s

एभरेस्ट इन्स्योरेन्स युनियनद्वारा आफैं प्रमुख कार्यकारी सिफारिस

सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा उत्रेका एभरेस्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीले सहायक महाप्रबन्धकलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सञ्चालक समितिमा सिफारिस गरेका छन्। वर्तमान प्रमुख कार्यकारी अधिकृतले समस्या सुल्झाउन पहल नगरेको भन्दै कर्मचारी युनियनको अगुवाइमा नयाँ प्रमुख कार्यकारी अधिकृत सिफारिस गरिएको हो।

युनियनले नयाँ प्रमुख कार्यकारीमा वित्त विभाग प्रमुख तथा सहायक महाप्रबन्धक अनिल ढुंगेललाई नियुक्त गर्न सिफारिस गरेको छ। बर्तमान प्रमुख कार्यकारी केवलकृष्ण श्रेष्ठले नियामक निकाय बिमा समितिसँग सम्बन्ध बिगारेका कारण समस्या सुल्झनुको साटो बिग्रिएको भन्दै कर्मचारीले नयाँ प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताएका छन्। केही दिनमै बस्ने कम्पनी सञ्चालक समिति बैठकमा नयाँ प्रमुख कार्यकारीको नाम अनुमोदन गराउन दबाब दिने पक्षमा युनियन छ।

'कम्पनी सञ्चालन हुनुपर्छ भन्ने मान्यताले अहिले सबै कर्मचारी एक भएका छन्। बर्तमान प्रमुख कार्यकारी श्रेष्ठ एकातिर छन्, बाँकी कर्मचारी अर्कातिर,' युनियन अध्यक्ष शम्शेर रोकाले मंगलबार नागरिकसँग भने, 'त्यही भएर संस्था चलाउन नयाँ प्रमुख कार्यकारीको नाम सिफारिस गरेका हौं।'

समस्या आउनुपूर्व एभरेस्टमा ढुंगेलसहित तीनजना सहायक महाप्रबन्धक छन्। कम्पनी बन्द गर्तेतिर लागेपछि यसमध्ये रमा दाहालले राजीनामा दिइसकेकी छन् ।

मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्न्याक्सलाई पूर्ण विवरण आउनुअघि नै दाबी भुक्तानी दिएको पुष्टि भएपछि बिमा समितिले एभरेस्टको अग्निबिमा कारोबारमा रोक लगाएको थियो। एभरेस्टका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार खेतानको आफ्नै कम्पनीले नियमविपरीत रकम लगेको भन्दै कूल कारोबारमा २० प्रतिशत हिस्सा ओगट्ने अग्नि बिमामा रोक लगाइएको थियो। अग्नि बिमा कारोबारमा रोक लगाएपछि कम्पनी व्यवस्थापन र सञ्चालक समितिले कारोबार अबरुद्ध गरेका थिए। पछि बिमा समितिको हस्तक्षेपमा कारोबार सुरु भए पनि नयाँ व्यापार गर्न छाडिएको थियो।

'प्रमुख कार्यकारी श्रेष्ठले कर्मचारीसँग छलफल हुँदा राजीनामा गर्छु भन्दै आउनुभएको छ, हामीले पनि त्यसो गर्दा राम्रै हुने सल्लाह दिएका छौं,' कार्यकारीमा सिफारिस भएका ढुंगेलले भने, 'अहिलेको अप्ठेरो परिस्थितिमा यहीँकै एकजना प्रमुख कार्यकारी हुँदा राम्रो हुन्छ भनेर युनियनले मलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको हो। सञ्चालक समितिले निर्णय गरेपछि मात्र युनियनको सिफारिस लागू हुन्छ।'

प्रमुख कार्यकारीका कारण कम्पनी समस्यामा परेको भन्दै कर्मचारी युनियन श्रेष्ठको पक्षमा छैनन्। कम्पनीले साउन लागेदेखि कुनै पनि कारोबार गरेको छैन। कम्पनी सञ्चालन हुन छाडेपछि कर्मचारीले कारोबार सुरु गर्न धर्ना दिँदै आएका छन्।

समितिले भदौ १३ गते एभरेस्टले हिमालयन स्न्याक्सको दाबीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नि बिमा कारोबारमा रोक लगाएको थियो। त्यसअघि कारोबारका हिसाबले देशकै ठूलो एभरेस्टले व्यवसाय खुम्च्याउँदै आएको छ। अघिल्लो वर्ष ७४ करोडको कारोबार गरेको कम्पनीले असार मसान्तसम्म जम्मा ३४ करोडको कारोबार गरेको छ। कारोबार खुम्चिएका कारण कम्पनी घाटामा गएको छ।

कर्मचारीका अनुसार, सञ्चालक र व्यवस्थापनले कम्पनी नवीकरण र रोकिएको कारोबार थाल्न कुनै पहल गरेका छैनन्। व्यवस्थापनले चाहे कारोबार गर्न कुनै कठिनाइ नभएको जिकिर गर्ने कर्मचारी सञ्चालकको 'इगो'का कारण कम्पनी बन्द भएको आरोप लगाउँछन्। 

'रोक लगाइएको बिमालेखबाहेक बाँकी कारोबार गर्न सकिन्छ, तर व्यवस्थापनले सबै बिमालेख जारी गर्न बन्द गरेको छ,' रोक्काले भने, 'सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत जसरी पनि कम्पनी बन्द गराउने पक्षमा छन्।' उनले अग्नि बिमालेखमाथि लागेको रोक हटाउन व्यवस्थापनले कुनै पहल नगरेको पनि जानकारी दिए। 'समितिले पैसा फिर्ता ल्याउन व्यवस्थापनको प्रतिबद्धता मागेको छ, प्रतिबद्धता पत्र पठाउनेबित्तिकै अग्नि कारोबार पनि फुकुवा हुने अवस्था छ,' रोक्काले भने, 'व्यवस्थापनले कम्पनी सञ्चालन नगर्ने अड्डी कसेका कारण कर्मचारीलाई अप्ठेरो परेको छ।'

कम्पनीको नवीकरण नभएका कारण एभरेस्टले गत असार मसान्तसम्म वृद्धि गर्नुपर्ने पुँजी पनि बढाएको छैन। १० करोड चुक्तापुँजी रहेको कम्पनीले असार मसान्तसम्म बढाएर २५ करोड पुर्‍याउनुपर्ने थियो।

कम्पनीका अन्य अधिकारीले बिमा ऐनअनुसार कम्पनीको अस्तित्व नभएको भन्दै बिमासम्बन्धी कारोबार बन्द गरेको जनाएका छन्। बिमा ऐनमा बिमासम्बन्धी कारोबार गर्न कम्पनीको नवीकरण अनिवार्य छ। आंशिक कारोबारमा रोक लागेका कम्पनीको कारबाही फुकुवा नहुन्जेल कम्पनी नवीकरण गर्न पाइँदैन। कम्पनी नवीकरण नभएपछि कारोबार गर्न पाइँदैन। हरेक वर्षको चैत मसान्तसम्म कम्पनी नवीकरण गर्नुपर्छ।

Published on: 4 September 2013 | Nagarik

Back to list

;