s

बायोमेटि्रकमा शुल्क नलिन श्रमको पत्राचार

चर्को विरोध र परराष्ट्रको असन्तुष्टिपछि श्रम तथा रोजगार मन्त्रालयले बायोमेटि्रक प्रणाली कामदार र व्यवसायीको पक्षमा हुनुपर्ने सर्त राखेको छ । मलेसियाले उक्त सर्त माने बायोमेटि्रकका लागि कामदार र व्यवसायीले शुल्क तिर्नुपर्ने छैन । 

श्रमले बायोमेटि्रक प्रणालीबापत मलेसिया जाने कामदारले थप शुल्क तिर्नु नपर्ने, सरकारी मान्यताप्राप्त सबै मेडिकल सेन्टरलाई बायोमेटि्रक सफ्टवेयर र उपकरण निःशुल्क उपलब्ध गराउनुपर्ने, सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्कमै स्वास्थ्य परीक्षण गर्नुपर्ने, १४ वटा देशमा एकैपटक लागू हुनुपर्ने सर्त राखेको हो । उक्त सर्तसहितको राय श्रमले बुधबार परराष्ट्र पठाएको श्रम प्रवक्ता बुद्धिबहादुर खड्काले बताए । 'पहिला दुईपटक राय पठाएका थियौं,' उनले भने, 'परराष्ट्रले त्यसमा केही अस्पष्टता देखियो भनेपछि स्पष्ट गरेका हौं ।' 

श्रमले परराष्ट्रलाई बायोमेटि्रकका सम्बन्धमा २ पटक राय पठाएको थियो । पहिलोपटक पठाएको १६ बुँदे राय बायोमेटि्रक लागू नगर्ने आशयको थियो । त्यसमा भएका बुँदा र सर्त विरोधाभासपूर्ण थिए । दोस्रोपटक पठाएको ३ बुँदे राय बायोमेटि्रक प्रणाली ससर्त लागू गर्न सकिने आशयको थियो  आपसमा राय बाझिएपछि परराष्ट्रले श्रमलाई स्पष्ट पार्न पत्राचार गरेको थियो । 'श्रमबाट बायोमेटि्रकका सम्बन्धमा प्रस्ट धारणा आएको छ,' परराष्ट्रका दक्षिणपूर्वी एसिया र प्यासिफिक डिभिजन प्रमुख अर्जुनकान्त मैनालीले भने, 'त्यसलाई मलेसिया दूतावास पठाउँछौं ।'

Published on: 22 June 2014 | Kantipur

Back to list

;