s

दिल्ली दर्पण: पहिचान नखुलेको बयान

देवेन्द्र भट्टराई

२०१३ को डिसेम्बर १७ मा एउटा जानकारी आयो, प्रेस-नोटका रूपमा । हिमाञ्चल प्रदेश, कुल्लु जिल्ला प्रहरी कार्यालयले पठाएको नोटमा एक अमेरिकी युवतीलाई बलात्कार तथा लुटपाट गरेको अभियोगमा अदालतले यसमा संलग्न तीनजना अभियोगीलाई २०/२० वर्ष जेल सजाय सुनाएको रहेछ । नेपालबाट आएका भनिएका लक्की, अर्जुन र सोमबहादुर यो घटनामा संलग्न रहेछन् । गत वर्ष जून ६ को रातमा कुल्लु-मनालीमा भएको उक्त घटनापछि युवतीले स्थानीय प्रहरीमा गरेको किटानी जाहेरीका आधारमा अभियोगीहरू पक्राउ परेको र अदालती प्रक्रियामा कडा सजाय सुनाइएको खबर दिल्लीका प्रमुख खबरपत्रमा छापिएको थियो । तर खबर छापिएपछि पनि एउटा 'अन्योल' भने यथावतै थियो । यस्तो अन्योल जहाँ अभियुक्तको ठामठेगाना केही खुलेको छैन ।

त्यसपछि खोजबिन गर्दै कुल्लु जिल्लाका प्रहरी प्रमुख -एसपी) डा.विनोद धवनलाई तीनजना आरोपितको ठेगाना र नेपाली पहिचान बारेमा पत्राचार भयो । एसपी धवनले तत्कालै जवाफ फर्काए, 'लक्की— सोलाङ गाउँ, पाल्चन, मनाली । अर्जुन— पि्रनी, मनाली । सोमबहादुर— एलियो गाउँ, पि्रनी, मनाली । तर लामो समयदेखि यतै श्रमिक काममा संलग्न यिनीहरूको नेपालको ठेगाना भने थाहा छैन । उनीहरूलाई अहिले सिरमोर जिल्लाको नाहान केन्द्रीय जेलमा राखिएको छ । तपाई भेट्न आउने हो भने मद्दत गर्न तत्पर छौं ।'

यति ठूलो समाचारको विषय बनेको यो विषय केही दिनसम्म अखबारमा छायो, अनि सेलायो । प्रहरीले दिएको जानकारीमा नेपाली मूलका भनिएका तीन व्यक्तिलाई २०/२० वर्षसम्म जेल सजाय भएको छ, तर तिनीहरू नेपालको कुन ठेगाना, कहाँका हुन्— कसैलाई पत्तो छैन । दिल्लीस्थित नेपाली दूतावासमा पनि यी अभियुक्त भनिएका व्यक्तिको बारेमा कुल्लु प्रहरीबाट कुनै सूचना आएन । यसकारण दूतावासले आफैंले हतार गर्दै यो 'पहिचान नखुलेको बयान'मा सोधीखोजी गर्ने चासो राखेन नै । सधैंझैं 'यदि ती नेपाली हुन् भने दूतावासलाई आफैं अवगत गराइन्छ नै' भन्दै दूतावास आफ्नै कर्मधर्ममा व्यस्त बनिरह्यो ।

धेरैपछि गत बुधबार साउथदिल्लीको वसन्तकुञ्ज क्षेत्रमा अर्को बलात्कार घटना स्थानीय अखबारका लागि फेरि समाचारको खुराक बन्यो । 'मूल रूप से नेपालकी रहनेवाली १९ सालकी लड्की' भन्दै स्थानीय हिन्दी अखबारहरूले फेरि अर्को अपुष्ट नेपाली हुलिया यो समाचारमा पनि जोडे । त्यही खबरका आधारमा प्रवासी नेपाली मित्र मञ्चका प्रतिनिधि वसन्त कुञ्ज प्रहरीमा पुगे, भनिएको घटना स्थलमा पुगे । तर 'हाल महिपालपुर बस्ने नेपाल ठेगाना नखुलेकी युवती'को धुमिल पहिचानमात्रै उनीहरूले पाए । आफूले पाएको जानकारी आधारमा गत बिहीबार मञ्चका केही सदस्यले नेपाली दूतावासमा बुझबुझारथबारे निवेदन पनि दिए । तर यो विषयमा पनि सधैंझैं पहिचान नखुलेको अवस्था रहेकै थियो । त्यसकारण सोधपुछ र अनुसन्धान पनि काउन्सिलरको टेबलमै अझै अल्भिmरहेकै छ ।

यस्ता घटना नियमित आकस्मिकता झैं भारतमा दिनहुँ जसो भैरहने गरेका छन् । यसमा कतिपय मिडियामा आउँछन्, कति त्यसै सेलाएर जान्छन् । कुनै अभियुक्तका बारेमा हुलिया खुलाउनुपर्दा अनावश्यक रूपमा 'नेपालको बोर्डर रक्सौल', 'नेपालको बोर्डर जोगवनी' अथवा 'नेपाल बोर्डर पानीट्याङ्की'बाट पक्राउ गरिएको भन्दै जोडिएकै हुन्छ । त्यसमाथि अभियुक्तलाई प्रकारान्तरले नेपाल मूलथलो भनेर समाचारमा देखाउन जोड्न सकेमा मात्रै लेखाइ अर्थपूर्ण बन्नसक्ने परिपाटी यथावत देखिन्छ । यो रोग विशेषतः यहाँका लोकल मिडियामा बढी देखिन्छ ।

यो पहिचान नखुलेको बयान र खुराकका सामु हामी कहाँ छौं त ? 'अरुले समेत ठाडै औंला डठ्याउन सक्ने अवस्थामा हामी पनि रहेछौं' भनेर फेरि यो साता अर्को घटना थपिएको छ । सिन्धुपाल्चोकको इचोक गाउँबाट बाटामा पर्ने माइती नेपाल र माइती इन्डियाका गौंडाहरू छल्दै बिक्रीमा ल्याइएका दुई किशोरीको कथामा यो साता नेपाली दूतावास जोडिएको छ । स्थानीय नेपाली समाजका केही प्रतिनिधिले यी युवतीलाई दिल्ली आसपासका मुकाममा लुकाएर राखिएको अवस्थामा छापा मारेर नेपाली दूतावासमा ल्याएर बुझाएका थिए । ४ लाख रुपैयाँमा बिक्री भएका १५/१६ वर्षे दुई युवती र ती युवती बेच्ने मुख्य एजेन्ट महिला सहित दूतावास परिसरकै आश्रय स्थलमा राखिएको थियो । यी मार्फत चेलीबेटी बेचबिखनको गिरोह पहिल्याउन र एकैचोटी कारबाहीको प्रक्रियामा जान केही दिन आश्रयमा राख्ने निधो भए बमोजिम बेचिने र बेच्ने तीनैजना दूतावासमा आश्रति थिए । तर एकाएक यी तीनैजना आइतबार बिहानदेखि दूतावासबाट बेपत्ता बनेपछि एउटा जिज्ञासा उब्जिएको छ— अरुका बारेमा अनेक प्रश्न र आशंका गरिरहने हामी आफैं भने कति ठीक छौं ?

यी युवतीलाई आश्रय दिइएको कोठाको माथिल्लोपट्टि रहेको कक्षमा यसै साता एकरात गृहमन्त्री वामदेव गौतम र अर्कोरात एमाले नेता माधवकुमार नेपाल विशिष्ट पाहुना बनेर बसेका थिए । यसको अर्थ सुरक्षा र निगरानीको मुख्य केन्द्रमा रहेकै स्थानमा आश्रयस्थल पनि राखिएको छ । अर्कातिर दूतावासका चार्ज डे अफेयर्स, काउन्सिलर सहितका कूटनीतिक कर्मचारीहरू बस्ने दूतावास परिसरमा जोकोही छिर्न हम्मे पर्ने गरेको छ । कूटनीतिक मान मर्यादा र सुरक्षाको अर्थमा यो सबै स्वाभाविक हो । यसबेला दूतावासबाट भागेका किशोरीहरू सिन्धुपाल्चोक गाउँमा पुगेको अपुष्ट समाचार आइसकेको छ । तर योभन्दा महत्त्वपूर्ण जिज्ञासा भने सुरक्षा र निगरानीको यो किल्लाबाट कुनै एलियनझैं यी किशोरीहरू कसरी भाग्नसकेका हुन् ?

बिक्री गर्न ल्याइएका र उद्धारमा परेका किशोरीहरू एकाएक २४ घन्टा सुरक्षागार्ड रहने र दिल्ली केन्द्रमै सबैभन्दा अग्ला पर्खालले घेरिएको दूतावासबाट बेपत्ता बनिरहँदा नेपाली माझ कसले-कसलाई-कसरी-के जिज्ञासा राख्न सक्छ ? विचारणीय छ ।

यसकारण 'पहिचान नखुलेको बयान'को स्थिति अरुको प्रशासन र संयन्त्रमा मात्रै छैन, हाम्रैमा पनि छ भन्ने दृष्टान्त यो घटनाबाट छर्लङ्ग भएको छ । यो सधैंभरि 'अपजस' लागि रहने घटनाको छानबिन गर्नमा दूतावासका कूटनीतिक कर्मचारी र मातहतमा रहेका राष्ट्रिय अनुसन्धान, प्रहरी सेवाका अधिकारीहरू पछि पर्नु हुँदैन । यो संवेदनशील विषयमा समेत अरु बेलाझैं 'खोइ सोधपुछ गरियो, केही थाहा हुनसकेन' भनेर उम्किरहनुको अर्थले अर्को मिलेमतोको आशंका जन्माउन सक्छ । यसकारण पनि पहिचान नखुलेको यो बयानमा पहिचान खोज्ने काममा तदारुकता देखियोस्, आग्रह छ ।

Published on: 2 April 2014 | Kantipur

 

 

Back to list

;