s

बेचबिखनको जालो

अभाव र असहज परिस्थितिमा रहेका महिला तथा बालबालिकालाई बेचबिखन गर्न भूकम्पका बेला दलालहरू अझै सक्रिय भए। भूकम्पको त्रसित मानसिकतामा रहेका महिला/बालबालिका न्यूनतम आवश्यकताको खोजीमा थिए। त्यस्तो अवस्थामा सहयोगको आश्वासन दिँदै दलालहरू महिलालाई हिंसाको सिकार बनाउन सफल बने। यस्तो विषम परिस्थितिमा हिंसा र बेचबिखन न्यूनीकरणका लागि सरकारी र गैरसरकारी निकायबाट भएका प्रयास सह्रानीय छ। यस्ता प्रयासले आज हाम्रा धरै दिदीबहिनी बेचबिखन हुनबाट बचेका छन्।
 
गरिबी, अशिक्षा, रोजगारीको अभाव, घरेलु हिंसा, अति महत्वाकांक्षा, गलत संगतका साथै दैवीप्रकोप पनि मानव बेचबिखनको कारक बन्न सक्छ। जसरी दैवी प्रकोपलाई बेचबिखनमा संलग्न दलालले आफूअनुकूल प्रयोग गरे त्यसरी नै समाज र सामाजिक अवस्था हेरी उनीहरूले आफ्नो स्वरूप पनि परिवर्तन गर्छन् भन्ने विषयमा सचेत हुनु आवश्यक छ।
 
राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले समेत गरिबी, लिंगको आधारमा गरिने असमानता र हिंसाका साथै बेरोजगारी, शिक्षाको अभाव, चेतनाको कमी र कमजोर कानुनी व्यवस्थाले विशेषतः महिला तथा बालबालिका बवेचबिखनको सिकार हुने गरेको देखाएको छ। पछिल्लो डेढ वर्षमा मानव बेचबिखन ६० दशमलव ३४ प्रतिशतले वृद्धि भएको मानव अधिकार आयोगको तथ्यांक छ। सरकारीका साथै नेपालमा करिब ७५ वटा गैरसरकारी संघसंस्थाले बेचबिखन न्यूनीकरणमा काम गर्दै आएका छन्। यी संस्थाले विभिन्न जिल्लामा आफ्नो शाखा कार्यालय नै स्थापना गरी बेचबिखन न्यूनीकरणमा पहल गरिरहेका छन्। कतिपय संघसंस्थाले बेचबिखनको प्रमुख गन्तव्यस्थल मानिएको भारतीय सीमावर्ती क्षेत्रमा दैनिक चेकजाँच र परामर्श सेवासमेत सञ्चालन गरिरहेका छन्। तर पनि मानव बेचबिखनको अनुपात बढ्दो छ! यसले मानव बेचबिखन अब चेतना, शिक्षा, रोजगारीलगायतका विषयसँग मात्र जोडिएका छैनन् भन्ने पुष्टि गर्छ। कतिपय विकसि देशमा पयिन मानव बेचबिखनका घटना भएको पाइन्छ।
 
मानव बेचबिखनलाई परम्परागत रूपमा जोडेर हेर्ने गरिएकाले पनि नेपालमा बेचबिखन न्यूनीकरणको पहल प्रभावकारी हुन सकेको छैन। चेतना र शिक्षा फैलाउन र स्वरोजगारी सृजना गर्नका लागि सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम गाउँगाउँ पुगेका छन्। तर, मानव तस्करहरूले बेचबिखनका विभिन्न विकल्प प्रयोग गर्दै आएका छन्। अझै पनि मानव बेचबिखन भनेको महिला तथा किशोरीलाई विभिन्न बहानामा भारतको बम्बैका कोठीमा लगेर यौनशोषण गर्नुमात्र हो भनेर बुझिन्छ। यसको स्वरूपमा आएको परिवर्तनका साथै कानुनले बेचबिखनमा गरेको व्याख्याबारे सर्वसाधरणलाई बुझाउन सकिएको छैन।
 
कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, फाइदा लिइ वा नलिइ वेश्यावृत्तिमा लगाउने, कानुन बमोजिमबाहेक मानिसको अंग झिक्ने र वेश्यागमन गर्नु नै मानव बेचबिखन हो भन्ने कुरा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा उल्लेख छ। त्यस्तै, किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याइ, करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने अथवा नेपालभित्रकै एक ठाउँबाट अर्को ठाउँमा वा विदेश लैजाने वा कसैलाई दिने कार्यलाई ऐनले ओसारपसारको रूपमा व्याख्या गरेको छ। मानव बेचबिखन तथा ओसारपोसारविरुद्धको ऐनले भनेबमोजिम जनचेतना जगाउन सक्ने हो भने केही हदसम्म बेचबिखनमा कमी ल्याउन सकिन्छ।
 
यौन व्यवसायमा संलग्न गराउनु, यौन शोषण गर्ने, उद्योग तथा कलकारखानामा निकृष्ट श्रम गराउनु, जोखिमपूर्ण घरेलु श्रम गराउनु, डान्सबार, होटल, क्याबिन, रेस्टुराँ र क्लबमा काम लगाउनु पनि बेचबिखन नै हो। सडकमा माग्नका लागि बाध्य पार्ने, अश्लिल चलचित्र तथा विज्ञापनको साधनको रूपमा प्रयोग गराउने, लागु पदार्थको अवैध ओसारपसार गराउने, मिर्गौला तथा शारीरिक अंगहरूको बेचबिखन तथा पछिल्लो समय वैदेशिक रोजगारी र ...सरोगेट मदर'का लागि नेपाली महिलाको बेचबिखन बढ्दो छ। मनोरञ्जनको क्षेत्रमा काम गरिरहेका महिलालाई जबर्जस्ती यौन क्रियाकलापमा संलग्न गराउने रेस्टुराँ तथा होटललाई प्रहरी प्रशासनले कानुनको दायरामा ल्याउन सकिरहेको छैन। वैदेशिक रोजगारीको बहानामा हुने बेचबिखनलाई समेत वैदेशिक रोजगार ऐनले आकर्षण गरी ठगी मुद्दा बनाउने गरिएको छ। वैदेशिक रोजगार ऐनमा बेचबिखनबारे उल्लेख नभएको र बेचबिखनविरुद्धको ऐनमा वैदेशिक रोजगारीको नाममा हुने श्रम शोषण, बेचबिखनलाई उल्लेख नगरिएकाले पनि तस्करहरू सहजै उम्कने गरेका छन्।
 
Published on: 6 September 2015 | Nagarik
 

Back to list

;