s

‘ढोका थुनेर सेवा हुँदैन, महामहिमज्यू’

होम कार्की
 
कम्पनीले तीन महिनाको तलब नदिएको र स्वदेश पनि नपठाएपछि उद्धारका लगि दोलखाकी रनकुमारी श्रेष्ठ ५ जना साथीसहित आइतबार बिहानै कतारस्थित नेपाली दूतावास पुगिन्। गेटभित्र छिरेपछि आफ्नो समस्या राख्ने ठाउँ नदेखेपछि अलमल परिन्।‘२ घण्टा भयो। चारैतिरको ढोका बन्द छ,’ घाममा तातिएर बसेकी श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘हामीजस्ता पीडित कामदारलाई गुनासो सुनाउने ठाउँ नै देखिनँ। सोधपुछ गर्ने ठाउँ पनि कतै छैन।’
 
कर्निभल क्लिनिङ कम्पनीमा कार्यरत श्रेष्ठ, स्याङ्जाकी पिनकुमारी गुरुङ, मोरङकी मुना लिम्बू, सिन्धुलीकी राजकुमार सकर्नी, पर्वतका उमा आलेलाई कम्पनीले १ वर्षदेखि अवैध रूपमा राखेकाले दूतावास पुगेका थिए। भर्खरै मात्रै नयाँ भवनमा सरेको नेपाली दूतावासले कन्सुलरको कामदेखि राहदानी वितरण, फाराम संकलन, प्रहरी रिपोर्ट लिन आउनेहरू एउटै हलमा केन्द्रित गरेपछि सेवाग्राही झन् तनावमा देखिन्थे। होहल्ला, धकेलाधकेलका साथै आपसी झगडा पनि हुन्थ्यो। ‘भित्र ढोका लगाएर कर्मचारी बसिरहेका छन्। कसलाई सोध्ने?’ आलेले भने, ‘दूतावासमा आएर राहत पाइन्छ कि भनेर आएका थियौं। सुनाउने ठाउँ नै देखिनँ।’
 
राहदानी लिन आउनेलाई जस्तै व्यवहार पीडित कामदारलाई पनि गरेकोप्रति झापाका रितेश सुनारले गुनासो गरे। ‘ढोका थुनेर पनि सेवा हुन्छ। यत्रो भवन छ,’ उनले भने, ‘मर्कामा परेका कामदारका गुनासो सुन्ने, परामर्श दिने एउटा व्यवस्थित स्थान नहुँदा मन खिन्न भयो।’
कामदारको मागपत्र लिएर पुगेका कम्पनीका प्रतिनिधि सही व्यवहार नभएको भन्दै दु:ख मनाउ गरे। ‘कामदार ल्याउनेजस्तो संवेदनशील विषयलाई दूतावासले कामदारकै लाइनमा बसाइदिए,’ मागपत्र लिएर गएका मोहमद इमालीले भने, ‘यो व्यवस्थित भएन।’
 
नेपाली दूतावासले कर्मचारी अभावले समस्या सिर्जना भएको बताए। ‘स्थानीय कर्मचारीले छाडे। नेपालबाट आउने सबै कर्मचारी पनि आइसकेका छैनन्,’ दूतावासका प्रवक्ता नितेश सापकोटाले भने, ‘अनावश्यक मान्छेहरू भित्र नआऊन् भनेर ढोकाहरू बन्द गरिएको हो।’ उनले आवश्यक कर्मचारी भएपछि दूतावासले राम्रोसँग कार्यसम्पादन गर्न सकिने बताए। ‘पीडितहरूको समस्या सुन्न ढोका खोल्दै छिराउने गरिएको छ,’ उनले भने। दूतावासमा श्रम मामिला हेर्ने श्रम सहचारी ५ महिनादेखि रिक्त छ। श्रम मन्त्रालयले दुई श्रम सहचारीको दरबन्दी सिर्जना गरे पनि एउटा पनि पठाएको छैन।
 
Published on: 5 October 2015 | Kantipur
 

Back to list

;