s

चीनतिर तानिए युवती

तनहुँकी एक युवती अहिले राजधानी बसेर चीन जाने तयारी गरिरहेकी छन्। रोजगारका लागि छिमेकी देश चीन लैजाने सपना देखाएर एजेन्टले नै उनलाई राजधानी बोलायो र झटपट चिनियाँ नागरिकसँग बिहे पनि गराइदियो। तर, ती युवतीलाई चिनियाँ भाषा आउँदैन। न बुझिछन् न बोल्नै सक्छिन्। तिनलाई यत्ति थाहा छ, अबको केही दिनमै चिनियाँ दुलाहाले विदेश पुर्याैउनेछ। र, चिनियाँ सहरमै तिनको नयाँ करिअर सुरु हुनेछ।

ती युवती मात्र होइन, अन्य ९ जना नेपाली युवती पनि चिनियाँ पुरुषसँग विवाह गरेर चीन उड्ने दिन कुरिरहेका छन्। उनीहरु सबै एकसाथ चीन जानेछन् तर सबै एकै सहर होइन, कोही राजधानी बेइजिङ त कोही कुन्मिङ, कोही सांघाई त कोही हुयान। 

चीन प्रवेश गरेपछि कहाँ बस्ने, के काम गर्ने? उनीहरु कसैलाई पनि पत्तो छैन।  जिन्दगीभर सँगै जिउनुपर्ने दुलाहा–दुलहीबीच विवाहअघि के के कुरा मिल्नुपर्छ? परम्पराअनुसार केकस्तो तयारी गर्नुपर्छ? 

‘एक–अर्काको भावना, रहनसहन, भाषा, संस्कृति, खानपान। उनीहरुलाई त्यो पनि मतलब छैन।

‘अब हाम्रो ग्रुपमा एक जना चिनियाँ केटो बाँकी छ उसको पनि विवाह भएपछि सबैजना सँगै चीन जाने हो,' तनहुँकी २१ वर्षीया अर्चना तामाङ (परिवर्तित)ले नागरिकसँग भनिन्, ‘भाषा उतै गएर सिक्ने हो।'

काठमाडौंमा अहिले यस्ता नेपाली युवती र चिनियाँ युवकबीच विवाह भइरहेको छ जसले न एकअर्कालाई विवाह हुनु साताअघिसम्म देखेकासम्म थिएनन्। कुराकानी त एकअर्काका भाषा बुझे पो!भावना साटासाट गर्न उनीहरु तेस्रो साझा भाषा पनि जान्दैनन्। 

नेपाली युवतीले बोलेको नेपाली भाषा चिनियाँ युवकले बुझ्दैनन् चिनियाँ युवकले बोलेको चिनियाँ भाषा नेपाली युवतीले। तै पनि नेपाली कलिला युवती धमाधम चिनियाँ युवकसँग अदालती विवाह (कोर्ट म्यारिज) गरिरहेका छन्। 

यसरी विवाह गर्ने नेपाली युवती आफ्नो विवाहबारे आफन्तलाई समेत बताउँदैनन्। कसैले थाहा पाएर सोधिहाले ‘लभ म्यारिज' (प्रेम विवाह) भन्छन्। कसरी भेट भयो केटासित भनेर सोधे जिमेल, फेसबुक र भाइबारमार्फत कुराकानी गर्दा प्रेम बसेको बताउँछन्। तर उनीहरुलाई कुन भाषामा कुरा गरेको भनी सोधियो भने अक्क न बक्क पर्छन्। 

चीनमा फेसबुक र भाइबरले काम गर्दैन भन्ने पनि पत्तो छैन यी अबलालाई।पछिल्ला दिन राजधानीमा नेपाली युवतीलाई चिनियाँ युवकसँग कानुनी विवाह गराएर चीन पुर्यानउने एजेन्टको गिरोह नै सक्रिय देखिएको छ।

आपसमा अपरिचित, एकअर्काको भाषा नबुझ्ने यस्ता नेपाली कलिला युवती र चिनियाँ पुरुषबीच विवाह गराउन नेपाल र चीन दुवै देशमा एजेन्टको गिरोह नै सक्रिय देखिन्छ। एजेन्टले विभिन्न प्रलोभन देखाई नेपाली युवतीको विवाह चिनियाँ पुरुषसँग गराउने गरेका छन्। यसबापत एजेन्टले चिनियाँ पुरुषसँग १९ लाख र नेपाली युवतीसँग १ लाख रुपैयाँ गरी २० लाख रुपैयाँसम्म असुल्छन्। त्यसपछि प्रक्रियामा लाग्ने नागरिकतादेखि राहदानी बनाउनेसम्मको खर्च एजेन्टले नै बेहोछन्। विवाह पनि एजेन्टले नै गराइदिन्छन्। विवाहमा साक्षी बस्ने पनि एजेन्ट, आफन्त बन्ने पनि एजेन्ट।

तामाङले आफू महाराजगन्जस्थित एक एजेन्ट (कोरियन अफिस) को कार्यालयमार्फत विवाह गरी चीन जान लागेको बताइन्। तर उक्त कार्यालय महाराजगन्जमा कहाँनेर छ र त्यसको सञ्चालकबारे भने केही बताउन चाहिनन्। ‘हामीभन्दा अघि तीन ग्रुप गइसके। एउटा ग्रुपमा १५ जनासम्म हुन्छन्,' उनले भनिन्।

चिनियाँ पुरुषसँग विवाह गर्न भनेर उनी १५ दिनअघि मात्र काठमाडौं आएकी थिइन्। आएको तीन दिनमै उनले चिनियाँ पुरुषसँग कोर्ट म्यारिज गरिन्। आफूसँग कोर्ट म्यारिज गर्ने केटोले १९ लाख र आफूले १ लाख रुपैयाँ एजेन्टलाई दिएको उनले बताइन्। 

आफूले एजेन्टलाई दिएको १ लाख रुपैयाँ पनि चिनियाँ पुरुषले नै उपलब्ध गराएको उनले सुनाइन्। ‘विवाह गराइदिएबापत एजेन्टलाई २० लाख रुपैयाँ बुझाउनुपर्छ। यो उनीहरुको रेट नै हो,' तामाङले भनिन्। 

उनका अनुसार केटाकेटी दुवै काठमाडौं आइपुगेपछि उनीहरुलाई ठमेलस्थित विभिन्न होटलमा राखिन्छ। बिहे गर्न आएका चिनियाँ पुरुष सबै धनाढ्य र उद्योगपति भनेर चिनाइन्छ। त्यति मात्र होइन, युवतीले बस्ने, खाने, घुम्ने र पकेट खर्च पनि एकदेखि ३ लाखसम्म चिनियाँ दुलाहाबाटै पाउँछन्। 

‘कोर्ट म्यारिज गरे पनि नेपालमा बस्दासम्म सँगै सुत्नुपर्दैन। चीन पुगेपछि आफ्नो इच्छा,' अर्चनाले सुनाइन्। चिनियाँ पुरुषसँगै विवाह गर्नुको कारण र चीन गएपछि के गर्ने भन्नेचाहिँ उनले खुलाउन चाहिनन्। उनले भनिन्, ‘महिनाको ४० हजार रुपैयाँ नेपाल पठाइदिन्छु भनेको छ।'

चिनियाँसँग विवाह गरेपछि चिनियाँ भिसा सहजै लाग्छ। भिसाका लागि जिल्ला प्रशासन कार्यालयले जारी गर्ने विवाहको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि बिनाझन्झट चिनियाँ भिसा लाग्ने उनले जनाइन्। 
परराष्ट्रको कन्सुलर विभागले चिनियाँ पुरुषसँग विवाह गरेका नेपाली महिला विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न आउने गरेको बतायो। 

‘अहिले चिनियाँ पुरुषसँग विवाह गरी विवाह प्रमाणपत्र प्रमाणीकरण गर्न आउने एउटा ट्रेन्डजस्तो देखिएको छ। पहिले यस्तो थिएन। यसकारण किन यस्तो भइरहेको छ भन्ने हामी बुझ्ने प्रयास गर्दैछौं,' कन्सुलर विभागका निमित्त महानिर्देशक दीपक अधिकारीले बताए।

नेपाली महिला र चिनियाँ पुरुषबीच कोर्ट म्यारिज भएको तथ्यांक खोज्दा यो आर्थिक वर्ष २०७१/७२ सुरु भएयता ललितपुर जिल्ला प्रशासनमा ७ जोडी, भक्तपुरमा ६ जोडी र काठमाडौंमा एक जोडीले विवाह गरेको भेटिन्छ। 

‘चिनियाँ पुरुषसँग विवाह गर्ने अधिकांश महिला चीनसँग सिमाना जोडिएका जिल्लाका छन्,' ललितपुर जिल्ला प्रशासन कार्यालय विवाह शाखाका सालिकराम मिश्रले जानकारी दिए।  विवाह गर्न नेपाल आउने केही चिनियाँ पुरुषको विवरणअनुसार उनीहरुको उमेर ३४ देखि ६० वर्षको छ। उनीहरुसँग विवाह गर्ने नेपाली महिलाको उमेर भने २१ देखि २५ वर्ष देखिन्छ। यसरी विवाह गर्ने धेरैको शैक्षिक योग्यता १० पास मात्र छ। चिनियाँ पुरुषसँग विवाह गर्ने महिला धेरैजसो डिस्को, डान्स, रेस्टुरेन्टमा काम गर्नेहरु रहेको छन्। तामाङका अनुसार कोर्ट म्यारिज गरिसकेपछि युवतीलाई मोबाइल प्रयोग गर्न प्रायः दिइँदैन। 

‘उनीहरुको देशका महिला बढी डिस्को जाने, पैसा खर्च गर्ने, काम नगर्ने प्रवृत्तिका भएकाले नेपाली केटीसँग विवाह गर्ने रहेछन्,' किन विवाह गर्न नेपाली केटी नै खोजेका होलान् भन्ने जिज्ञासामा उनले सुनाइन्।

सिन्धुपलाञ्चोकसँग सीमा जोडिएको चीनको नाका खासा बजारमा सञ्चालित डिस्को, डान्सहरुमा नेपाली युवती पुर्याकइएको र त्यहाँ उनीहरुलाई यौनधन्धामा लगाइने गरेको तथ्य बेलाबखतमा बाहिर आउने गरेको थियो। यस्तै मानवतस्करले विभिन्न प्रलोभन देखाई भारत हुँदै नेपाली युवतीलाई अफ्रिकी राष्ट्र युगान्डा, केन्या, नाइजेरियाका डान्स र डिस्कोमा पुर्यानएका तथ्य पनि बेलाबखत सार्वजनिक हुँदै आएका थिए। अवैध तरिकाले मलेसिया र खाडी राष्ट्रमा पुगी त्यहाँका डान्स र डिस्कोमा पनि नेपाली युवती काम गरिरहेका छन्। तर एजेन्टलाई लाखौं रुपैयाँ बुझाई नेपाली महिलासँग विवाह गरी चीन लाने यो ट्रेन्ड भने नौलो देखिएको अधिकारीले बताए। 

यसअघि दक्षिण कोरियामा भने विवाह गरी नेपाली महिला जाने गरेको भेटिन्छ। अहिले जसरी चिनियाँ पुरुषसँग विवाह गराइएको छ, ठिक त्यसरी नै एजेन्टहरुले लाखौं रुपैयाँ लिई नेपाली युवतीको विवाह कोरियन पुरुषसँग गराउँदै आएका थिए र यो क्रम अझै रोकिएको छैन। 

भाषा, संस्कृति, रहनसहन नबुझी प्रलोभनमा परी कोरियन नागरिकसँग विवाह गरी जाने महिलाले त्यहाँ यातना सहन नसकी आत्महत्या गर्न थालेपछि सरकारले छानबिन गर्न सन् २०१३ मा एउटा कार्यदल गठन गरेको थियो। सबै कुरा बुझेर विवाह गर्ने थोरै महिलाले मात्र त्यहाँ सुखी जीवन बिताएको निष्कर्ष कार्यदलले निकालेको थियो।

‘महिलाहरु कागजी रुपमा मात्र विवाह गर्ने र कोरियामा आएर काम गर्ने मानसिकता लिएर आएका हुन्छन्। कोरिया आइसकेपछि सोचेमुताविक काम नपाइने, भिसा नवीकरण गर्ने बेला कागज बनाउन जोडीले मोटो रकम माग्ने र सक्कली नै विवाह गरेकामा धेरैजसो आफूभन्दा धेरै पाको, अशिक्षित छन्,' कार्यदलले सन् २०१३ को डिसेम्बरमा सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। 

कोरियन नागरिकसँग विवाह गरी कोरिया भित्रने नेपाली महिलाको संख्या एक हजार बढी रहेको त्यतिबेलै प्रतिवेदनमा जनाइएको थियो। ‘उमेर धेरै खाइसकेका, विवाह गरेर पारपाचुके गरिसकेका, शारीरिक, मानसिक तथा आर्थिक रुपले अक्षम कोरियनले नेपाली केटीलाई नेपालमा विभिन्न प्रलोभन देखाउने, कोरियन कम्पनीको मालिक भनेर चिनाउने, आफूले सोचेको काम गर्न पाउने र स्वदेशमा पैसा पठाउन मिल्ने आदि प्रलोभन देखाई दलालले विवाह गराउने तर कोरिया पुगेपछि यौन शोषण गरी दुर्व्यवहार गरेका धेरै उदाहरण पाइएका छन्,' प्रतिवेदनमा छ

कार्यदलले त्यतिबेलै सरकारलाई अवैधानिक रुपले विवाह गराउने समूहलाई बढीभन्दा बढी निगरानी राखी र कडा कारबाही गर्न सिफारिस गरेको भए पनि हालसम्म यस्ता एजेन्टलाई कारबाही हुन सकेको छैन। बरु एजेन्टलाई आफ्नो क्षेत्र विस्तार गर्दै चिनियाँ पुरुषसँग पनि विवाह गराई चीन पठाउन थालेका छन्।

Published on: 13 February 2015 | Nagarik

 

Back to list

;