s

विराटनगर क्याम्प भारतले नहटाउने

 देवेन्द्र भट्टराई
 
भारत सरकारले विराटनगरमा ७ वर्षयता सञ्चालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने भन्दै त्यसको साटो ‘रेसिप्रोकल’ आधारमा भारतमा नेपाली कन्सुलर अफिस खोल्न अनुमति दिन सकिने जनाएको छ।
 
२०६५ भदौमा पूर्वी नेपालमा आएको बाढीपहिरोले कोसी नदीमाथिको नियमित सडकमार्ग भत्किएपछि सवारी आवागमन सहजीकरणका लागि बिहार हुँदै नेपाल छिर्नुपर्ने अवस्था आइपरेको थियो। पूर्व–पश्चिम यातायात आवागमनका लागि रुट पर्मिट दिन भारतीय दूतावासले विराटनगरमा खोलेको क्याम्प अफिस अहिले कूटनीतिक सम्पर्क कार्यालयका रूपमा स्थापित भइसकेको छ। ‘पछिल्लो साता पनि विराटनगरस्थित क्याम्प अफिस छेउछाउमै सुतली बम पड्काइएको जानकारी हामीले पाएका थियौं,’ विदेश मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘अब छिट्टै नेपाल–भारतबीच विराटनगर (जोगबनी) सहितका नाकाहरूमा संयुक्त चेकपोस्ट सञ्चालन हुनेछ।
 
सीमावर्ती विन्दुहरूमा सुख्खा बन्दरगाह योजना र रेल्वे सम्पर्क परियोजना विस्तारित हुँदै जाने सहमति जुटिसकेको छ। यसबेला भारत सरकारले सम्पर्क सहजीकरण र आइपर्ने सीमावर्ती कागजी प्रक्रियालाई सहज बनाउन पनि विराटनगर कार्यालय जरुरी रहेको निर्णय भइसकेको छ।’
भारतले वीरगन्जमा पनि महावाणिज्य दूतावास कार्यालय सञ्चालनमा राखेको छ। नेपालले दिल्लीमा दूतावास र कोलकातामा महावाणिज्य दूतावास राखेको छ। ‘अहिलेसम्म रेसिप्रोकिसिटी आधारमा कोलकाता र वीरगन्जका नेपाल–भारत महावाणिज्य दूतावासलाई लिने गरिएको थियो,’ दिल्लीस्थित दूतावासका एक अधिकारीले भने, ‘अब भने भारतले विराटनगरस्थित आफ्नो सम्पर्क अफिसलाई पनि कूटनीतिक हैसियत प्रदान गर्न चाहेको स्पष्ट भएको छ।’
 
नेपाल सरकारले महाराष्ट्रको मुम्बईमा नेपाली महावाणिज्य दूतावास खोल्न चाहे पनि भारतले यसमा ‘सहमति’ जनाएको थिएन। तर अब प्रस्तावमा छलफल अगाडि बढाइने विदेश मन्त्रालयका अधिकारीले जनाए।
 
विराटनगर क्याम्प हटाउन राजनीतिक दल र नागरिक समाजले भन्दै आएका छन्। सन् २००८ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्ली भ्रमण क्रममा भारत सरकारलाई क्याम्प हटाउन लिखित आग्रह गरेका
थिए। त्यसपछि माओवादीसहित ३३ दलले काठमाडौंस्थित भारतीय दूतावासमा पनि ज्ञापनपत्र दिइसकेका छन्। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले २०११ जनवरी ३१ र २०१३ फेब्रुअरी १७ मा दुई पटक पत्राचार गरिसकेको छ। विराटनगरस्थित भारतीय क्याम्प अफिसको तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए।
 
Published on: 6 September 2015 | Kantipur
 

Back to list

;