s

भारतीय भनिएका ६१८ गोर्खाली

असंलग्न परराष्ट्र नीति लिएको नेपाल विश्वयुद्धताका कसैको पक्षमा थिएन। पक्ष वा विपक्षमा नभए पनि नेपाली युवाले विश्वयुद्धमा लडाइँ गरे। आफ्नो भूमि रक्षाका खातिर नभई लाहुरे भएर उनीहरूले आफ्ना शत्रु नभएका सेनाका छातीमा संगीन घोपे। जर्मन, जापानी सेनाका टाउका मुलाझैं काटे। गोरा सैनिकसँग मिलेर गोर्खा सैनिकले विश्वयुद्धमा विभिन्न मुलुकमा लडे। ब्रिटिस साम्राज्य जोगाउन विश्वयुद्धमा ठूलो बलिदानी गरे।

लाखौं नेपाली युवाले ब्रिटेनका तर्फबाट सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्यएसिया, १९१४ मा फ्रान्ससँग युद्ध लडेर बेलायतलाई जिताइदिए। ती युद्धमा गोर्खा सैनिकले अद्भूत बहादुरी प्रदर्शन गरेपछि गोरा कमान्डरको मनखुसीले गोर्खाली युवालाई अंग्रेजी सेनामा भर्ती गराएका थिए। बेलायती साम्राज्य जोगाइदिन बेलायतमा इस्ट ब्रिटिस गोर्खा सैनिक भएर जागिर खाइरहेका गोर्खालीले ब्रिटेनका तर्फबाट युद्ध लड्नु स्वाभाविक थियो तर नेपाल विश्वयुद्धको पक्षराष्ट्र नभए पनि यहाँको राष्ट्रिय सेना युद्धमा सामेल हुनुपर्‍यो। तत्कालीन राणाशासकले बेलायतको चाकरी गरेर आफ्नो सत्ता टिकाउने बहानामा नेपाली सेनालाई कूटनीतिविपरीत बेलायतका पक्षमा लड्न पठाएका थिए।

सन् १८५७ मा अंग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबाएको थियो। त्यो विद्रोह दबाउन रैफल, कालीबस्क, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, बर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंहदल, जबरजंग, गणेशदल, भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेरपल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग पल्टनका सेना खटिएका थिए। त्यसबेला नेपाली सेनाले बेलायतलाई साथ नदिएको भए त्यसैबेला भारतमा बेलायती साम्राज्य अन्त्य हुने धेरैको विश्लेषण छ। तर, राणाकै कमजोरीले थुप्रै नेपाली सैनिकले अनाहकमा ज्यान गुमाए। 

त्यहीबेलादेखि नेपाली सेनाको सहयोग लिन बानी पर्‍यो अंग्रेजलाई। उसले पहिलो र दोस्रो विश्वयुद्धमा पनि त्यो सहयोग लिइछाड्यो। अंग्रेजलाई खुसी पारेर आफ्नो सत्ता टिकाउन राणाशासकले मागेभन्दा बढी संख्यामा नेपाली सेनालाई युद्ध लड्न पठाइदिएका थिए। प्रथम विश्वयुद्धमा श्री ३ महाराज चन्द्रशमशेरले अंग्रेजको अनुरोधमा २० पल्टन नेपाली सेना इस्ट इन्डिया कम्पनी सरकारलाई दिएका थिए।

नयाँ गोरख पल्टनका सैनिक मार्टिन हेनरी तथा इनफिल्ड राइफलले सुसज्जित थिए। नेपाली सेनाका मुख्य कमान्डर जनरल बबरशमशेर, जनरल तेजशमशेर तथा जनरल पदमशमशेर थिए। प्रथम विश्वयुद्धमा इस्ट इन्डिया कम्पनी सरकारको गोर्खा रेजिमेन्ट्समात्र होइन, राजपुत रेजिमेन्ट्स, शिख रेजिमेन्ट्स, बर्मा मेलिटरी पोलिस रेजिमेन्ट्स, असम रेजिमेन्ट्स पनि युरोपमा लडेका थिए। यसरी विश्वयुद्धका मोर्चामा २० पल्टनका १४ हजार नेपाली सेना भारतमा तैनाथ थिए।

अंग्रेजले तेस्रो अफगान युद्ध १९१९ दबाउन पनि नेपाली सेनाको सहयोग लियो। त्यतिबेला दोस्रो रैफल र भैरुंग पल्टन मर्दन भन्ने ठाउँमा अंग्रेज विरोधीसँग लडे भने पशुपतिप्रसाद र भैरवनाथ पल्टन नौसेरमा। दोस्रो विश्वयुद्धमा पनि अंग्रेजका तर्फबाट थुप्रै नेपाली सेनाले युद्ध लडे। ब्रिटिसले सहयोग माग्नासाथ श्री ३ महाराज जुद्धशमशेर राणाले भारतीय उपमहाद्वीपका विभिन्न ठाउँमा नेपालका १६ वटा पल्टन पठाइदिए। दोस्रो विश्वयुद्धमा श्रीनाथ पल्टन र जबरजंग नौसेरा, दोस्रो रैफल पल्टन थलमा, बर्जबहादुर, महेन्द्रदल, कालीबहादुर र जंगनाथ पल्टन बर्मा, भैरवनाथ पल्टन अफगानिस्तानको खैबरघाँटी, शमशेरदल र शेरपल्टन कलकत्ता, सूर्यदल पल्टन देहरादून, पुरानो गोरख र देवीदत्त पल्टनले यी लगायत एबोटाबाद र अन्य विभिन्न ठाउँमा अंग्रेज साम्राज्यका लागि लडेको इतिहास छ।

बेलायतले त वास्ता गरेन–गरेन, विभिन्न युद्ध लडेका मगर, गुरुङ, क्षत्री, राई, लिम्बूलगायत गोर्खाली युवाका विषयमा लेख्न नेपाली बुद्धिजीवीले आवश्यकै देखेनन्। १३ वर्ष पुग्दानपुग्दै लाहुरे भएका यी समुदायका हजारौं युवा युद्धभूमिमै लापत्ता भए। चाँडै भर्तीमा गएकाले ती युवाले पढ्न पाएनन्। सोधीखोजी गर्ने अनुसन्धाता र इतिहासकार पनि बन्न सकेनन्। वीरतापूर्वक युद्ध लडेका गोर्खाली सैनिक के कतिले वीरगति पाए? विश्वका धेरै देश जहाँ गोर्खाली पुर्खाहरू हताहत भए, ती केका लागि भए? यस्ता प्रश्नले अहिले पनि धेरै नेपालीको दिमाग हल्लाइदिन्छ। विश्वका प्रख्यात शब्दकोश र इन्साइक्लोपेडियाले गोर्खालीको परिभाषा भाडाका सिपाहीका रूपमा लगाएका छन्। वास्तविक इतिहास नलेखिँदा संसारले गोर्खालीलाई गलत बुझेको छ। 

बेल्जियम र उत्तरी फ्रान्सको सीमा सहर इपेरमा मेनिन गेट छ। गेटको विशाल ढोका र त्यसका पर्खालका भित्तामा हजारौं योद्धाको नाम कुँदिएको छ। तीमध्ये बेवारिस गोर्खालीका नाम पनि छन्। कतिको पल्टन उल्लेख छ, कतिको भने भारतीय पल्टनको नाम दिइएको छ। कतिपयको पल्टन पनि पत्तो छैन। यस ढोकामा कुँदिएका नाममा मगर, गुरुङ, राई, लिम्बू र तामाङ थर देखिन्छ। यी जातिका नाम पढेपछि थाहा हुन्छ, उनीहरू गोर्खाली हुन्। पर्खालमा कुँदिएका नामबाट धेरै गोर्खाली त्यो युद्धमा मारिएको प्रस्ट हुन्छ। केही गोर्खालीको नाम यस पर्खालको भित्तामा बर्मा पुलिस भनेर लेखिएको छ भने अन्यलाई भारतीय पल्टनमा बाँडिएको छ। गोर्खालीलाई इतिहासले समेत निर्मम किसिमले ठगी गरेको छ।

विश्वका जति ठाउँमा, जुन संख्यामा सनाखत हुन नसकेका समाधि छन्, ती धेरैजसो गोर्खालीका हुन्। युद्धमा मृत्यु भएपछि मरौटी खर्च दिनुपर्ने भएकाले ब्रिटेनले सनाखत भए पनि गोर्खालीलाई बेवारिस बनाइदिएको भुक्तभोगी बताउँछन्। चिनेर पनि उसले गोर्खाली नभनेर सनाखत हुन नसकेको भनी त्यत्तिकै छाडेको थियो। यति ठूलो संख्यामा रहेका समाधिमा कति गोर्खाली होलान्, खोजीको विषय हो।

इटालीको रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर छ। त्यहाँ ज्ञात–अज्ञात ६ सय १८ नेपालीको चिहान छ। ती नेपाली दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए। यसबारे धेरै नेपालीलाई समेत थाहा छैन। इटालीको उत्तरपूर्वी समुद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरयिा क्रसद्वारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र शेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ गरी ६ सय १८ जना नेपालीको चिहान छ। यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटाली आइपुगेको भारत सरकारले त्यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ। नेपाली सैनिकहरू गोरखा रेजिमेन्ट्सअन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे। स्मारकमा उल्लेख भएअनुसार त्यहाँ दोस्रो, चौथो, पाँचौं, छैटौं र सातौं गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए। त्यहाँ मारिनेमध्ये धेरै सातौं गोर्खा राइफल्सका थिए।

रिमनीको यो चिहानघरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ। त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरियो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण गरिएको' भन्ने बेहोरा हिन्दी भाषामा छ। त्यहाँ मारिएका सबैजसो सैनिक नेपाली छन्। तर, तिनलाई भारतीय भनेर चिनाइएको छ।

रिमनीमा गोर्खाली सैनिक विभिन्न भारतीय पल्टनबाट लड्न पुगेका थिए। भारतीय पल्टनका तर्फबाट लड्न पुगेका तिनै नेपाली नै त्यहाँ मारिएका थिए। तर, स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन। त्यहाँ उल्लेखित घरको ठेगानाबाट उनीहरू नेपाली भएको प्रस्टै थाहा हुन्छ। त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरूको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक'मात्र लेखिएको छ।

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने सन् १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ, त्यो समय दोस्रो विश्वयुद्धको हो। तर, जर्मनीविरुद्ध लड्न पुगेका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ। केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बालसैनिक हुन सक्ने अड्कल पनि गरिन्छ। त्यहाँ १६ वर्षमुनिका किशोरलाई समेत संलग्न गराइएको हुन सक्ने अनुमान छ। कमनवेल्थ ग्रेभ्स कमिसन्सको रिपोर्टमा उल्लेखित २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका भएकाले नाम नराखिएको हुन सक्ने आशंका छ। बेलायतीहरूले त्यहाँ १४–१५ वर्षका नेपालीलाई पनि ल्याएकाले नाम भएर पनि नदिएको हुन सक्छ। यो खोजीको विषय हो।

त्यहाँ मारिएका ६ सय १८ नेपाली सैनिकमध्ये सातौं गोर्खा राइफल्सका नायक १६ वर्षीय मनबहादुर राईसम्म छन्। उनको उमेरले नै बताउँछ, उनी त्यसबेलाको कानुनविरुद्ध सेनामा भर्ती भएका थिए। उनीसँगै १७ वर्षीय कर्णध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ स्मारकमा। युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन। उमेर नपुगेकालाई भर्ती गर्नु युद्ध अपराध मानिन्छ। 

इटालीमा नेपाली राजदूतावास छैन। स्विट्जरल्यान्डको जेनेभास्थित नेपाली दूतावासले नै इटाली पनि हेर्छ। तर, जेनेभास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत भृगु ढुंगाना नेपालीको यो सामूहिक चिहानबारे जानकारी नै नभएको बताउँछन्। भन्छन्, ‘ए हो र? खै हामीलाई त जानकारी नै छैन। जानकारी नै नभएपछि के भन्ने त्यसबारे।'

रिमिनीको लडाइँमा मारिनेमा मुख्य हवलदार पूर्वी नेपालको भुजीका कर्णध्वज सुनुवार छन्। वासुम पाँचथरका ३३ वर्षीय खर्कध्वज लिम्बू एक जनामात्रै सुबेदार पदका छन्। गुल्मी हुङगाका नरे भण्डारी, रनबहादुर राई, रनसिंह थापा, धनबहादुर गुरुङ र कमानसिंह खत्री गरी आधा दर्जन जमदार छन्। मारिनेेमध्ये छैटौं गोर्खा राइफल्सका एक जना पूर्णबहादुर अधिकारी, दुई जना नेवार र केही थापाबाहेक अधिकांश राई, लिम्बू र मगर समुदायका छन्। मारिनेमा दुई जना नेवार समुदायका पनि छन्, मंगलबारे इलामका रामप्रसाद नेवार र रामेछाप मन्थलीका रनबहादुर नेवार।

Published on: 31 May 2014 | Nagarik

Back to list

;