s

डिपोर्ट' कामदार पठाउन कूटनीतिक प्रयास

रद्द गरिएको हस्तलिखित पासपोर्टमा भिसा भएको भन्दै मलेसियाली अध्यागमनले फर्काएका १७ जना नेपाली कामदारलाई पुनः मलेसिया पठाउन परराष्ट मन्त्रालयले पहल गर्ने भएको छ।

बिदामा आएका ती कामदारको हस्तलिखित पासपोर्टमा भएको प्रवेशाज्ञा अवैधानिक मान्दै गत शुक्रबार मलेसियाको अध्यागमनले यतै फिर्ता पठाएको थियो। उनीहरुलाई प्रवासी नेपाली समन्वय समितिले त्रिभुवन विमानस्थलबाट उद्धार गरी आफ्नो सेल्टरमा राखेको थियो। केही कामदार अहिले आफन्तकहाँ बसिररहेका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीले सबै कागजपत्र ठीक हुँदाहुँदै मलेसिया अध्यागमनले फिर्ता पठाएको विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको बताए। मन्त्रालयले नेपालस्थित मलेसियाली राजदूतावासलाई यस विषयमा बुझ्न मंगलबार बोलाएको बताउँदै मैनालीले कामदार र नेपाल सरकारको कुनै गल्ती नभईकन फिर्ता पठाएको भए पुनः मलेसिया पठाउन पहल गरिने जानकारी दिए।

'अहिले हामीले मलेसिया अध्यागमनले दिएको पत्रमात्र हेरेका छौं। यसलाई कूटनीतिक रुपमै छलफल गरेर अन्य कुनै कारण छ कि छैन त्यो बुझेर अरु प्रक्रिया अगाडि बढाउछौं,' उनले भने। कामदार फिर्ता भएको समाचार प्रकाशित भएपछि श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई बुझ्न निर्देशन दिएको थियो। विभागले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कामदारको विषयमा बुझिदिन आग्रह गरेको हो। 

फर्केका कामदारले विभागमा निवेदन दिएपछि यो कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने विषय भएकाले परराष्ट्रलाई पत्राचार गरिएको महानिर्देशक जगन्नाथ देवकोटाले बताए। 'अहिलेसम्म हेर्दा विभाग, परराष्ट्र, कामदार कसैको पनि दोष देखिँदैन मलेसिया अध्यागमनले कानुनविपरीत कामदार फिर्ता पठाएको छ। त्यसैले यसलाई कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ,' उनले भने। मलेसियाले नेपालमा बायोमेटि्रक, भिएलएनलगायत विभिन्न कुरा राख्न दबाब दिइरहेको बेला थप दबाब दिन सांकेतिक रुपमा कामदारलाई फिर्ता पठाएको पनि हुन सक्छ। यो विषयमा बुझ्नुपर्छ।'

१५ गते बिहीबार एयर एसियामार्फत मलेसिया पुगेका कामदारलाई एक रात मलेसियाको अध्यागमनले हिरासतमा राखेर १६ गते शुक्रबार एयर एसियाबाटै नेपाल फिर्ता पठाइदिएको थियो। बिदामा नेपाल आएका कामदारले राहदानी विभाग, वैदेशिक रोजगार विभागको सूचनाअनुसार नयाँ मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएका थिए। ती कामदारको पुनः श्रम स्वीकृति नयाँ एमआरपीमा भएको तर भिसा भएको पुरानो पासपोर्ट रद्द भएको भन्दै मलेसिया अध्यागमनले फिर्ता पठाएको थियो। फिर्ता भएर आउने १७ जनाकै हस्तलिखित पासपोर्टमा भिसा र एमआरपीमा श्रम स्वीकृति छ।

लगेजलगायतका अन्य सामान बोकेर मलेसिया पुगेका कामदारलाई अध्यागमनले फिर्ता पठाए पनि उनीहरुको सामान फिर्ता दिएको छैन। अध्यागमनले एयरलायन्समार्फत नै सामान फिर्ता पठाउने बताए पनि नआएको कामदारले बताएका छन्। आफ्नो ४० हजारदेखि एक लाख रुपैयाँसम्म टिकटमा खर्च भइसकेको फर्केका कामदारले जनाएका छन्।

Published on: 3 June 2014 | Annapurna Post

Back to list

;