s

बालबालिका बेच्ने त्यत्तिकै उम्किन्छन्

विभिन्न प्रलोभन देखाएर बालबालिकालाई स्वदेश र भारतका विभिन्न सहरमा बिक्री गरी अलपत्र पार्ने बिचौलियाले उन्मुक्ति पाइरहेका छन् । त्यस्ता व्यक्तिको नाम, थर नखुल्दा छुटकारा मिल्ने गरेको छ । कारबाहीका लागि प्रशासनले चासो दिँदैन । अभिभावकले कारबाहीका लागि दबाब दिँदैनन् । उनीहरू बच्चा हराएको उजुरी त गर्छन् तर फेला परेको जानकारी गराउँदैनन् । त्यसले अपराध सेलाउने गरेको प्रहरीको भनाइ छ । 
 
कपिलवस्तुमा यस्तालाई उन्मुक्ति दिलाउन दलीय दबाब पर्ने गरेको छ । त्यहाँ १ वर्षयता भारतका विभिन्न सहरबाट १९ नाबालक उद्धार गरिएको छ । तीमध्ये एक जनालाई लाने दलालको पहिचान भएको छ । उनीहरूले सजगता चलाखीपूर्वक ललाईफकाई भारत पुर्‍याउने हुँदा परिचय खुल्दैन । खुलेमा घरायसी, दलीय दबाब र आर्थिक चलखेल गरेर मिलाउने प्रवृत्ति रहेको शान्ति पुन:स्थापना गृह कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताए । 
 
गत भदौमा दिल्लीबाट उद्धार गरिएका सर्लाही पत्थरकोट १ का नाबालक मानबहादुर कुमाललाई त्यहाँकै अर्गौली ९ का वीरबहादुर वलले भारत पुर्‍याएका थिए । उनी फरार छन् । उनीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । तर कारबाही भएको छैन । यस्ता व्यक्ति बालकलाई विभिन्न उद्योगमा काम निश्चित गरेपछि रकम लिएर फरार हुन्छन् । कपिलवस्तुमा चालू आवको ५ महिनामा ५ बालक हराएकोमा ३ फेला परेका प्रहरीले जनायो ।
 
रौतहटबाट बर्सेनि बालबालिका भारतका विभिन्न सहर पुग्छन् । तिनलाई संस्थाले उद्धारपछि अभिभावकको जिम्मा लाउँछन् । प्रहरी अभिभावकलाई भेटेर आफ्ना नानीबाबुलाई काममा नपठाउन आग्रह गर्छ र दलालबारे सूचना दिन अनुरोध गर्छ । कलिलालाई तस्करी गरेर जटिल श्रममा लाउनेलाई कारबाही भएको उदाहरण जिल्लामा छैन । रौतहट प्रहरी उपरीक्षक सानुबाबु थपलियाले ३ साताअघि उद्धार गरी ल्याएका १५ लाई अभिभावकको जिम्मा लगाए । सोही क्रममा आर्थिक अभावका कारण अभिभावकले छोरालाई जोखिमयुक्त काममा पठाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले घरमा पुगेर सम्झाएको थियो । 'हामीले यस्तो घटना नदोहोर्‍याउन चेतावनी दिएका छौं,' उनले भने, 'दलाल वा अन्यको सहयोगमा बालकलाई भारत पठाउने कार्य नियन्त्रण गर्न सक्रिय भएका छौं ।' यस्ता बालकका अभिभावक कारबाहीको डरले सन्तान भागेर गएको झुटो विवरण दिन्छन् । जिल्लाका विभिन्न गाविसबाट १ वर्ष अवधिमा २६ बालकको उद्धार भएको थियो । जिल्लामा २१ बालक हराएको प्रहरीमा उजुरी छ । 
 
चितवनमा छोराछोरी हराउँदा प्रहरीमा उजुरी गरिन्छ । प्रहरीले खोजी गर्दा केही बालबालिका फेला पर्छन् । केही पर्दैनन् । सुरुका दिनमा अभिभावक चासो दिन्छन् । सम्पर्कमा नआएपछि निराश बन्छन् । उनीहरू भाग्यलाई दोष दिन्छन् । तर संलग्नको पहिचानका लागि प्रशासनलाई दबाब दिँदैनन् । आफैं पनि बेवास्ता गर्छन् । प्रहरीले गहिरिएर अनुसन्धान गरेको पाइँदैन । १८ बालबालिका हराएको उजुरी प्रहरीमा पर्दा ५ फेला परे । अन्य १३ कहाँ गए जानकारी छैन । हराए भनेर उजुरी गर्ने अभिभावक फेला परे भनेरचाहिँ जानकारी गराउँदैनन् । खोजीका लागि दबाब नदिँदा प्रहरी सक्रियता हुँदैन । 'बालबालिका अपहरण गरेको कुरा आउँदैन, हराएको मात्र आउँछ,' एसपी सहकुलबहादुर थापाले भने, 'त्यसैले अपहरण निहुँमा कसैलाई पक्राउ गरिएको छैन ।' चितवन केन्द्रमा पर्छ । यहाँबाट बालक अपहरण गरेर वीरगन्ज र सुनौली नाकाबाट भारत लग्न सजिलो छ । नाकामा प्रहरी सतर्कता बढेकाले अपहरण गरेर लग्ने सम्भावना कम रहेको प्रहरीको दाबी छ । 
 
रूपन्देहीमा बालबालिका हराएको हरायै छन् । तर यसरी गायब पार्नेविरुद्ध किटानी जाहेरी झट्ट पर्दैन । अभिभावक तथा प्रहरीले अपहरण गर्ने व्यक्ति वा सञ्जाल पत्ता लगाउन नसक्दा यस्तो भएको हो । चालू आवमा जिल्ला प्रहरीमा बालबालिका अपहरण गर्नेविरुद्ध एउटै उजुरी नपरेको मुद्दा शाखाका सई डेलिम घिमिरेले बताए । जबकि यस अवधिमा २१ बालबालिका हराएका छन् । गत आर्थिक वर्षमा ३८ हराएको उजुरी परेकोमा २ मात्रै बालबालिका अपहरण तथा बन्धकसम्बन्धी उजुरी थिए । उद्धार गरिए पनि अभिभावकले अपहरण गर्ने व्यक्ति वा सञ्जालका बारे सूचना दिन र कारबाही प्रक्रियामा ल्याउन नचाहेको प्रहरीको भनाइ छ । 'बालबालिका हराएका वा अपहरणमा परेका उजुरीलाई प्रहरी प्रशासनले संवेदनशील भएर खोजबिन गर्ने चलन छैन,' अभिभावक संघ रूपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले भने, 'यसले गर्दा कारबाहीको दायरामा ल्याउन समस्या छ ।'
 
कारबाही माग 
 
नवलपरासीका सरोकारवालाले बालबालिका बेचबिखन हुँदै आएको घटनाप्रति आपत्ति जनाउँदै अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । बिहीबार कान्तिपुरमा 'बालबालिका बेचेको बेच्यै' शीर्षकमा समाचार प्रकाशित भएपछि जिल्लास्थित बाल अधिकारकर्मीले त्यस्तो कार्य रोक्न र संलग्नलाई कारबाही माग गरेका हुन् । प्रहरीले दोषीलाई कारबाहीको साटो व्यावहारिक बन्दै छाड्ने हुँदा संलग्नको मनोबल बढ्दै गएको जिल्ला बालकल्याण समिति सदस्य शिवशंकर रायले बताए । 'कारबाही गर्नुको साटो मिलापत्र गराउने कार्य रोक्नुपर्छ,' उनले भने, 'अनुसन्धानपछि कारबाही त के दोषी सार्वजनिक हुँदैनन् ।' यस्ता मुद्दा मिलाउने कार्यमा लागेका नेतादेखि कर्मचारी, वकिललाई सार्वजनिक गर्नुपर्ने माग उनले गरे । बालकल्याण समितिले काम गर्न नसकेको बालकल्याण समिति संस्थापक सदस्य प्राध्यापक कैलाश ठाकुरले बताए । प्रहरी उपरीक्षक नल प्रसाद उपाध्यायले बालिका हराएको सूचना आउने भए पनि फेला परेपछि जानकारी नगराउने समस्या रहेको बताए । कामको चाप बढी भएकाले अनुसन्धानमा समस्या भएको उनले बताए । विगत ६ महिनामा ५ बालकको खोजतलास गर्न निवेदन आएको प्रहरी तथ्यांकमा छ । 
 
उजुरी पर्दैनन्
 
सर्लाहीमा कठिन श्रममा लगाउन बालबालिकालाई भारत लैजाने दलाललाई अहिलेसम्म कारबाही भएको 'रेकर्ड' छैन । एक वर्षको अवधिमा माग्ने काम र निकृष्ट श्रममा लगाइएका १८ बालबालिकाको भारतबाट उद्धार भएको छ । उनीहरूलाई लैजाने दलाल पहिचान भए पनि उजुरी नपरेकाले कारबाही भएको छैन । गत वर्ष भारतको गयामा माग्ने काममा लगाइएका १२ वर्षमुनिका १३ र दिल्ली रेलवे स्टेसनमा श्रम गरिरहेका ५ लाई उद्धार गरिएको थियो । तर उनीहरूलाई लग्नेले उन्मुक्ति पाए । उद्धारमा संलग्न बाल संरक्षण संस्था लालबन्दीका दिनेश घिमिरेले पैसाको लोभमा अभिभावकले नै दलाललाई बच्चा जिम्मा लगाएर पठाउने गरेको बताए । 'उद्धार गरिएका सबै बालबालिका अभिभावकको मञ्जुरीमा गएका थिए,' उनले भने, 'त्यस्ता अभिभावकलाई कारबाही भएको छैन ।' लैजाने व्यक्ति खुले पनि अभिभावकले नै बचाउने उनले बताए । प्रहरी सम्पर्कमा आएपछि दोहोर्‍याएर भारत नपठाउने र विद्यालय भर्ना गर्न मञ्जुर भई अभिभावकले बालबालिका बुझेर लैजान्छन् । ५० किलोमिटर लामो खुला सीमा भएकाले सबै रोकथाम सम्भव छैन । गरिबीकै कारण निकै साना सन्तानलाई समेत अभिभावकले भारत पठाउने गरेको घिमिरे बताउँछन् । अभिभावकले उजुरी नदिने र उनीहरूकै आग्रहमा लैजाने गरेकाले दलाललाई कारबाही हुन नसकेको प्रहरी उपरीक्षक सुरेश बस्नेतले बताए । २ महिनाअघि २० बालबालिका नाकाबाट प्रहरीले फर्काएको थियो । 'सबैलाई अभिभावकले पठाएका रहेछन्,' बस्नेतले भने, 'उजुरी परे मानव बेचबिखनमा कारबाही हुन्छ ।' 
 
मकवानपुरमा न्यून कारबाही
 
फकाएर होटल तथा गलैंचा कारखानामा काम लगाउने वा अभिभावकसित फिरौती बुझेर बन्धक बनाउनेलाई मकवानपुरमा कारबाही गरिएको छ । छतिवन ९ सुदाका ११ देखि १६ वर्षसम्म का ४ बालिकाल्ााई भगाएर गलैंचा बुन्न काठमाडौं लगिरहेको अवस्थामा प्रहरीले गत कात्तिक १२ गते हर्नामाडीबाट उद्धार गर्‍यो । प्रहरीले घटनामा संलग्न छतिवन ९ का पदम राईलाई बालबालिका ओसारपसारमा मुद्दा चलाउन खोज्दा दबाबका कारण सकेनन् । बालिकासँग माफी मागेर यस्तो कार्य नदोहोर्‍याउने कागज गराएर छाडियो । यसैगरी चुरियामाई २ नयाँबस्तीकी १३ वर्षीया ठूलीमाया चेपाङलाई गत असोज ७ गते काठमाडौंस्थित गलैंचा कारखानामा काम गर्न लगिरहेको अवस्थ्ाामा हेटौंडा बसपार्कबाट उद्धार गरियो । लैजान सघाउने चुरियामाईका राजु लामा, उर्मिला थिङ र गलैंचा कारखानाका सञ्चालक शेराप लामालाई जनही १५ हजार जरिवाना गराएर प्रहरीले छाड्यो । मनहरी ३ की ११ वर्षीयालाई फकाएर घरेलु बालश्रमिकको रूपमा राख्दै आएका हेटौंडा ९ का ४५ वर्षीय धर्म मिश्रलाई श्रम कार्यालयले गत भदौमा १० हजार रुपैयाँ जरिवाना गरायो । 
 
Published on: 30 January 2015 | Kantipur

Back to list

;