s

वायोमेट्रिक्समा ३८ मेडिकल सूचीकृत

मलेसियाको एउटा निजी कम्पनीले नेपालको ३८ मेडिकल सेन्टरमा बायोमेटि्रक प्रणाली लागू गर्न तिनको नाम सार्वजनिक गरेको छ । बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीले सरकारको स्वीकृति नलिई मलेसिया जाने कामदार र मेडिकल सेन्टर प्रभावित हुने गरी बायोमेटि्रक प्रणाली लागू गर्न लागेको हो ।

बेस्टिनेटले प्रकाशित गरेको सूचीमा परेका मेडिकलमा अमिताभ बुद्ध, एक्वालिटी, क्यापिटल, चेतना, कसमस, डाइनेस्टी, एभरेस्ट, फ्युजन, हिमालय, केआर, काष्ठमण्डप, कुलेश्वर पोलिक्लिनिक, लालुपाते, लोटस, मञ्जुश्री, भ्याली, मेरेडियन, न्यु वल्ड भ्यु, प्रशान्ति, पब्लिक हेल्थ, सहारा हेल्थ, समानान्तर, शिखर, सिर्जना, साउथ एसियन, सुब्बा, सुधा, सुनपाती, सनराइज, सनसाइन, सुपर, सिरप, टाइटन, उपत्यका, मार्कोपोलो, वेलकेयर, अनमोल र स्वणिर्म छन् । 

बेस्टिनेटद्वारा सञ्चालित एफडब्लूसीएमस डटकम डट एमवाईका अनुसार भारत र पाकिस्तानको ४/४, श्रीलंका र म्यानमारको २/२ र बंगलादेशको १ वटा मात्र मेडिकल सेन्टर बायोमेटि्रक प्रणालीका लागि छानिएका छन् । बायोमेटि्रक प्रणाली लागू गर्ने भनिएका इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, भियातनाम, क्याम्बोडियालगायतका अन्य मुलुकमा बेस्टिनेटले मेडिकल छान्न सकेको छैन । मलेसियाले पटकपटक बायोमेटि्रक प्रणाली लागू गर्ने मिति सार्दै आएको छ ।

नेपालस्थित मलेसियाली दूतावासले मेडिकल सेन्टरमा बायोमेटि्रक प्रणाली लागू गर्न बेस्टिनेटलाई 'आउटसोर्सिङ' गरेको भन्दै त्यस विषयमा करिब १ वर्षदेखि सरकारको धारणा माग्दै आएको थियो । स्वास्थ्य व्यवसायी महासंघले 'सेटिङ' मिलाउन भन्दै प्रतिमेडिकल सेन्टर कम्तीमा ५० लाख रुपैयाँ उठाएर आर्थिक चलखेल गरेपछि वाषिर्क करिब सवा लाख कामदार र करिब ३ सय मेडिकल प्रभावित हुने भए पनि बायोमेटि्रक प्रणालीका सम्बन्धमा श्रम तथा रोजगार मन्त्रालय मौन बस्दै आएको छ ।

करिब ३ सय २७ मध्ये ३८ वटा मेडिकल सेन्टरमा मात्र एकतर्फी रूपमा बायोमेटि्रक प्रणाली लागू हुने भएपछि व्यवसायीले चर्को विरोध गरिरहेका छन् । शुक्रबारदेखि उनीहरूले नियमित रूपमा धर्ना र प्रदर्शन गर्दै आएका छन् । अन्तिम निर्णय गर्ने अधिकार भएका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सबै मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने र शुल्क सरकारले तोकेबमोजिम हुने सर्तमा बायोमेटि्रक प्रणाली लागू गर्न सकिने सुझाव परराष्ट्र मन्त्रालय पठाएका छन् । 

'राज्यमन्त्री मलेसियाले एकतर्फी रूपमा बायोमेटि्रक प्रणाली लागू गरोस् भन्ने पक्षमा देखिन्छन्,' श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले भने, 'उनी बायोमेटि्रक प्रणाली लागू गर्ने निर्णय गरेर अपजस लिन चाहँदैनन् । कामदारको हितमा छैन भनेर अस्वीकार पनि गर्दैनन् ।'  राज्यमन्त्री गुरुङले परराष्ट्रलाई पठाएको पछिल्लो सुझावमा मलेसियाको कामदार स्रोत १४ देशमा बायोमेटि्रक प्रणाली लागू भए नेपालमा लागू गरिने भन्ने सर्त भने हटाएका छन् । त्यही विषयमा विवाद भएपछि तत्कालीन श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठलाई उनकै मागबमोजिम सरुवा गरिएको स्रोतको दाबी छ ।

मलेसियाको बायोमेटि्रक प्रणाली लागू भएपछि गरिने स्वास्थ्य परीक्षणलाई बायो मेडिकल भनिनेछ । तर बायोमेडिकलले मलेसियामा मान्यता पाउने छैन । आप्रवासी कामदारले मलेसिया पुगेको एक महिनाभित्र त्यहाँको कानुनअनुसार अनिवार्य रूपमा करिब ५ हजार ४ सय रुपैयाँ तिरेर पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ । मलेसियामा 'फरेन वर्कर्स मेडिकल एक्जामिनेसन मोनिटरिङ एजेन्सी' -फोमेमा) ले १५ वर्षका लागि सम्पूर्ण आप्रवासी कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको छ । फोमेमाको मलेसियाभरका मेडिकल सेन्टरमा ३ हजार ८ सय डाक्टर काम गर्छन् । वाषिर्क १० लाखभन्दा बढी आप्रवासी कामदारको स्वास्थ् परीक्षण गर्ने फोमेमाको करिब एक हजार एक्सरे र करिब डेढ सय प्रयोगशाला छन् । 'मलेसियामा मान्यता नपाउने भए नेपाललाई किन बायोमेडिकल चाहियो ?' वैदेशिक रोजगार संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले भने । 

बायोमेटि्रक प्रणालीविरुद्ध स्वास्थ्य व्यवसायी महासंघ संघर्ष समिति, वैदेशिक रोजगार मेडिकल एसोसिएसन, अभिमुखीकरण व्यवसायी महासंघ, वैदेशिक रोजगार संघ,  वैदेशिक रोजगार लोकतान्त्रिक मञ्च, वैदेशिक रोजगार तमु धीँ, एजेन्ट संघलगायत संघसंस्थाले ४ दिनयता निरन्तर विरोध, प्रदर्शन र धर्ना गरिरहेका छन् । म्यानपावर व्यवसायीहरू भने बायोमेटि्रक प्रणाली लागू गर्नै नहुने, स्वास्थ्य व्यवसायीरू सबै मेडिकल सेन्टरमा लागू भए स्वीकार्य हुने पक्षमा देखिएका छन् । स्वास्थ्य व्यवसायीहरूले सुरक्षासँग सम्बन्धित नभएकाले बायोमेटि्रक मेडिकल सेन्टरमा राखिन नहुने माग पनि गरेका छन् ।

फाइदा

  -  मलेसिया आप्रवासी कामदारबाट सुरक्षित हुने ।

बेफाइदा

 -   स्वास्थ्य परीक्षण शुल्क २६ सयबाट १९ हजार ५ सय पुग्ने ।

 -  ३ पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने ।

 -   बायोमेडिकलको कसिमनबापत कामदारको वार्षिक कम्तीमा साढे ३१ करोड रुपैयाँ बेस्टिनेटले लैजाने ।

 -   कम्तीमा २ सय ८९ मेडिकल बन्द हुने

 -   ३२ सय प्रत्यक्ष रोजगारी गुम्ने ।

 -   मलेसियाली एजेन्टले लिने अवैध कमिसन नरोकिने ।

 -   नक्कली मेडिकल रिपोर्ट बन्न नरोकिने ।

 -   स्वास्थ व्यवसायी महासंघको सिन्डिकेट र कार्टेलिङ हुने ।

 -   बायोमेडिकल अपलोड गरिएको वेबलिंक सरकार र म्यानपावर कम्पनीसँग नहुने ।

 -   हरेक मेडिकल सेन्टरले कस्टमाइज्ड सफ्टवेयरका ८ लाख रुपैयाँ तिर्नुपर्ने

 -   कामदार र देशलाई कुनै फाइदा नहुने ।

Published on: 18 June 2014 | Kantipur

Back to list

;