s

बेचबिखनको स्वरूप बदलिँदै

भानुभक्त आचार्य/मकवानपुर

नेपालका २६ वटा जिल्ला चेलीबेटी बेचबिखनको समस्याबाट प्रभावित छन्। यसमा पनि सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, काभ्रे, धादिङलगायतका जिल्लाको नाम अग्रपंक्तिमा आउँछ। बेचबिखन र उद्धारका विषयमा सञ्‍चारमाध्यममा आउने समाचार तथा यसविरुद्ध क्रियाशील संस्थामा परेका उजुरीले पनि यसको पुष्टि गर्छ।

आर्थिक विपन्नता, सामाजिक भेदभाव तथा अपहेलित जीवन, घरेलु हिंसा, अशिक्षा र बेरोजगारीका कारण सोझा गाउँले महिला तथा चेलीबेटी बेचबिखनको सिकार हुने गरेका छन्। उनीहरूलाई रोजगार लगाइदिने, सहरमा घुमाइदिने, विवाह गरी सुखद् जीवन बिताउनेजस्ता मीठा आश्वासनको जालमा पारी दलालले सजिलैसँग नेपालको सीमा कटाउँछन् र भारतका वेश्यालय, होटेल, रेस्टुरेन्ट, सर्कस, कारखाना तथा घरेलु कामका लागि बेचिदिन्छन्। यसरी बेचिने चेलीबेटी प्राय: निम्नवर्गीय परिवारका हुन्छन्।

केही वर्षअघिसम्म सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरलाई चेलीबेटी बेचबिखनको केन्द्र मानिन्थ्यो। मकवानपुरमा चेलीबेटी बेचबिखनलाई सामान्य मानिन्थ्यो। जिल्लाका ग्रामीण भेगका चेलीबेटी विभिन्न प्रक्रियामार्फत भारतीय सहरका वेश्यालय र सर्कसमा सजिलै पुग्‍ने गरेका थिए। यस क्षेत्रमा कार्यरत संस्थाका अनुसार गरिबी, चेतनाको कमी, दलालको बलियो सञ्‍जाल र नजिकै रहेको भारतीय सीमा बेचबिखनका लागि मुख्य जिम्मेवार मानिएका छन्। पूर्वपश्चिम, उत्तरदक्षिण राजमार्ग यसै जिल्ला भएर जाने भएकाले पनि यहाँ बेचबिखनको जोखिम बढी रहेको अनुमान गरिन्छ। यस्तै भारत प्रवेश नाका (वीरगन्ज-रक्सौल) नजिकै भएकाले बेचबिखनमा संलग्न गिरोहले हेटौंडालाई ट्रान्जिट प्वाइन्ट बनाउन खोजेको आरोप गैरसरकारी संस्थाले लगाउँदै आएका छन्।

ग्रामीण भेगमा आयआर्जनका अवसर कम भएकाले पनि युवती कामको खोजीमा हेटौंडा, काठमाडौंलगायतका सहरसम्म पुग्‍ने गर्छन्। सहरका होटेल, डान्सबार, दोहोरी आदिमा काम गर्ने क्रममा उनीहरू अझ राम्रो काम पाउने आशामा बेचबिखनको चपेटामा पर्ने गरेको माइती नेपाल रोकथाम गृह मकवानपुरकी कार्यक्रम संयोजक माया लामा बताउँछिन्।

पछिल्लो समयमा भने भारतीय सहर र सर्कसमा काम लगाइदिने भन्दै जिल्लाका चेलीबेटी बेचबिखनमा केही कमी आएको छ। छोरीको कमाइ खान पाउने आशमा केही पैसा लिएर आफ्ना छोरी दलालको जिम्मा लगाउने अभिभावकमा पनि अहिले चेतना आएको छ। आममानिसमा आएको चेतनासँगै मकवानपुरमा जनसंख्या वृद्धिदरसमेत कम हुँदै गएको छ। धेरै सन्तानका कारण पालनपोषणमा समस्या आएपछि जिम्मेवारीबाट मुक्त हुने र दलालबाट अतिरिक्त रकम पाइने आशामा छोराछोरी पढाउन अभिभावकको मानसिकतासँगै समाजको धारणा पनि बदलिँदै गएको संयोजक लामा बताउँछिन्।

दुई दशकअघिसम्म आफ्ना छोराछोरी घरबाट हराउँदा अभिभावकले चासो दिँदैनथे। चेली भारतीय कोठीमा पुग्दा आफ्नो भाग्यलाई दोष दिने अभिभावक अहिले बेचबिखनको उजुरी लिएर यसविरुद्ध क्रियाशील संस्था र प्रहरी कार्यालयसम्म धाउन थालेको बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरकी संयोजक कुमारी वाइबा बताउँछिन्।

‘वैदेशिक रोजगारमा गएर प्रशस्त पैसा कमाउने सुनौलो भविष्यको सपना बोकेर गाउँबाट सहर आएका महिला नै बेचबिखनको बढी जोखिममा छन्’, संयोजक वाइबा भन्छिन्।

गाउँमा रोजगारको विकल्प नहुँदा महिला जस्तोसुकै जोखिम मोलेर भए पनि वैदेशिक रोजगारमा जाने क्रम बढ्दै गएको छ। वैदेशिक रोजगारमा जाने महिलालाई सुरक्षित वैदेशिक रोजगारका बारेमा जानकारी दिन बेचबिखनविरुद्धको सञ्‍जालले शुभयात्रा परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय परिसरमा हेल्प डेस्क सञ्‍चालन गरी परामर्श दिन थालेको छ। सुरुमा माइती नेपाल र हिमराइट्सले सुरु गरेको कार्यक्रम बीचमा रोकिए पनि जिल्लाबाटै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण हुन थालेपछि सञ्जालले वैदेशिक रोजगारमा जान चाहनेलाई परामर्श दिन थालेको हो।

यस्तो सेवा सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जान चाहने ग्रामीण भेगका महिलाले स्पष्ट जानकारी र सल्लाह पाउँदै आएका छन्। कतिपय महिलालाई विदेश लैजाने दलालले नै ‘कसैसँग कुरा नगर्नू’ भन्ने गरेकाले सबै महिलालाई परामर्श दिन समस्या परेको माइती नेपालकी कार्यक्रम संयोजक लामा बताउँछिन्। ‘विदेश जानकै लागि उमेर बढाएर नागरिकता लिने र शंकास्पद महिला र दलाललाई प्रहरीमार्फत नियन्त्रणमा लिने गरिएको छ’, उनी भन्छिन्।

मानव बेचबिखनको संख्यात्मक न्यूनीकरण भए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। अझै वर्षमा चार/पाँचवटा बेचबिखनसम्बन्धी उजुरी दर्ता भइरहेका छन्। पहिलेको जस्तो भारतमा लगेर बेचबिखन गर्ने र सर्कसमा लैजाने क्रममा कमी आएपनि वैदेशिक रोजगारका नाममा खाडी मुलुकमा बेचबिखन नियन्त्रण कठिन छ।

माइती नेपाल हेटौंडाकी कार्यक्रम संयोजक लामा भन्छिन्, ‘बालिका तथा किशोरीलाई भारतीय बजारमा लगेर बेचबिखन गर्ने क्रममा कमी आए पनि अहिले वैदेशिक रोजगारका नाममा बेचबिखन गर्ने क्रम बढ्दो छ।’ मानव बेचबिखनविरुद्ध मकवानपुरमा १७ वटा संस्था मिलेर सञ्‍जाल गठन गरी यसैमार्फत बेचबिखनविरुद्ध काम गरिरहेका छन्।

Published on: 29 August 2013 | Annapurna Post

Back to list

;