s

ब्रिटिस सेनाका पूर्वकर्नेल जेपीलाई नेपाली नागरिकता

गोविन्द परियार  

तीन दशकदेखि नेपाल बस्दै आएका ब्रिटिस सेनाका पूर्वकर्नेल जेपी (जन फिलिप) क्रसलले शुक्रबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। पोखराको नयाँबस्तीमा बस्दै आएका ९१ वर्षीय जेपीलाई जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रालयले नेपाली अंगीकृत नागरिकता प्रदान गरेको हो। यसका लागि उनले लामो समय संघर्ष गर्नुपर्‍यो।

'बल्ल मलाई जीवनको गर्व लागेको छ', नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि जेपीले अन्नपूर्णसँग भने, 'मलाई नागरिकता दिलाउन प्रयास गर्ने सबैलाई हृदयदेखि आभार व्यक्त गर्छु।' लामो समय ब्रिटिस-गोर्खासँग काम गरेका जेपी नेपालीकै कारण ठूला युद्धबाट आफू बचेको भन्दै नेपालमै मर्ने इच्छा राखेर पोखरामा बस्दै आएका हुन्। जेपीले लमजुङका बुद्धिमान गुरुङलाई धर्मछोरा बनाएर सँगै राखेका छन्। 'मेरो सपना बल्ल पूरा भयो', धर्मबाबुले नागरिकता पाएपछि बुद्धिले भने, 'अब हाम्रो सम्बन्धलाई राष्ट्रले मान्यता दियो।' जेपी पोखरामा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छन्।

बेलायती नागरिकता त्यागेर नेपाली पाउन उनले पटकपटक निवेदन दिएका थिए। नेपाली नागरिकता पाउन जेपीले गरेको संघर्ष सञ्चारमाध्यामबाट थाहा पाएपछि राष्ट्रपति रामवरण यादवले त्यसका लागि पहल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। राष्ट्रपतिको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रक्रिया थालेको थियो। नागरिकता ऐनमा १५ वर्ष नेपाल बसेका, नेपाली भाषा बोल्न र लेख्‍न जान्‍ने विदेशीले निवेदन दिए अंगीकृत नागरिकता दिन सकिने व्यवस्था छ। जेपी २०४१ सालदेखि नेपालमा बसेका हुन्। उनले नेपाली भाषामा स्नातकोत्तर गरेका छन्।

विगतमा प्रशासनले नागरिकता पाउन उनले दिएको निवेदनमा विभिन्न समस्या देखाउँदै पेन्डिङमा राखेको थियो। सुरुमा उनले २०४२ सालमा गृहमा निवेदन दिएका थिए। २०४१ सालमा गैरपर्यटकीय भिसा पाएका जेपीले बेलायती नागरिकता भने २०५९ मा त्यागेका थिए।

Published  on: 15 November 2014 | Annapurna Post

Back to list

;