s

इपिएस कामदार नेपाल फर्किएनन्

रोजगार अनुमति प्रणाली (इपिएस) कोटामा दक्षिण कोरिया पुगेका नेपाली अवधि सकिँदा पनि लुकीछिपी त्यहीँ बसिरहेको पाइएको छ। गत जुलाईमै कार्यावधि पूरा भइसकेका कामदार अझै स्वदेश नफर्केका हुन्।
 
वैशाख १२ को विनाशकारी भूकम्पपछि कोरियामा रहेका नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ। शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जुलाईयता फर्कनुपर्ने करिब १३ सय कामदार भूकम्पले घरबास क्षति भएको खबरपछि उतै रोकिएको जानकारी दिए। 'हामीले बु‰दा भूकम्पपछि नेपालमा काम पाउने अवस्था नदेखेरै उनीहरू गैरकानुनी रूपमा कोरियामा बसिरहेका हुन्,' उनले भने।
 
बाँस्तोलाका अनुसार सन् २०१० सम्म कोरिया भाषा परीक्षा उत्तीर्ण भई गएका ७ हजारमध्ये करिब १८ प्रतिशत कामदार गैरकानुनी रूपमा बसेका छन्। 'त्यसरी बसेका कामदारलाई फर्किन भनिसकेका छौं,' उनले भने, 'कोरिया सरकारलाई पनि त्यसका लागि आग्रह गरेका छौं।' अघिल्लो वर्षसम्म गैरकानुनी बसाइ गर्ने कामदारको संख्या ४.५ प्रतिशत रहेकोमा अहिले निकै बढेको जानकारी दिँदै बाँस्तोलाले यस्तो प्रवृत्ति बढ्दा नेपालले पाउँदै आएको कामदार कोटा कटौती हुन सक्ने जोखिम दर्साए।
 
कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसअन्तर्गत नेपाली कामदार लैजान थालेयता ३३ हजार ५ सय जना त्यहाँ पुगिसकेका छन्। पहिलो पटक गएर ४ वर्ष १० महिना बसेका कामदार नेपाल फर्केपछि दोहोर्यााएर जान चाहे फेरि पहिलेकैजति समय बस्न पाउने व्यवस्था छ।
 
कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) को नेपालस्थित शाखाका निर्देशक ली डोङ सिर्कले पनि भूकम्पपछि गैरकानुनी रुपमा बस्ने नेपाली कामदारको संख्या बढ्दै गएको बताए। 'कोरिया सरकारले बर्सेनि कामदारबारे अध्ययन गर्दै आएको छ, भूकम्पपछि नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको पाएका छौं,' उनले भने, 'यसले कामदार कोटामा असर पार्न सक्छ।' भियतनामका कामदारको गैरकानुनी बसाइ अवधि बढेपछि कोरियाले सन् २०१३ मा त्यहाँका कामदार नलिएको जानकारी गराउँदै उनले सम्बन्धित मुलुकले आफ्ना कामदारको गैरकानुनी बसाइ रोक्न नीति बनाउन सुझाए।
 
निर्देशक लीका अनुसार गैरकानुनी रुपमा बस्ने नेपाल कामदार सन् २०१३ मा ३ दशमलव ६ र २०१४ मा ४ दशमलव ५ प्रतिशत रहेकोमा अहिले बढेर १८ प्रतिशत पुगिसकेको छ। यसअघि गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या तुलनात्मक रुपमा कम देखिएकै कारण कोरिया सरकारले कामदार भिœयाउने १५ देशमध्ये नेपालले दोस्रो बढी कोटा उपलब्ध गराएको लीले स्मरण गराए। कोरियाले इपिएसअन्तर्गत कम्बोडियाबाट सबैभन्दा बढी ७ हजार ७३ जना कामदार लैजाँदै आएकोमा नेपाललाई ५ हजार ३ सय ६४ जनाको कोटा उपलब्ध गराउँदै आएको छ।
 
Published on: 6 November 2015 | Nagarik
 

Back to list

;