s

विदेश होइन, गाउँगाउँमा उद्दम

धन कमाउन विदेशमै जानुपर्छ भन्ने छैन। आफ्नै गाउँपाखामा खेर गइरहेको स्थानीय स्रोतलाई उपयोग गरेर पनि आम्दानी हुन सक्छ। पर्वतका उत्तरी गाविस क्याङ, सालिजादेखि दक्षिणका त्रिवेणी, वहाकी बर्राचौरसम्मका मानिसले व्यावसायिक रूपमा उद्यम सञ्चालन गर्न थालेका छन्। वनमा पाइने अल्लोदेखि सिस्नो र काउलोसम्म प्रयोग गरी उनीहरूले उद्यम सञ्चालन गरको छन्।

पर्वतको उत्तरमा पर्ने क्याङका प्राय: युवा विदेशमा रहे पनि महिला गाउँमै बसेर अल्लोबाट धागो बनाइरहेका छन्। धागोबाट बनेका बहुमूल्य कपडा विदेशमा पुगेका छन्। उनीहरू धागो बजारसम्म पुर्‍याउने सोचमा पनि छन्। गाउँमा समूह बनाएर बचत गर्ने अनि समूहमा काम गर्ने गरेको उनीहरू बताउँछन्। 'पहिले घरधन्दामै बित्थ्यो दिनचर्या, अहिले अल्लोको धागो बनाउन थालेका छौं', स्थानीय सुमिता गर्बुजाले भनिन्, 'आफ्नै जंगलमा पाइने अल्लोको महत्त्व नबुझ्दा प्रयोगमा ल्याउन सकिएको थिएन।' उनले लघु उद्यम विकास कार्यक्रमको सहयोगमा अल्लोको धागो बनाउने दुईमहिने तालिम लिइन्। धागो बनाउने मेसिनका लागि पनि कार्यक्रमले केही सहयोग गरिदिएपछि व्यावसायिक रूपमा अगाडि बढ्न सजिलो भएको उनी बताउँछिन्।

सालिजामा लघुउद्यम विकास कार्यक्रमकै सहयोगमा अल्लोको कपडा बुनेर अघि बढेकी जसमाया पुन मुलुककै प्रतिष्ठित औद्योगिक अवार्ड आशा अवार्ड जित्न सफल भइन्। कान्तिपुर वर्ष व्यक्ति को छनोट सूचीमा समेत परेकी जसमाया जंगलमा कुहिएको अल्लोबाट राम्रो आम्दानी गर्न सकिने बताउँछिन्। अल्लोका कपडाको माग विदेशमा समेत भएकाले गुणस्तर र मेहनत भएमा धन कमाउन विदेश चाहर्नुनपर्ने धारणा उनको छ। 'स्थानीय स्रोतलाई उपयोग गरेर धेरै गर्न सकिन्छ', उनले भनिन्, 'आत्मनिर्भर बन्न मेहनत र लगनशीलता चाहिन्छ।'

उनीहरू मात्रै होइन, दक्षिणको बर्राचौरमा २१ वर्षीय विक्रम धमेलले कुखुरापालन व्यवसाय सुरु गरेका छन्। उनले कुखुरापालनसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका हुन। 'अहिले एक सय कुखुराबाट सुरु गरेको छु', उनले भने, 'भविष्यमा विस्तार गर्दै जाने सोचमा छु।' अहिले प्राय: युवा विदेश गएर पैसा कमाउने सपना देख्छन् तर स्थानीय स्रोत साधनको प्रयोग मार्फत गाउँमै बसेर विदेशकै जति आम्दानी गर्न सकिने जिल्ला लघु उद्यमी संघ पर्वतकी कार्यक्रम संयोजक सीता शर्माले बताइन्। नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाको पहलमा गाउँमै परम्परागत पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच अहिले केही युवामा विकास हुँदैछ।

'धेरै मानिसमा तत्कालै प्रतिफल खोज्ने समस्या देखिन्छ', उनले भनिन्, 'यो बिदेशिने र जागिर खाने सोचले ल्याएको समस्या हो।' आफ्नै ठाउँमा दीर्घकालीन सोचका साथ व्यवसाय गर्नुपर्ने उनको भनाइ छ।

Published on: 17 April 2014 | Annapurna Post

Back to list

;