s

विदेश लैजान घरमै पुग्छन् एजेन्ट

ठाकुरसिंह थारु

वैदेशिक रोजगारमा जान चाहने युवा खोज्न एजेन्ट (दलाल) हरू घरमा नैै पुग्ने गरेका छन् । विदेश पठाउन एक व्यक्ति खोजे बापत एजेन्टले ५ हजारदेखि १५ हजारसम्म पारिश्रमिक पाउँछन् । वैदेशिक रोजगारका लागि साउदी अरब, मलेसिया लगायत गल्फ मुलुकमा जानेका परिवारसँग १ लाख २५ हजारसम्म लिने गरिएको छ ।

वैदेशिक रोजगार कम्पनीहरूले पैसा दिएपछि स्थानीयहरू नै एजेन्टको काम गर्न थालेका हुन् । कम्पनीलाई विदेश जाने व्यक्ति खोज्न जान परेको छैन । 'छोरालाई विदेश मलेसिया पठाउन कम्पनीमा जानु परेन । घरमै आएका चिनजानको व्यक्तिले भिसालगायत सबै कुरा मिलाइदिए,' हालै छोरालाई विदेश पठाएका टिटहिरियाका शिव चरण चौधरीले भने, 'मैले पैसा जुगाड गरेर दिएपछि सबै काम उनीहरूले नै मिलाए ।'

विदेश जाने लहरसँगै एउटै घरबाट दुई/तीन युवा पैसा कमाउने सपना बोकेर धमाधम गाउँ छोडिरहेका छन् । एक गाउँबाट कम्तीमा पनि एक सयभन्दा बढी युवा विदेश गएको स्थानीयहरू बताउँछन् । वागेश्वरी गाविसको एकै गाउँबाट मात्रै दुई सयभन्दा बढी युवा पैसा कमाउन विदेश गएको स्थानीय गोविन्द शर्मा बताउँछन् । पश्चिम तराईका हजारौं बेरोजगार युवा विदेश पलायन हुँदा गाउँमा जनशक्तिको अभाव हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारले ब्याजमा ऋण खोजेर भए पनि स्थानीय एजेन्टमार्फत विदेश जाने गरेका छन् ।

'पहिले पैसा हुनेका छोराछोरी विदेश जान्थे । घरमै एजेन्ट आउन थालेपछि अहिले जोकोही पनि विदेश जान थालेका छन्,' छोरालाई ऋण खोजेर मलेसिया पठाएका सोनपुरका दिनकर यादवले भने, 'पैसा नहुनेका लागि एजेन्टले नै ऋण खोजिदिने गरेका छन् । यस्तो सजिलो भएपछि धेरैले आफ्ना छोराछोरीलाई विदेश पठाउन थालेका हुन् ।'

जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि दैनिक ६० निवेदन आउने गरेको कर्मचारीहरू बताउँछन् । एक महिनामा करिब ७ सयले राहदानी लिन आउने गरेको उनीहरूको अनुभव छ । श्रम विभागका अनुसार दैनिक १ हजार ६ सय नेपाली विदेश जाने गरेका छन् । चालू आर्थिक वर्षमा ६ लाख नेपाली कामका लागि बिदेसिन थालेको उसले जनाएको छ ।

Published on: 28 March 2014 | Kantipur

Back to list

;