s

भारत लाँदै गरेका सिन्धुपाल्चोकका २३ बालकको उद्धार

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिहिबार बिहान भारततर्फ लाँदै गरेका २३ बालकको उद्धार गरेको छ । सिन्धुपाल्चोकबाट भारत लाँदै गरेको अवस्थामा काँकरभिट्टा महिला प्रहरी सेल लगायतको टोलीले ति बालकहरुको उद्धार गरेको हो । 

गेलुङ्ग पढाउन सिन्धुपाल्चोकका भोताङ्ग, बरुव र हेलम्बु गरी तिन गाविसका २३ बालकहरुलाई भारत बेङ्गलोर लाने क्रममा इप्रकाले काँकरभिट्टामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

सोधपुछका क्रममा बेङ्गलोर महेश्वर कन्नाटास्थित शेरमे गुम्बामा पढाउन भन्दै लामा थुतेन तेञ्जेले ति बालकहरुलाई लाँदै गरेको महिला सेलकी प्रसनि चन्द्र चेम्जोङ्गले बताईन् ।

 
आर्थिक अवस्था कमजोर देखिने ती बालकहरुलाई खराब नियतले लगेको हुनसक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको इप्रका काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए । नेपाली गुम्बाबाट पढ्न पठाएको तथा भारतबाट पढ्न बोलाएको कुनै पनि नखुलेको कारण उनीहरुलाई भारत जानबाट रोकेको उनले बताए ।

पढ्न जानेमध्येका एक सोनाम लामाले आफू पहिले पनि पढेर आएकोले अरुलाई पनि लिएर गएको बताए । उनका अनुुसार  भारतको उक्त गुम्बामा ४हजार विद्यार्थी छन् र आधा जति चाँही नेपाली छन् । 

४ देखि १८ वर्षसम्मका बालकहरुलाई अभिभावकको जिम्मा लगाउने प्रहरी निरीक्षक रमेश बस्नेतले बताए । अभिभावकहरु नआउन्जेल ती बालकहरु माईती नेपालमा बस्ने व्यवस्था मिलाएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

Published on: 30 January 2015 | Annapurna Post

 

Back to list

;