन्दा थोरै दररेट बढे पनि श्रमिकले पाइरहेको बराबर नभएको उनको भनाइ छ।

अहिले पाइरहेको भन्दा केही बढेको भए आफ्नो भावना सम्बोधन हुने गोद्र गुप्ताले बताए। उनी अहिले दैनिक एक हजार रुपैयाँ ज्याला पाउँदै आएका छन्। ‘महिनाभरि काम हुँदैन,’ उनले भने, ‘महिनामा १० दिन काम गर्ने र स्थानीय प्रशासनले निर्धारण गरेको दररेट अनुसार ज्याला लिँदा कसरी बाँच्नु।’ यसले आफूलाई खानसमेत नपुग्ने उनी बताउँछन्। सरकारले श्रमिकको ज्याला समयानुकूल वृद्धि गर्नुपर्ने भन्दै उनले भने, ‘अहिले मासिक १५ हजारले कसको जीविकोपार्जन हुन्छ।’ अहिलेको दररेटले छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधाेपचार गर्नै मुस्किल हुने उनको भनाइ छ।

Published on: 19 July 2021 | Nagarik

Link

Back to list

;