s

देश-विदेश :विदेशको सीप, स्वदेशमा लगानी

मध्यपूर्वी मुलुक इजरायल अधीनस्थ द्वन्द्वग्रस्त क्षेत्र गाजापट्टीका खेतीपातीमा काम गरिरहेका बेला केही नेपाली कृषकहरूले सुन्न पाएका रहेछन्- इजरायली कृषि तरक्की । त्यहाँका जम्मा तीन प्रतिशत जनताले खेतीपाती गर्ने रहेछन् । तर त्यो खेतीको २० प्रतिशतले सिंगो इजरायललाई खानपिन पुर्‍याएर बाँकी ८० प्रतिशत उत्पादन भने अमेरिका र युरोपको बजारमा जाने रहेछ । हाम्रो नेपाललाई कृषिप्रधान भनिए पनि र यहाँ ८० प्रतिशत खेतीकिसानी जनता भए पनि हाम्रो हविगत के छ ? उल्टै ८० प्रतिशत खानेकुरा, उत्पादन भने बाहिरी दुनियाँबाट ओसार्नुपर्ने विडम्बना हामीसँग जो छ ।

यो अनौठो स्थितिबारे सोचविचार गर्दै र गाजाक्षेत्रमा कृषि प्रविधिको सीप सिकेर फिरेका केही किसानहरू यतिखेर काठमाडौंको जितपुरफेदीमा भेला भएका छन् । गि्रन हाउस पद्धतिमा बाह्रै महिना काँक्रा, धनियाँ, भेडे खोर्सानी, अकबरे खोर्सानी रायो, चमसुर उत्पादन गर्न कस्सिएका यी किसानहरूको दैनिकी आफैंमा उदाहरणीय छ । 'उता खेतीपातीको तरक्की सिकियो, त्यही सीप यहाँ पोख्न थालेका छौं,' अभियानका अगुवा खोजराज कटुवालले सुनाए, 'बढीमा दुई वर्षमा काठमाडौंको बजारमा हाम्रो दह्रो उपस्थिति रहने अठोट लिएका छौं ।'

'विदेशको सीप, स्वदेशमा लगानी' गर्ने भन्दै एक वर्ष अघिबाट कृषिप्रधान देश नेपालमा उपयुक्त जमिन र खेतपाती गर्दा पाइने सरकारी सहुलियत खोज्नमा खोजराजसहितका उत्साहित पात्रहरू लागिपरेका रहेछन् । इजरायलबाट फिरेका कृषिविद् डा. विष्णु चापागाईं -चितवन), खोजराज कटुवाल -धरान), राजनप्रसाद मैनाली -सर्लाही), रतिराम गौतम -काभ्रे), ठाकुर केसी -बागलुङ), सरिता कटुवाल -धरान), सूर्यनाथ योगी -नवलपरासी) सहितका एक दर्जन उत्साहित पात्रहरूले जितपुरफेदी-१ को २० रोपनी जमिनमा गोडमेल गर्न थालेको छ महिना पूरा भएको छ । उताबाट फिरेर उपयुक्त जमिन र भरथेग खोज्नमा महिनौं लगाएर थाकिसकेका उनीहरूलाई एउटा संयोगमा भेटिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य -मह) ले दिएको साथले यता अडिने भरथेग गरेको रहेछ । मदनकृष्णको आफ्नै जमिनमा कुनै उत्पादन नहोइन्जेल भाडासमेत तिर्नु नपर्ने गरी थालिएको अभियानको नामसमेत 'मह एगि्रकल्चर' जुराइएको रहेछ ।

'एउटै बोटबाट ८० केजीदेखि १२० केजीसम्म फल्ने टमाटरको उत्पादन सुरु भएको छ । नेपाली र इजरायली भिन्न बिजनका खोर्सानी, सेलेक र खासा -सलाद साग) हरू उत्पादन थालेका छौं,' खोजराज भन्दै थिए, 'धनियाँ पनि एकपटक लगाएर उखेल्ने होइन, कलमीजस्तै गरेर टिप्ने पद्धति चलाएका छौं ।' यो इजरायली सीप ल्याउनमा काठमाडौंस्थित इजरायली राजदूत डान स्टाभले व्यक्तिगत तहमा पनि सहयोग गरेका रहेछन् । जितपुरफेदीको खेतीपातीमा यी राजदूत भ्रमणमा गइरहने रहेछन् । गि्रन हाउसमा चाहिने प्लास्टिक छाना इजरायलबाट आएको रहेछ, बोटबिरुवामा थोपा-सिंचाइ गर्न पाइप भारतको मुम्बईबाट ल्याइएको रहेछ, माटो खुकुलो पार्न बिरुवामा हालिने नरिवलको जटा श्रीलंकाबाट भित्रिने रहेछ । 'विगतमा हाम्रो पेसा जेजस्तो भए पनि एउटा किसानका छोरालाई खेतीकिसानी सीप सिक्न त्यति समय नलाग्ने रहेछ,' इजरायल जानुअघि काभ्रेमा निमावि शिक्षक रहेका रतिराम गौतमले भने ।

यो समूहको कृषि-तरक्की सुनेर अर्थ मन्त्री भरतमोहन अधिकारी पनि जितपुरफेदी भ्रमणमा पुगेका रहेछन् । किसानलाई आवश्यक सहयोग गर्ने सदावर्ती आश्वासन उनले पनि दिएका रहेछन् । 'त्यसपछि विशेष कृषि औजार इजरायलबाट मगाउनुपर्ने भएकाले त्यसमा भन्सार सहुलियत माग्दै हामी एक साताभन्दा बढी सिंहदरबार धायौं,' खोजराजले सुनाए, 'तर अर्थ मन्त्री, कृषि मन्त्री र सचिवहरू कसैले पनि सहयोग गर्न भने चाहनुभएन ।' उनका बुझाइमा भारतमै पनि कृषि विषयमा पढ्ने र विज्ञ बन्नेले जमिनसहितको सरकारी सहुलियत पाउने गरेको रहेछ । हामीकहाँ भने खेतीपातीमा पानी हाल्ने पाइप बाहिरबाट ल्याउन पनि बढीमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने नियम छ ।

फेरि व्यक्तिगत प्रयास र निजी क्षेत्रको सहयोगमा भइरहेको खेतीपातीको उत्पादनपछि बजार कहाँ खोज्ने ? 'बजारको ग्यारेन्टी हामी आफैंले गर्ने हो, यहाँ राज्यको भरोसा गर्न सकिने स्थिति छैन,' सर्लाही घर भएका मैनालीले भने । यसरी आफ्नै स्थान र हैसियत पहिल्याउने क्रममा भाटभटेनीका मीनबहादुर गुरुङ र सिटी सेन्टरका राजेन्द्र अर्याललाई भेट गरेपछि यी कृषकको उत्पादन यसै सातादेखि यी दुवै सेन्टरमा बिक्रीमा जान थालेको छ । 'आँट गरेमा गर्न सकिन्छ' भन्ने मान्यतामा उभिएका यी कृषकहरूका बुझाइमा यस्तो काममा गोल्छा, दुगड र चौधरी समूहहरू अगाडि आउनु जरुरी छ । अझ गैरआवासीय जगतमा उदारमना भनेर चिनिएका उपेन्द्र महतो र जीवा लामिछानेजस्ता प्रतिनिधि पात्र पनि अग्रसर हुनुपर्‍यो भन्छन् खोजराजहरू ।

कृषिप्रधान देशमा राज्यले राहतमुखी कृषि-नीति ल्याउन नसके पनि निजी तहबाट मोरङको उर्लाबारीमा गि्रनहाउस तरकारी, बुटवलमा गाईपालन, चितवन र ललितपुरको भुखेलमा बाख्रापालन, तरकारी उत्पादन सुरु भइसकेको जानकारी जितपुरफेदीका कृषकले दिए । उनीहरूका अनुसार इजरायलमा गएर आधुनिक खेती-प्रविधि र गाईपालन सिक्ने नेपालीको संख्या १५ सयभन्दा बढी पुगेको छ । तीमध्ये ५ सयभन्दा बढी अमेरिका, युरोपतिर छिरेका छन् भने बाँकी घर फिर्ने क्रममा छन् । 'घर आउनेमध्ये ५ सय जना कृषकलाई मात्रै उचित सहुलियत र सुविधासहित खेतीपातीमा लगाउन सकियो भने पनि यो देशमा केही हुन्छ,' फिरेर आएका कृषकको विश्वास छ, 'आज कृषक बन्न खोज्दा पाएको दुरुत्साहनले कोही टेम्पो ड्राइभर बनेका छन्, कोही चियापसल थापेर बसेका छन् । यिनलाई करेसाबारीमा फर्काएर ल्याउने कसले ? हामी दुई/चार जनाले कि सिंगो राज्य संयन्त्रले ?'

Published on: 4 July 2011 | Kantipur

Back to list

;