s

विदेशमा मृत्यु भएकाका परिवारको बिचल्ली

धन कमाएर परिवार पाल्ने उद्देश्यले बिदेसिएका छिस्ती–७ का कविराज परियारको साउदी अरबमै मृत्यु भयो। २०६६ कात्तिक १९ मा मृत्यु भएका परियारकी पत्नी विष्णुदेवीले अहिलेसम्म कतैबाट राहत पाएकी छैनन्। विष्णुदेवीलाई पति विदेश जाँदा काढेको ऋण तिर्न र छोराछोरीको शिक्षादीक्षाको खर्च कसरी धान्ने भन्ने पिरलो छ। ‘मृत्यु भएको ६ महिनामा शव आइपुग्यो,' विष्णुदेवीले नागरिकसँग भनिन्, ‘त्यसयता कहीँकतैबाट केही राहत नपाउँदा गुजारा चलाउनै समस्या भएको छ।' 

पराराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलगायत विभिन्न निकायमा निवेदन दिए पनि रकम नपाएपछि मृतककी पत्नी विष्णुमाया राहतका लागि भौंतारिइरहेकी छन्। 

विदेशमै ज्यान गुमाएमा पैयुँथन्थापका दीननाथ शर्माको परिवारका नाममा १९ हजार ३ सय २० रुपैयाँ मात्र आएको छ। स्वदेशमै आर्थिक उपार्जनको कुनै माध्यम नभएर रोजगारीका लागि बिदेसिएका युवाको मृत्युपछि परिवारको बिचल्ली हुने गरेको छ। राम्रो कम्पनीमा जानेहरुका परिवारले बिमाबापत रकम पाए पनि खाडी मुलुकमा मृत्यु भएकाका परिवारको बिचल्ली छ। 

रोजगारीका लागि विदेश गएर त्यहीँ मृत्यु हुनेको संख्याले चिन्तित तुल्याएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए। ‘लगानी गरेर विदेश पुगेपछि विभिन्न घटनामा मृत्यु हुने गरेका छन्,' प्रजिअ गौतमले भने, ‘कमाउन गएको व्यक्ति गुमाउँदा परिवारमा पीडा र जिम्मेवारीको बोझ थपिन्छ।' दुई वर्षयता विदेशमा मृत्यु भएकामध्ये बाग्लुङका ३८ परिवारलाई परराष्ट्र मन्त्रालयमार्फत राहत रकम आएको छ। प्रशासनमा राहत लिनेको मात्र रेकर्ड रहे पनि नपाउनेको संख्या पनि उत्तिकै छ।

जिल्ला प्रशासनका अनुसार यसबीचमा १ करोड ९३ लाख रुपैयाँ राहत रकम आएकामा मृतकका परिवारलाई १ करोड ९० लाख ५७ हजार रुपैयाँ प्रशासनले बुझाइसकेको छ। ‘सम्पर्कमा आएका आफन्तलाई प्रमाण जुटाएर राहत रकम बुझाएका छौँ,' प्रशासनका लेखा प्रमुख युवराज शर्माले भने, ‘अन्यको पनि बुझाउने प्रक्रियामा छौं।'

विदेशमा काम गर्न जाँदा कानुनी प्रक्रिया पुर्याछएर जानेले बिमाबापत रकम पाए पनि सामान्य कम्पनीमा जानेले निकै कम मात्र पाउने गरेका छन्। मुलुकभित्र पाउने राहत रकम पाए पनि विदेशबाट आउने रकम न्यून मात्रामा आउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघु काफ्लेले बताए। कार्यक्षेत्रभन्दा बाहिर विभिन्न घटनामा मृत्यु भएकाको बिमालगायत सुविधा नआउने उनले जानकारी दिए। ‘कार्यक्षेत्रमा दुर्घटना भई मृत्यु हुनेको संख्या ६/७ प्रतिशत मात्र छ,' उनले भने, ‘धेरैको सडक दुर्घटना तथा हृदयघातका कारण मृत्यु हुने गरेको बिमालगायत सुविधाबाट अधिकांश वञ्चित छन्।'

कतार, साउदी अरब, दुबई, मलेसियालगायत मुलुकबाट गत वर्ष ८ सय ८० जनाको शव नेपाल आएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। ‘विभिन्न दुर्घटनामा परी ८ सय ८० जना नेपालीको मृत्यु भएको रेकर्ड हामीसँग छ,' निर्देशक काफ्लेले भने, ‘श्रम स्वीकृत नलिई गैरकानुनी रुपमा जानेहरुको जानकारी नै हुँदैन। कतिपयको सूचना नआएकाले पूर्ण विवरणसमेत छैन।'

मृतकका परिवारलाई बोर्डले राहतस्वरुप १ लाख ५० रुपैयाँ र बिमा कम्पनीले ६ लाख रुपैयाँ प्रदान गर्ने गरेको उनले जानकारी दिए। बोर्डले आर्थिक वर्ष ०७०/०७१ मा विदेशमा मृत्यु भएका आफन्तलाई १३ करोड २० लाख रुपैयाँ वितरण गरेको जनाएको छ। ‘कानुनी प्रक्रिया पुर्यायएर गएकालाई मात्र राहत रकम दिने गरेका छौं,' उनले भने, ‘विदेशबाट निकै कम रकम आउने गरेको छ।' यो वर्षदेखि राहत रकम वृद्धि भएको बोर्डले जनाएको छ। 

कात्तिक १ पछिका घटनामा रकम बढाएर दोब्बर पुर्या‘एको उनले बताए। ‘अब मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने व्यवस्था मिलाएका छौं,' काफ्लेले भने।

Published on: 30 October 2014 | Nagarik

Back to list

;