s

विलासितामै सकिन्छ रेमिट्यान्स्

जिल्ला सदरमुकाममा नानी पढाउन बसेकी उत्तरी गाविस पाथेकाकी नीरकुमारी राई श्रीमान्ले पठाएको मासिक तीस हजारमध्ये मोबाइल रिचार्ज, ब्युटीपार्लर, सिंगारपटार र लत्ताकपडामा आधाजसो खर्च गर्छिन्। बाँकी रहेको १५ हजारमध्ये खानामा -ग्यास-चामल) मासिक चार हजार, मासु दुई हजार, तरकारी तीन हजार, कोठाभाडा पन्ध्र सय र बाँकी रहेको रकम खाजामा खर्च गर्छिन्। खाजामा धेरैजसो चाउचाउमा बानी परेकी छन्। नानी स्कुल गएर आएपछि चाउचाउ नै खाजा खुवाउँछिन्। श्रीमान्ले दुःख गरेर कमाएको रकमले भड्किलो जीवनशैलीसँगै नानीहरूलाई समेत जङफुड खुवाएर दीर्घरोगी बनाइरहेका छन्। 

यसरी हेर्दा सदरमुकाम बसेकाको जीवनशैली धान्न करिब तीस हजार खर्च भएको देखिन्छ। यो एउटा उदाहरण हो। विदेश गएका धेरैजसोका परिवार सदरमुकाम लगायतका अन्य सहरमा नानी पढाउन बसेकाको जीवनशैली यस्तै छ। गाउँमा पनि जीवनशैली परिवर्तन भइसकेको छ। विदेशबाट आउने  रेमिट्यान्स्ले मधेसको चामल, चाउचाउ, बिस्कुट लगायतका रेडिमेट खाना, भड्किलो लत्ताकपडामा रकम खर्च गरिन्छ। आफैंले उत्पादन गरेको तरकारी उपभोग गर्नुको साटो चाउचाउको तरकारी खाने गरेका छन्। 

यस्ता विषयलाई आधार मानेर हेर्ने हो भने जिल्लामा भित्रने रेमिट्यान्स उत्पादनशील काममा खर्च नभएको पाइएको छ। वैदेशिक रोजगार, पेन्सनरहरू लगायतबाट जिल्ला भित्रिएको रकम उपभोग्य तथा घर खर्च, घरजग्गा खरिद, नानीहरूको शिक्षा, सञ्चार र ठूलो मात्रामा विलासितामा खर्च हुने पाइएको छ। खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु लयालुका अनुसार जिल्ला भित्रने रेमिट्यान्स उत्पादनशील काममा खर्च गरिएको छैन। 'खाद्यवस्तुमा चामल, चाउचाउ, लत्ताकपडा, रिचार्जकार्ड र मदिरामा खर्च गर्छन्।' लयालुले भने- 'यसलाई उत्पादनशील काममा लगानी गर्ने योजना बनाउनुपर्छ।'

जिल्लामा विभिन्न ठाउँबाट दैनिक करिब दुई करोडको हाराहारीमा रेमिट्यान्स भित्रने राष्ट्रिय वाणिज्य बैंक शाखा दिक्तेलका अमृत सैंजूले बताए। जिल्ला भित्रने रेमिट्यान्स्मध्ये मदिराजन्य पदार्थमा वाषिर्क बीस करोड, चुरोटमा छ करोड, गुड्खा तथा खैनीमा एक करोड खर्च हुन्छ। खोटाङ उद्योग वाणिज्य संघ कोषाध्यक्ष ज्ञानेन्द्र जोशीका अनुसार मासिक डेढ करोड रुपैयाँको रिचार्जकार्डको व्यापार हुन्छ। वैदेशिक रोजगारसम्बन्धी काम गर्ने निकाय 'सामी' का जिल्ला कार्यक्रम संयोजक भक्तकुमार राईका अनुसार खाडी लगायतका अन्य मुलुकमा गरी झन्डै बीस हजार जनाको हाराहारीमा कार्यरत छन्। उनीहरूले पठाएका रकममध्ये गाउँबाट सदरमुकाम आएर नानीहरूलाई बोर्डिङ स्कुल पढाउन, औषधि-उपचार लगायतमा खर्च गर्ने गरेका छन्। रेमिट्यान्स्ले जीवनशैलीमा समेत अनावश्यक परिवर्तन ल्याएको तर्क गर्छन् खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजू। उनी भन्छन्- 'गाउँमा अहिले नसोचेको जीवनशैलीमा परिवर्तन आएको छ।' सैंजूले भने- 'तरकारीसम्म चाउचाउ उमालेर खान्छन्। तराईको चामल ल्याउँछन् अनि चाउचाउसँग खान्छन्।' यसले अर्थतन्त्र झन धरापमा पर्दैछ। यसलाई मध्यनजर गरेर जिल्लाको विकास योजना निर्माण गर्नुपर्ने सैंजूको भनाइ छ। विदेशबाट दैनिक आउने दुई करोड रकम युवा रोजगार र उत्पादनमा लगानी गर्ने योजना बनाउनुपर्ने सैजूको धारणा छ।

Published on: 6 October 2014 | Kantipur

Back to list

;