s

'बायोमेट्रिक तत्काल नगर्नू'

संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने कामदारमाथि बायोमेटि्रक प्रणाली तत्काल लागू नगर्न सरकारलाई निर्देशन दिएको छ। समितिले बायोमेटि्रकका विषयमा छानबिन गर्नुपर्ने भन्दै सरकारलाई बुधबार निर्देशन दिएको हो। सरकारले निर्णय नगर्दै ३९ वटा मेडिकलले यो लागू गरेकाले छानबिन गरेर कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ।

बुधबार समितिले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटी र म्यानपावर व्यवसायीलाई बोलाएर बायोमेटि्रकका विषयमा छलफल गरेको थियो।

छलफलमा सभासदहरुले मन्त्री गुरुङ, सचिव शिवाकोटी र म्यानपावर व्यवसायीलाई बायोमेटि्रक लागू हुँदा के हुन्छ भन्ने विषयमा जानकारी मागेका थिए। समिति सभापति प्रभु साह, सभासदहरु राजन भट्टराई, राजीव शाही, पेम्बा शेर्पा, कमला शर्मा, मीनबहादुर विश्वकर्मा, सोमप्रसाद पाण्डेलगायतले बायोमेटि्रकमा करोडौं चलखेल भएकाले तत्काल लागू गराउन नहुने बताएका थिए।

सभासद राजन भट्टराईले बायोमेटि्रक नेपालमा पाइलट प्रोजेक्टको रुपमा आएको र यसमा करोडौंको चलखेल भएकाले कामदार ठगिने बताए। नेपालबाट बायोमेटि्रकमार्फत स्वास्थ्य परीक्षण भए पनि मलेसिया पुगेपछि फोमेमाले पुनः परिक्षण गर्ने हुँदा यो आवश्यक नपर्ने उनले बताए।

सभापति साहले बायोमेटि्रक प्रणाली विवादास्पद भएकाले बुधबार छलफल गरिएको र यस विषयमा छानबिनपछि निर्णय हुने बताए। 'कामदारलाई आर्थिक भार थपिने र मन्त्रालयका पदाधिकारी कै व्यवहार शंकास्पद देखिएपछि छानबिन गर्न भनेका छौं,' उनले भने।

छलफलमा मन्त्री गुरुङले मलेसिया सरकारले बायोमेटि्रक लागू गराउन पत्र पठाए पनि मन्त्रालयले यस विषयमा कुनै निर्णय नगरेको बताए। 'छानबिन र छलफलकै क्रममा छ,' उनले भने। बायोमेटि्रकका विषयमा मलेसियाको प्रस्ट धारणा आए पनि नेपाल सरकारले यस विषयमा छानबिन गर्ने र कामदारको हितअनुकूल नभए लागू नहुने उनले बताए।

सचिव शिवाकोटीले नेपालले पठाएको सर्त मलेसियाले माने पनि मन्त्रालयले यस विषयमा छलफल नै गरिरहेको बताए। हालसम्म मन्त्रालयले अनुमति नदिएको र यथार्थ नबुझी हावादारी कुरा आएको उनले बताए। उनले विभिन्न बहानामा मलेसियाको रोजगार विवादमा आएकाले नेपाली कामदार जानबाट बञ्चित हुने भन्दै सतर्क हुनुपर्ने बताए।

छलफलमा वैदेशिक रोजगार व्यवसायी कुमुद खनाल, किरणकिशोर घिमिरे, प्रज्ञान न्यौपानेले बायोमेटि्रक राष्ट्रिय हितमा नभएको भन्दै यसले कामदार र व्यवसायीलाई आर्थिक भार थपिने बताए। स्वास्थ्य परीक्षणको नाममा औंठाछाप गरेर मलेसियालाई दिने भएकाले यो राष्ट्रिय हितमा नभएको उनीहरुको तर्क थियो। उनीहरुले केही म्यानपावर कम्पनीले मलेसियाबाट निःशुल्क भिसा ल्याएर बायोमेटि्रकमा सेटिङ गरेको भन्दै त्यसमा पनि छानबिन हुनुपर्ने माग गरे।

मलेसियाको बेस्टिनेट नामक कम्पनीसँग सम्झौता गरेर नेपालको स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध ३९ मेडिकलले मलेसिया जाने कामदारको बायोमेटि्रक स्वास्थ्य परीÔण गर्ने तयारी गरेका हुन्। कामदारलाई आर्थिक भार थपिने र ३९ वटा मेडिकल सेन्टरले मिलेमतोमा काम गर्न लागेको भन्दै नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी संघ तथा स्वास्थ्य व्यवसायी महासंघकै सदस्यले चर्काे विरोध गरिरहेका छन्।

म्यानपावर व्यवसायीले बुधबारै गृहमन्त्री बामदेव गौतमलाई भेटी सरकारी अनुमतिबिनै केही मेडिकलले बायोमेटि्रक लागू गरेको भन्दै तिनलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

व्यवसायीले गृह मन्त्रालयमा ती मेडिकलको नामै उल्लेख गरेर निवेदन दिएका दिए। व्यवसायी प्रज्ञान न्यौपानेले गृहमन्त्रीसँग व्यवसायीको भेट भएको र उनले मेडिकलको नाम उल्लेख गरेर निवेदन दिन भनेपछि त्यसै गरेको बताए।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको भनिएको बायोमेटि्रक प्रणालीबारे मलेसियाको विदेश मन्त्रालयले नेपाल सरकारलाई आइतबार पत्र पठाएको थियो। त्यसअघि माघ ४ गते नेपालस्थित मलेसियन दूतावासले बायोमेटि्रक अनिवार्य गरेको भन्दै पत्र पठाएको थियो।

स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले मलेसिया कामदार नपठाउने म्यानपावर व्यवसायीले बायोमेटि्रकको चर्काे विरोध गर्दै हिँडिरहेको बताए। मलेसिया बन्द गराएर साउदी, कतार, बहराइनलगायका मुलुकमा पठाउन व्यवसायी लागिपरेकोले विरोध भइरहेको उनको तर्क छ। म्यानपावर व्यवसायीलाई विगतमा स्वास्थ्य व्यवसायीले प्रतिकामदार एक हजार रुपैयाँ कमिसन दिने गरेकोले त्यो बन्द हुने भएकाले केही स्वार्थी व्यवसायीले मात्र विरोध गरिरहेको उनको भनाइ छ।

समितिको बैठकमा मलेसियाका लागि भिसा प्रोसेसिङमा ३२ सय उठाइरहेको भिएलएनलाई संसदीय समितिको सिफारिसविपरीत कारबाही नगरिएको भन्दै सभासदले प्रश्न उठाएका थिए।

मंगलबारदेखि इन्डोनेसियमा पनि मलेसियाले भिसा प्रोसेसिङ शुल्क १५ रिंगेटबाट बढाएर २ सय ५० रिंगेट पुर्यानएको खबर छ। भिसा शुल्क बढाएपछि इन्डोनेसियाका म्यानपावर कम्पनीले विरोधमा कामदार पठाउनै बन्द गर्ने चेतावनी दिएको खबर मलेसियाका अधिकांश अखबारले बुधबार छापेका छन्।

Published on: 29 January 2015 | Nagarik

Back to list

;