s

गाउँभरका पुरुष भारततिर

बैतडी न्वाली ७ बिटकमका राईसिंह ऐरी ६३ वर्ष नाघे । उमेरका हिसाबले घरकै जिम्मेवारी सार्ने बेला हो । तर, उनी दिनहुँ गाउँलेका घर डुल्छन् ।

युवा र वयस्क विदेशिएपछि गाउँको जिम्मा बूढापाकामा आएको हो । ५६ घरधुरी रहेको बिटकमका अधिकांश पुरुष रोजगारीका लागि भारत पसेका छन् । अहिले ३/४ घरमा मात्रै पुरुष छन् । दुई/चार जनाबाहेक सबै भारतमा छन् । १/२ जना तेस्रो मुलुक र १/२ जना सरकारी सेवामा छन् । 'भारत जाने वर्षको एकपटक खेतीपाती गर्न घर आउँछन्,' राईसिंहले भने, 'सिजन सकिएपछि १०/११ महिना गाउँ पुरुषविहीन हुन्छ, छरछिमेकको गाह्रोसाह्रो सबै हेर्नुपर्छ ।'

युवा र वयस्क पुरुष बाहिरिएपछि मर्दापर्दा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । बिहेवारीमा समय मिलाएर घर आउने र छिमेकी गाउँकाले सहयोग गर्दै आए पनि मलामी जोर्नसमेत समस्या हुने गरेको स्थानीयवासीले बताए । यहाँका समुदायमा भिन्न समुदायका व्यक्तिको मलामी नजाने परम्परा छ । 'कसैको अकस्मात् मृत्यु भए समस्या हुन्छ,' स्थानीय बहादुरसिंह ऐरीले भने, 'बिहेवारी र अन्य सामाजिक काममा छिमेकी गाउँबाट आउने चलन छ, तर अर्को समुदायको मलामी नजाने चलनले कहिलेकाहीँ समस्या हुन्छ ।'

गाउँमा बसेर घर खर्च चलाउन नसकिने अवस्था भएकाले भारत जाने गरेको उनीहरूले बताए । 'सधैं गाउँमा बसे पैसा देख्न पाइन्न,' स्थानीय जानकी ऐरीले सुनाइन्, 'पहिलेदेखि नै यस्तै चलिरहेको छ ।' गाउँ पुरुषविहीन हुँदा महिलाको काँधमा अतिरिक्त बोझ थपिएको छ । छोराछोरी हुर्काउने, पढाउने, घरको रेखदेख गर्नुपर्ने जिम्मेवारी महिलामै हुन्छ । भारत पसेका पुरुष खेतीको सिजनमा एकाध महिना गाउँ र्फकन्छन् । प्रायः उतै बस्ने हुँदा गाउँका विषयमा चासो नदेखाउने गरेको उनीहरूले सुनाए ।

२/३ पुस्तादेखि नै काम गर्ने उमेर भएका भारत जाने गरेका हुन् । महिला घरधन्दामै सीमित हुँदा यसले गाउँमा चौतर्फी प्रभाव पारेको छ । समुदायमा हुने भेला र गोष्ठीमा गाउँवासीको उपस्थिति नहुने गरेको गैरसरकारी संस्थाका कार्यकर्ता बताउँछन् । 'गाउँमा बैठक र भेला बोलाउँदा कहिल्यै उपस्थिति हुँदैन,' रेडक्रस सोसाइटी बैतडीका फिल्ड सुपरभाइजर जयराज अवस्थीले भने, 'महिलाहरू घरायसी काममा व्यस्त हुन्छन्, पुरुष जति विदेशमा ।'

रेडक्रसले यो समुदायलाई लक्षित गरी आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना सञ्चालन गरेको छ । पहिरोको जोखिममा परेको र पशुपालन व्यवसाय तथा दूध उत्पादनको सम्भावना देखेर परियोजना चलाए पनि गाउँलेको उपस्थिति र सहभागिता नहुँदा समस्या भएको अवस्थीले बताए ।

Published on: 19 November 2014 | Kantipur

Back to list

;