s

चेली बेच्नेलाई ३७ वर्ष कैद

चेलिबेटी बेचबिखन अभियोगमा जिल्ला अदालतले ३७ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले मानव बेच्न सक्रिय रहेको प्रमाणित गर्दै ध्याङफेदी गाविसका काले तामाङलाई उक्त सजाय तोकेको हो । अर्का अभियुक्त पेम्बा तामाङलाई पनि ३० वर्ष कैद सजाय सुनाएको छ । ०६७ पुस ७ मा दुप्चेश्वर मेलाबाट महिलालाई फकाई भारत लगी बेच्ने कालेलाई २ लाख ६२ हजार ५ सय जरिवानासहित १ लाख २५ हजार क्षतिपूर्ति तोकेको हो । यस्तै पेम्बालाई २ लाख जरिवानासहित १ लाख २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार केशव पराजुलीले बताए । यस्तै शिखरबेंसीका दुई महिलालाई दुई वर्षअघि भारत पुर्‍याई बिक्री गरेको अर्को मुद्दामा कालेलाई १५ वर्ष कैद सजाय र १ लाख जरिवानाका साथै ५० हजार क्षतिपूर्ति भराउन अदालतले फैसला गरेको छ । सोही अपराधका अन्य चार आरोपी फरार रहेका छन् ।

Published on: 28 March 2014 | Kantipur

Back to list

;