s

बायोमेट्रिक लागू गर्न पाँचबुँदे सर्त

मलेसिया सरकारले नेपालमा लागू गर्न खोजेको त्यहाँ जाने कामदारको बायोमेट्रिक तथ्यांक प्रणालीबारे परराष्ट्र मन्त्रालयले पाँचबुँदे सर्त मलेसिया सरकारलाई पठाउने भएको छ। यसबारे विवाद बढेपछि परराष्ट्रले श्रम तथा रोजगार मन्त्रालयसँग मागेको सुझावका आधारमा मलेसिया सरकारलाई पाँचवटा सर्तमा लागू गर्न सकिने आशयसहितको पत्र पठाउन लागेको परराष्ट्र स्रोतले जानकारी दियो।

नेपाली कामदारको पहिलो श्रम गन्तव्यमा उनीहरुलाई आर्थिक भार थपिने गरी बायोमेटि्रक लागू गर्न नहुने अडान श्रम तथा रोजगार मन्त्रालयको छ। परराष्ट्रले आधिकारिक धारणा मागेपछि श्रम मन्त्रालयले पाँचबुँदे सर्त मलेसिया सरकारसामु राख्नुपर्ने भन्दै बुधबार परराष्ट्रमा पत्र पठाएको हो।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेटि्रक प्रणालीले मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने भएकाले यो फिर्ता लिनुपर्ने सुझाव दिएको बताए। लागू गर्नैपर्ने भए नेपाल सरकारले तोकेका सर्त पूरा गर्नुपर्ने श्रमको अडान छ। परराष्ट्रले तीनपटक सुझाव मागेको श्रमले सोही अनुसार पठाएको उनले बताए।

बायोमेटि्रकका विषयमा श्रमले कुनै निर्णय नगरेको पनि मन्त्री गुरुङले जानकारी दिए। नेपाली व्यवसायी र कामदारलाई फाइदा हुने भएमात्र लागू हुनुपर्छ भन्ने अडानमा मन्त्रालय रहेको उनको भनाइ छ। उनका अनुसार श्रमले यसअघि १६ र तीनबुँदे सुझाव पेस गरिसकेको छ। श्रमले बुधबारे पठाएको सुझावमा बायोमेटि्रक लागू गर्दा आवश्यक पर्ने सफ्टवेयर मलेसिया सरकारले निःशुल्क दिनुपर्ने, स्वास्थ्य परीक्षण शुल्क नेपाल सरकारले तोकेअनुसार हुनुपर्ने, अतिरिक्त शुल्क लिन नहुने, स्वास्थ्य परीक्षणको गुणस्तरमा सम्झौता नहुने र बायोमेटि्रक लागू गर्न खोजिएका सबै मुलुकमा एकैचोटि गर्नुपर्ने सर्त उता पठाउन परराष्ट्रलाई सुझाइएको छ। 

परराष्ट्रका एक अधिकारीले श्रमबाट पाँचबुँदे सुझाव आएको पुष्टि गरे। 'हामीले आधिकारिक धारणा मागेपछि श्रम मन्त्रालयले बुधबार पठायो,' उनले भने। बायोमेटि्रक प्रणालीबारे अहिलेसम्म कुनै निर्णय नभएको भन्दै ती अधिकारीले श्रमले प्रस्तुत गरेको सुझावलाईसम्बोधन गर्न मलेसिया सरकारलाई कूटनीतिक रुपमा आग्रह गरिने बताए। यता बायोमेटि्रक प्रणालीको विपक्षमा उभिएका व्यवसायीले बुधबार पनि सडकमा धर्ना दिए। अनामनगरको हनुमानस्थानमा दिइएको धर्नामा नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसन, वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट संघ, स्वास्थ्य व्यवसाय संघर्ष समितिमा आबद्ध व्यवसायी सहभागी थिए। 

नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले यसबारे निर्णय नआउँदासम्म आन्दोलन जारी रहने बताए। बिहीबार भद्रकालीमा धर्ना दिने योजना छ। मलेसिया सरकारले नेपाललगायत १५ मुलुकका कामदारको बायोमेटि्रक तथ्यांक लिने भन्दै बेस्टिनेट कम्पनीलाई एजेन्ट तोकेको छ। त्यही कम्पनीसँग नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्झौता गरेको छ।

Published on: 19 June 2014 | Nagarik

Back to list

;